PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

२३ किलो सुन प्रकरणमा मुद्दा खेपिरहेका अशोक सिन्हाको डाबर नेपालसँग के छ ‘कनेक्सन’?



राधेश्याम पटेल

२३ किलो सुन प्रकरणमा मुद्दा खेपिरहेका अशोक सिन्हाको डाबर नेपालसँग के छ ‘कनेक्सन’?

वीरगंज : २३ किलो सुन प्रकरणमा साढे १८ करोडको राजस्व चुहावटको मुद्दा खेपिरहेका रक्सौलका व्यवसायी अशोक सिन्हाको संलग्नता बहुराष्ट्रिय कम्पनी डाबर नेपालसँग रहेको पाइएको छ। बिहारको पूर्वी चम्पारण रक्सौल विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका निर्वाचित विधायक प्रमोदकुमार सिन्हाका भाई पर्ने अशोक भन्सार क्लियरिङ एजेन्टको काम गर्छन्।

गत असोज अन्तिम साता प्रहरीले वीरगंजको रेशमकोठीस्थित एउटा फ्ल्याटबाट सुन बरामद गरेको थियो। भारतीय नागरिक अशोक बस्दै आएको उक्त फ्ल्याट उनकी छोरी निवेदिताको नाममा रहेको खुल्यो। दुवैविरुद्ध मुद्दा दायर भयो तर प्रहरीले दुवैलाई पक्राउ गर्न भने सकेन। त्यसबेला प्रहरीले भारतीय प्रहरीको सहयोग लिएर भए पनि दुवैलाई पक्राउ गरिने दाबी गरेको थियो।

सिमरामा रहेको बहुराष्ट्रिय कम्पनी डाबर नेपालका लागि अशोक रक्सौल भन्सारमा क्लियरिङ एजेन्टको काम गर्ने आधिकारिक व्यक्ति रहेको खुलेको छ। स्रोतका अनुसार अहिले पनि डाबर नेपालसँग उनको कारोबार जारी छ। डाबर नेपालले आयात गर्ने कच्चा पदार्थ र नेपालबाट भारत तथा अन्य मुलुकमा निर्यात हुने रियल जुस, च्यावनप्रास, जडीबुटी लगायतका सामानको उनले क्लियरिङ एजेन्टको काम गरिरहेको भन्सार स्रोतले जनाएको छ।

राजस्व विभागले अशोक सिन्हा र छोरी निवेदिता सिन्हाविरुद्ध १८ करोड ६३ लाखको राजस्व चुहावट गरेको मुद्दा दायर गरेको छ। करिब तीन महिनाको अनुसन्धानपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले सिन्हा परिवारविरुद्ध मुद्दा दायर गरेको हो। साढे १८ करोडको बिगोसहित कैद जरिवानाको माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर भए पनि दुवै पक्राउ परेका छैनन्।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टंक पाण्डेले रक्सौलका बासिन्दा सिन्हा र निजकी छोरीलाई खोजी गरे पनि नेपाल प्रहरीले फेला नपारेको बताए।

‘उनीहरुको फ्ल्याटमा फेला परेको सुन सम्बन्धी बिलबिजक पेश नगरिएपछि मुद्दा दायर गरिएको हो,’ उनले भने।

सिन्हा र निजकी छोरी बस्ने, वीरगंज-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटबाट गत असोज ३० गते २३ किलो ९ सय ९७ ग्राम सुन तथा केही चाँदीको गहना बरामद भएको थियो। गोप्य सूचनाका आधारमा प्रहरीले फ्ल्याटमा छापा मारेको थियो। पर्सा प्रहरीका तत्कालिन प्रमुख एसपी गंगा पन्तको टोलीले बरामद गरेको उक्त सुन राष्ट्र बैंकमा राजस्व अनुसन्धानमार्फत बुझाइसकेको छ।

लामो अनुसन्धानबाट सिन्हा परिवारले सुन प्रकरणबाहेक सिद्धार्थ बैंकमार्फत करोडौं रुपैयाँको कारोबार गरेको र त्यसमा राजस्व चुहावट गरेको पाइएको पनि अभियोगपत्रमा उल्लेख छ। 

डाबर नेपालका मानव संसाधन प्रबन्धक मनोज भगतले भने सिन्हाको मुद्दाका विषयमा अनौपचारिकरूपमा मात्रै थाहा पाएको बताए।

‘मैले पनि अशोक सिन्हाको सुन काण्डबारे मिडियाबाट थाहा पाएको हो,’ उनले भने।

सिन्हाको डाबर नेपालसँगको कारोबारबारे आफूलाई विस्तृत जानकारी नभएको दाबी उनले गरे।

‘हाम्रो कम्पनीसँग उनको काम अहिले पनि भइरहेको छ भने आगामी दिनमा हुँदैन। उनीसँगको सम्झौता रद्द हुनेछ,’ उनले भने।

कहाँ छन् सिन्हा र छोरी निवेदिता?

सुन बरामद भएपछि प्रहरीको खोजी सूचीमा परेपछि अशोक भूमिगत भए। कुनै पनि बेला पक्राउ पर्ने भएकाले उनी त्यसपछि नेपाल पसेका छैनन्। भन्सार क्लियरिङ एजेन्ट सिन्हा हाल रक्सौलमै बसिरहेको सूचना प्राप्त भएको सुरक्षा स्रोतले जनाएको छ। तर, सीमापारि गएर पक्राउ गरेर ल्याउन सजिलो नभएकाले प्रहरी थाहा नपाए झैं गरिरहेको छ।

भारतीय नागरिकलाई नेपाल प्रहरीले पारि गएर पक्राउ गरेर ल्याउन पाउँदैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका रक्सौलका विधायक प्रमोदकुमार सिन्हाका भाइ भएकाले उनलाई राजनीतिक संरक्षण छ। उनकी छोरी निवेदिताको चार महिना अघि विवाह भएर दिल्लीमा कतै बसोबास गरिरहेको खुलेको छ।

रक्सौलका एक व्यवसायीका अनुसार दुवै जनाले राजनीतिक संरक्षण पाएकाले नेपाल प्रहरीले पक्राउ गर्न चुनौती थपिएको छ।

‘यस्ता अपराधका घटनामा अभियुक्त पक्राउ गर्न दुवै देशको उच्च तहमा सहमति हुनुपर्छ, राजनीतिक संरक्षण रहेकाले सिन्हालाई नेपालको पुलिसले रक्सौल आएर छुन सक्दैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell