PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी



पहिलोपोस्ट

ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

आइतवार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि भिड्दैछन्। बिहान पौने ६ बजे हुने खेलमा अर्जेन्टिना उपाधिका लागि आफ्नो २८ वर्षे प्रतिक्षालाई तोड्न चाहन्छ भने ब्राजिल घरेलु मैदानमा जित निकाल्दै आफ्नो फुटबलको विरासतलाई पुन पुष्टि गर्न चाहन्छ।

पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई यो फेरि अर्को अवसर हुनेछ। क्लब करियरमा १० वटा ला लिगा उपाधि र चारवटा च्याम्पियन्स लिग उचालिसकेका मेस्सीले अर्जेन्टिनाबाट भने उपाधि उचाल्न सकेका छैनन्।

छ पटकको बालोन डिओरको उपाधि उचालेका उनले अर्जेन्टिनाबाट हात पारेको सबैभन्दा ठूलो उपाधि २००८ को चीन ओलम्पिकको स्वर्ण नै हो। उच्च प्रतियोगितामा भने सन् १९९३ को कोपा अमेरिकापछि अर्जेन्टिनाले कुनै उपाधि जितेको छैन।

मेस्सीको सन्दर्भमा यो उनको १० औं मुख्य प्रतियोगिता हो। उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागिता जनाउँदै विश्वकपमा ६ गोल गरिसकेका छन भने कोपा अमेरिकामा २००७, २०११,२०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल १३ गोल गरिसकेका छन्।

र, यो वर्ष उनी फेरि एकपटक उपाधिको नजिक छन्। १०५ वर्ष पुरानो प्रतियोगिता अघिल्लो वर्ष हुने भनिएको भए पनि कोभिड महामारीका कारण हुन सकेको थिएन। त्यस्तै, प्रतियोगिता आयोजनाको अन्तिम समयमा आएर अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता पनि कोभिड महामारीको कारण देखाउँदै ब्राजिल पुग्यो।

सन् २००५ मा अर्जेन्टिनाबाट डेभ्यु गरेका मेस्सीलाई अर्जेन्टिनाको उपाधिसँग पनि उनको उपलब्धिलाई जोडेर हेर्ने गरिएको छ। खास गरी समकालीन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसअघिको युरो कपमा आफ्नो टिमलाई उपाधि दिलाउन सफल भएपछि।

यद्यपि, अर्जेन्टिनी प्रशिक्षक स्कालोनी यो कुरा स्वीकार्न तयार छैनन्। उनी इतिहासमा उत्कृष्ट प्रमाणित हुनका लागि भोलिको खेलले प्रभावित नगर्ने तर्क गर्छन्।

‘जित होस् या हार। उनी इतिहासमा उत्कृष्ट खेलाडी नै रहनेछन्। उनले यसलाई पुष्टि गर्न कुनै उपाधि प्रदर्शन गर्न आवश्यक छैन,’ उनले भनेका छन्, ‘पक्कै पनि हामी जित्न चाहन्छौं र यसका लागि हामी हाम्रो सबै क्षमता लगाउँछौं।’

अर्कोतर्फ मेस्सीको प्रतिस्पर्धी टीमबाट अर्जेन्टिनाका लागि थ्रेट हुनेछन् ब्राजिलियन स्टार नेइमार। फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी उनी भोलिको खेलमा ब्राजिललाई जित दिलाउने होडमा छन्। जारी प्रतियोगितामा दुई गोल गरेका उनले फाइनलमा क्वालिफाइ भएसँगै फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न चाहेको बताएका थिए। ब्राजिलका लागि ६८ गोल गरिसकेका उनी ब्राजिलका लेजेन्ड पेलेको ब्राजिलको तर्फबाट सर्वकालीन धेरै गोल (७७) गोल को कीर्तिमानबाट धेरै टाढा छैनन्।

‘मैले सधैँ भन्ने गरेजस्तो मेस्सी उत्कृष्ट खेलाडी हुन्। र, राम्रो साथी पनि। तर, अहिले हामी प्रतियोगिताको फाइनलमा छौं। हामी प्रतिस्पर्धी हौं। म यो उपाधि साँच्चै जित्न चाहन्छु। यो मेरो पहिलो कोपा अमेरिका फाइनल हुनेछ,’ उनले भनेका छन्

मेस्सीले धेरैपटक मुख्य प्रतियोगिताको फाइनल (विश्वकप/कोपा अमेरिका) खेलिसकेका छन् यद्यपि उपाधि उचाल्न सकेका छैनन्। अर्कोतर्फ नेइमार पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल खेल खेल्दैछन्। यसअघि ब्राजिलले उपाधि जित्दा नेइमार घाइते थिए। सन् २००७ पछि अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट भएको छैन। ब्राजिल प्रतियोगिताको साविक विजेता भए पनि अर्जेन्टिनाले सन् १९९३ यता उपाधि उचाल्न सकेको छैन।

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

अर्जेन्टिना भर्सेस चिली: १-१ (बराबरी)

अर्जेन्टिना भर्सेस उरुग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस पाराग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस बोलिभिया: ४-१ (जित)

क्वाटरफाइनल

अर्जेन्टिना भर्सेस इक्वेडर: ३-० (जित)

सेमिफाइनल

अर्जेन्टिना भर्सेस कोलम्बिया १-१ (३-२) (जित)

फाइनल

अर्जेन्टिना भर्सेस ब्राजिल

ब्राजिलको फाइनल यात्रा

समूह चरण

ब्राजिल भर्सेस भेनेजुएल : ३-० (जित)

ब्राजिल भर्सेस पेरु : ४-० (जित)

ब्राजिल भर्सेस कोलम्बिया : २-१ (जित)

ब्राजिल भर्सेस इक्वेडर: १-१ (बराबरी)

क्वाटरफाइनल

ब्राजिल भर्सेस चिली : १-० (जित)

सेमिफाइनल

ब्राजिल भर्सेस पेरु : १-० (जित)

फाइनल

ब्राजिल भर्सेस अर्जेन्टिना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell