PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीको सुझाव : सिन्धुपाल्चोकमा बाढी पहिरोले बगाएको क्षेत्रमा बस्ती बसाउन भन्दा मत्स्यपालन क्षेत्र बनाउन सकिन्छ



पहिलोपोस्ट

ओलीको सुझाव : सिन्धुपाल्चोकमा बाढी पहिरोले बगाएको क्षेत्रमा बस्ती बसाउन भन्दा मत्स्यपालन क्षेत्र बनाउन सकिन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीका बाढी पहिरो पीडितका लागि १५ सय बण्डल जस्ता पाता वितरण गर्ने घोषणा गरेका छन्। शनिवार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणका क्रममा ओलीले ३६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने बताए।

प्रभावितलाई प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराइने ओलीको भनाइ छ। १ हजार बण्डल जस्तापाता पीडितले माग गरेको भए पनि सरकारले १५ सय बण्डल जस्तापाता उपलब्ध गर्ने ओलीले बताए।

‘३६६ घरका लागि १५ सय बण्डल वितरण गर्ने घोषणा गरेका छौँ। तत्काल बसोबासका लागि अनुकुलताका लागि। ५० हजार सरकारका तर्फबाट उपलब्ध गराउँछौ,’ उनले भने।

हरेक वर्ष राहत वितरण र उद्धार गर्ने भन्दा पनि पहिरोमा बस्ती नपर्ने गरी पुनर्निर्माण गर्न ‌ओलीको सुझाव छ। उनले पहिरोमा बस्ती नपरोस् भन्नेमा सचेत हुनुपर्ने बताए। इञ्जिनियरलाई सुझाव दिँदै ओलीले सुरक्षित स्थानमा बस्ती बसाल्नमा जोड गर्न आग्रह गरे।

‘हामीले बस्ती सुरक्षित स्थानमा नै बसाउनुपर्छ। मेरो इञ्जिनियरलाई पनि सुझाव छ। एउटा पहिरोले नजाने ठाउँमा बजार निर्माण गर्न सकौँ। बाढीले सखाप पार्न नसकोस्,’ उनले भने।

ओलीले अहिले प्रभावित भएको ठाउँमा बस्ती बसाल्न नहुने धारणा राखेका  छन्। सिन्धुपाल्चोकलाई प्रकृतिक विपद्बाट मुक्त गर्न विपद् प्रतिरोधी संरचना बनाउँन जरुरी भएको ओलीले बताए।

‘बाढीले केही गर्न नपाओस्। भुकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्छ,’ उनले भने।

अहिले बाढी पहिरोले प्रभाव परेको क्षेत्रलाई मत्स्यपालन क्षेत्र बनाउँन सकिने ओलीको भनाइ छ।

‘विनास गरेको छ त्यसलाई बागमावनी मत्स्यपालन क्षेत्रमा विकास गर्न सकिन्छ। खोलो कुनै ठाउँमा रोकिएर फेरी फुट्यो भने फेरी विनास। म चाहिँ के आग्रह गर्न चाहन्छु भने त्यही ठाउँमा त्यसै गरी बस्ती बजार बसाउने धेरै कोसिस नगरौँ,’ उनले भने।

प्रभावितलाई ओलीले वरिपरी जस्ता पाता नलगाउँन सुझाव दिए।

‘वरिपरी जस्तापाता नलगाउँदा राम्रो हुन्छ। गर्मीले बसिसक्नु पनि हुँदैन। त्यो भन्दा अरु विधि अपनाउँदा राम्रो हुन्छ। काठ इत्यादीको प्रयोग गर्न सकिन्छ,’ उनले भने।

उनले बाढीले बगाएको पुल जीवित राख्नुपर्ने बताए। ऐतिहासिक पुल भएकाले जीवित राख्न आवश्यक भएको उनको भनाइ छ।

‘यो ऐतिहासिक १८८६ मा चन्द्र शमशेरले बनाएको पुल इतिहासकै हिसाबले जीवित राख्नुपर्छ। त्यसलाई तत्काल निर्माण गर्नेदेखि त्यहाँ बेलीब्रिज भन्ने छ। त्यहाँ बेली ब्रिज भन्दा तत्काल झलुङगे पुल बनाएर काम गर्न सकिन्छ,’ ओलीको सुझाव थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell