PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

कोरोना कहरले अड्किए पर्यटक : सरकार भन्छ, 'निस्की जाउ', पर्यटक भन्छन्, 'जाने कसरी?' 



रिना थापा

कोरोना कहरले अड्किए पर्यटक : सरकार भन्छ, 'निस्की जाउ', पर्यटक भन्छन्, 'जाने कसरी?' 

पोखरा : सन् २०२० मा नेपाल घुम्न आएकी मार्ता पोखरामा छिन्। उनी आएको महिना दिनमै नेपालमा पूर्ण रुपले लकडाउन जारी भयो। घुम्न आएकी उनी पोखराको होटलभित्रै थुनिन बाध्य भइन्। १ वर्ष ५ महिनादेखि पोखरामा बस्दै आएकी उनको भिसा अवधि पनि सकिएको छ।

नेपालमा पर्यटन भिसाको अवधि १५० दिन हुन्छ। अवधि थप गर्न चाहनेले अध्यागमन कार्यालयबाट म्याद थप गर्न सक्छन्। तर नेपाल सरकारले महामारीको समयमा निषेधाज्ञाको अवधिको गणना नगर्ने गरी पर्यटक भिसामा बस्न पाउने दिन २१० बनाएको छ।

सरकारको सहजताले मार्तासँगै कयौँ पर्यटकले भिसा अवधि लम्बाएर नेपाल बसे। यसबिचको अवधिमा नेपालले महामारीको पहिलो लहर झेलेर दोस्रो लहरको सामना गरिसक्यो। पहिलो लहरमा नेपाल सुरक्षित देश थियो। कयौँ पर्यटक सुरक्षाका हिसाबले यहीँ बस्न चाहे। कतिपयलाई आफ्नै देशले उद्धार गर्‍यो। कुनै देशले कोरोना भएका राष्ट्रबाट आफ्ना नागरिकलाई फर्काउन चाहेन।

दोस्रो लहरको सामना गरिरहेको नेपालमा प्रभावित क्षेत्र हेरेर निषेधाज्ञा जारी छ। पोखरामा पनि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। अन्तरार्ष्ट्रिय हवाइ उडान निश्चित मात्रामा खुल्ला छन्।

सहज छैन फर्कन

यहीबिच अध्यागमन विभागले वैशाख १५, २०७८ सम्म भिसा अवधि भएका पर्यटकलाई ३१ असारसम्म आफ्नो देश फर्किनुपर्ने सूचना निकाल्यो।

तर पोखरामा रहेका पर्यटकलाई आफ्नो देश फर्किन सहज छैन। हवाइ उडानको खर्च पहिलेभन्दा चर्को छ। सामान्य समयमा तीन सयदेखि चार सय डलर रहेको हवाइ उडानको टिकट अहिले तीन हजार डलरदेखि १२ हजार डलरसम्म पुगेको छ। अध्यागमन विभागले ३१ असारसम्म देश छोड्नुपर्ने भनेर निकालेको सूचनाले पर्यटक अलमलमा छन्।

‘हवाइ टिकटको शूल्क महङ्गो भयो। उडान निश्चित पनि छैन। फ्लाइट क्यान्सिल हुनसक्छ,’ मार्ताले भनिन्,‘टर्कीको उडानजस्तो भयो भने हामीले हाम्रो पैसा पनि फिर्ता पाउँदैनौँ।’

स्पेनिस नागरिक ड्यानिएल, इजरायली नितजा, स्विडेनका बोबियो, अमेरिकाकी जे र लण्डनका क्यासियोको पनि यही समस्या छ। उडानको महङ्गो शुल्कबाहेक पर्यटकलाई आफ्नो देश फर्किन समस्या छ। कतिपय देशले कोरोनाको रेड जोन’बाट आएका आफ्नै नागरिकलाई प्रवेशमा रोक लगाएका छन्। नेपाललाई पनि कतिपय देशले 'रेड जोन’मा राखेको छ। जसकारण अमेरिकाकी जेलाइ आफ्नो देश फर्किन नसक्ने अवस्था छ।

‘उनीहरुले केही मद्दत गरेका छैनन्,’ जेले भनिन्, ‘दूतावासमा म्यासेज पठाउँदा रेस्पोन्स आउँदैन। उनीहरु मद्दत गर्न चाहँदैनन्।’

लण्डनका नागरिक क्यासियो भिसा अवधि थपेर यहाँ बस्ने अनुमति दिनुपर्ने बताउँछन्। नेपाल सरकारले देश फर्कन आदेश गरे पनि असहज परिस्थितिमा तत्काल सम्भव नदेखिएको उनको जिकिर छ।

‘सरकार निस्की भन्छ तर जाने कसरी? कुनै उपाय छैन,’ क्यासियोले भने ।

नेपाल सरकारले भिसा अवधि लम्ब्याएर परिस्थिति सहज रहुन्जेल आश्रय दिनुपर्ने पर्यटकको माग छ।

अवधि सकिए पनि नेपालमै बस्न चाहान्छन् पर्यटक 

यता अध्यागमन विभाग कार्यालय पोखराकी प्रमुख प्रमिला गौतम नेपाल सरकारले लम्ब्याएको भिसा अवधिको म्याद पनि सकिएको बताउँछिन्। पोखरामा रहेका अधिकांश पर्यटकको २१० दिने अवधि पनि सकिएको छ। उनीहरु अधिकांश  २०२० जनवरीमा नेपाल आएका पर्यटक हुन्।

‘उहाँहरु अवधि सकिएर पनि बस्न चाहनुहुन्छ,’ प्रमुख गौतमले भनिन्, ‘सरकारले लम्ब्याएको अवधि पनि सकिएको छ।’

पर्यटकले भिसाको अवधि थप्न चाहे प्रतिदिन ३ डलर तिरेर अवधि लम्ब्याउन सक्छन्।

अध्यागमन कार्यालयका अनुसार उनीहरुले आफ्नो बसाइ लम्ब्याउन चाहे नियम बमोजिम भिसा शूल्क, विलम्ब शूल्क र जरिवाना लाग्ने छ। पोखरामा अहिले भिसा सकिएका पर्यटकको संख्या कति छ यकिन नभएको गौतम बताउँछिन्।

विभागको उक्त सूचनापछि गत बिहीबार करिब ११८ जना पर्यटक पोखराको कार्यालयमा गुनासो लिएर पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell