PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनी प्रदेशमा देउवा समूह र पौडेल समूहबीच टक्कर, कुन जिल्लामा कसको दाबेदारी?



पूजा पन्थी

लुम्बिनी प्रदेशमा देउवा समूह र पौडेल समूहबीच टक्कर, कुन जिल्लामा कसको दाबेदारी?

बुटवल : नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै जिल्ला नेतृत्वमा दाबी गर्ने आकंक्षी बढ्न थालेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा सभापति शेरबहादुर देउवा र उनीइतरको गुटबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

लुम्बिनी प्रदेशका जिल्ला सभापतिहरुमा देउवाइतरको पकड रहँदा केन्द्रीय प्रतिनिधित्वमा भने देउवा पक्षको बाहुल्यता देखिन्छ।

यसो त देउवा गुटका बालकृष्ण खाँण पनि यही प्रदेशका हुन्। भरत शाह, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, दीपकुमार उपाध्याय, पुप्पा भुषाललगायतका नेताहरुको कसरत पनि शुरु भइसकेको छ।

रुपन्देहीमा ८ जना आकांक्षी, देउवा पक्षको बोलवाला

लुम्बिनी प्रदेशको अस्थायी राजधानी हुँदै मुकाम बनेको रुपन्देही नेपाली कांग्रेसको महाधिवेशनमा मुख्य रुपमा हेरिएको छ। मुख्यतः बालकृष्ण खाण र भरत कुमार शाहको गृह जिल्ला हो। दुबै देउवा गुटकै हुन्। हालका अब्दुल रज्जाका २ कार्यकाल सभापति भइसकेका छन्। उनी देउवा पक्षका हुन्। रज्जाकको बालकृष्ण खाणका भाइ रामकृष्ण मुख्य दाबेदारको रुपमा देखिएका छन्। रामकृष्णले दुई कार्यकाल जिल्ला सचिव भएर काम गरिसकेका छन्। सोही खेमाबाट युवराज गिरी, फणिन्द्र शर्मा पनि जिल्ला सभापतिका आकांक्षी छन्। गिरी अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा गृहमन्त्री विष्णु पौडेलसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए भने शर्मा जिल्ला उपाध्यक्ष हुन्।

रुपन्देहीमा पौडेल खेमाबाट हरि लम्साल, थानेश्वर घिमिरे, रामचन्द्र ढकाल, अष्टभुजा पाठक र मातृका यादव दाबेदारका रुपमा देखिएका छन्। ढकालले यसअघि नै जिल्लाको नेतृत्व सम्हालिसकेका छन् भने पाठक लुम्बिनी प्रदेशसभा सदस्य पनि हुन्।

बाँकेमा ७ आकांक्षी, कोइराला परिवारमा झुकाव

काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको गृह जिल्ला बाँकेमा पनि अधिवेशनको माहोल तातेको छ। जिल्लामा देउवा पक्षका ४ जना, रामचन्द्र पक्षका २ र सिटौला पक्षका १ जनाले नेतृत्वमा दाबी गरेका छन्। बाँकेमा पौडेल पक्ष बलियो देखिएको छ। सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला हालका जिल्ला सभापति हुन्।

निरञ्जन सिजापति, राजकुमार बर्मा, बादशाह कुर्मी, ज्ञानु केसी, नारायण गौडेल, लक्ष्मी नारायण शाह र सुनिल राणाले सभापतिमा रुचि देखाएको प्रदेशसभा सदस्य सुरेन्द्र हमालले बताए। सिजापति १३ औं महाधिवेशन र बर्मा १२ औं महाधिवशेनमा जिल्ला सभापतिमा पराजित नेताहरु हुन्। सिजापति, बर्मा, कुर्मी र शाह पार्टीभित्र देउवा खेमाका रुपमा चिनिएका छन् भने राणा, केसी पौडेल खेमाका हुन्। गौडेलचाहिँ सिटौला खेमाका हुन्।

गुल्मीमा पौडेल पक्ष बलियो

प्रभावशाली नेता चन्द्र भण्डारीको गृह जिल्ला गुल्मीमा देउवा पक्षभन्दा पौडेल समूह बलियो देखिएको छ। नेता प्रकाशमान श्रेष्ठको नजिक मानिएका अहिलेका पार्टी सभापति भुवन श्रेष्ठ जिल्लामा भने पौडेल समूहमै गनिन्छन्। भुवन श्रेष्ठ र सचिव खिलध्वज पन्थीले जिल्ला नेतृत्वमा आकांक्षा राखेपछि पौडेल समूहले कसलाई अगाडि सार्ने अन्यौलमा परेको छ।

उपसभापति विष्णु बलालले पनि आफू नेतृत्वमा जाने भनेर कार्यकर्तालाई सुनाइरहेका छन्। देउवा समूहबाट चन्द्र केसी उम्म्द्वार बन्ने चर्चा छ। बेद मगर तथा दामोदर भुसाल पनि जिल्लाको नेतृत्वमा आउन चाहेका छन्। अहिलेका क्षेत्रीय सभापति भगतसिंह खड्का र अशोक थापा सोही पदमा नदोहोरिने भएपछि अन्य आकांक्षीहरु बढेका हुन्। क्षेत्र नं २ बाट शिव केसी, पूर्ण केसी, सुदर्शन खनाल, लेकप्रसाद खरेल, चन्द्र महतले क्षेत्रीय सभापतिमा आकांक्षा देखाएका छन्।

अर्घाखाँचीमा ६ जना प्रत्यासी

अर्घाखाँची लुम्बिनी प्रदेशको एकमात्रै जिल्ला हो जहाँ, नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सर्वसम्मत रुपमा सभापति चयन भएको थियो। । सर्वसम्मत रुपमा विष्णु खनाल ‘मुस्कान’ सभापति बनेका थिए। देशभरमै सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्लासमेत हो अर्घाखाँची। १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेल सभापतिका रूपमा बलिया दाबेदार उम्मेदवार रहेको बुझिन्छ। महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन्।

जिल्ला सभापतिको दावेदारका रुपमा दक्षिण खाँचीका पुराना नेता वर्तमान सचिव छविलाल पौडेल। अर्घाखाँची कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति हुन लबिङमा लागेका छन्। महिला संघकी जिल्ला अध्यक्ष तथा काँग्रेस उपसभापति शान्ता भण्डारी पनि सभापतिको दाबेदार हुन। महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन्। शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन्। नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रने चर्चा छ।

महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ। तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न लागेका हुन्।  काँग्रेसका पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल पनि सभापतिका दाबेदार उम्मेदवार हुन्।

शान्ता भण्डारी, छविलाल पौडेल, केशव क्षेष्ठ पौडेल पक्षका हुन् भने यादव घिमिरे भने देउवा निकटका हुन। यद्यपि घिमिरे काँग्रेसका केन्द्रीय सदस्यद्व पुष्पा भुसाल र मानबहादुर विश्वकर्मासँग निकट मानिन्छन्। बाबुराम पौडेल भने देउवा निकट बालकृष्ण खाणसँग नजिक छन्। महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल भने कुनै गुटमा देखिएका छैनन्। अर्घाखाँचीको नेतृत्वमा केन्द्रीय सदस्य पुप्पा भुषाल र केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माको भूमिका महत्वपूर्ण हुने आँकलन गरिएको छ।

कपिलवस्तुमा पौडेल पक्षलाई उम्मेद्वार छान्न सकस

कपिलबस्तु दीपकुमार उपाध्यायको गृहजिल्ला हो। नेपाली कांग्रेस कपिलवस्तुको नेतृत्वका लागि अहिले सभापति देउवा र पौडेल समूह कार्यकर्तालाई आफ्नो पक्षमा पार्न गाउँगाउँ पुग्न थालेका छन्। उपाध्यायको गृहजिल्ला कपिलवस्तुमा पनि केन्द्रको समीकरण हेरेर नेताहरुले गुट बदल्ने र आफू सुरक्षित हुने योजना बनाइरहेका छन्। केन्द्रमा एउटा समूहमा जोडिएकाहरु पनि जिल्लामा फरक गुटमा जोडिन पुगेका छन्। कपिलवस्तुमा देउवा समूहबाट नेता राजेश आचार्य सभापतिका आधिकारिक उम्मेदार बन्ने संभावना धेरै रहेको उनीनिकट नेताहरु बताउँछन्।

त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट केशव श्रेष्ठ, अब्दुल कलाम, सुधाखर पाण्डेयले सभापति हुने रहर व्यक्त गरेपछि उम्मेदवार छान्न सकस परेको बुझिएको छ। श्रेष्ठ बुद्धभूमि नगरपालिका र कलाम महाराजगन्ज नगरपालिकाका मेयर भएकाले पनि पाण्डेयलाई अगाडि सार्न दबाव छ। तर उनीहरुमध्ये अहिलेका पार्टी सभापति सुरेन्द्रराज आचार्यले जसको पक्ष लियो, उसैले पौडेल समूहबाट टिकट पाउनेछ। सुरेन्द्र दुई कार्यकाल सभापति भइसकेकाले अब अन्य जिम्मेवारीमा जाने योजनामा छन्।

पश्चिम नवलपरासी 

अन्य जिल्लाको तुलनामा पश्चिम नवलपरासी जिल्लामा नेतृत्वका लागि हानथाप देखिएको छैन। यहाँ मोहन शर्मा र अर्जुन पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावन बलियो रहेको प्रदेशसभा सदस्य वैजनाथ कलवारले बताए। शर्मा देउवा खेमा हुन् भने पोखरेल भने पौडेल खेमाका हुन्। जिल्लाका कार्यकर्तामाझ दुवैको उस्तै पकड रहेको जानकारहरु बताउँछन्।

पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको गृह जिल्ला नवलपरासीमा जिल्ला नेतृत्व चयनमा उनकै पनि मुख्य भूमिका रहने काँग्रेसजनहरु बताउँछन्। वर्तमान सभापति विष्णुप्रसाद पौडेलले माथिल्लो निकायमा जाने मनसाय बनाएको र जिल्लामा नयाँ अनुहारका लागि ठाउँ खाली गर्न थालेको उनी निकट नेताहरु बताउँछन्। तर उनी आफै भने अहिले यसबारे बोल्ने बेला भइनसकेको बताउँछन्। ‘अहिले साथीहरु अपरिपक्व प्रचारमा लागेका छन्,’ उनले भने, ‘अझै समय छ, अहिले नै हल्ला गरेर हुँदैन।’

दाङमा ७ जना आकांक्षी

दाङको जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरु उम्मेदवार छनोट गर्न लागि परेका छन्। दाङमा ७ जना नेतृत्वको लागि लगिपरेका छन्। नेता खुमबहादुर खड्काको निधनपछि फेरिएको समीकरणमा जिल्ला नेतृत्वका लागि अघिल्लो अधिवेशनमा थोरै मतले सभापतिमा पराजित कमलकिशोर घिमिरे यसपालिकाका पनि बलियो प्रतिस्पर्धी हुन्। खुमबहादुर विरोधीको रुपमा देखिएका उनी अहिले देउवा समूहमै गनिन्छन्। तर उनी आफैं भने समूह खुलाउन चाहँदैनन्। शशांक कोइरालासँग नजिक रहेका केन्द्रीय सदस्य दीपक गिरीसँग पनि घिमिरे नजिक छन्।

उनका दाजु कृष्णकिशोर घिमिरेको केन्द्रमा प्रभाव भएको, यसअघिको बलियो प्रतिस्पर्धी भएको र युवा पिंढीको प्रतिनिधित्व हुने भएकाले र दुवै समूहलाई मिलाउन खोज्ने भएकाले उनलाई सबैले बलियो उम्मेदार मानेका हुन्। उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रदेशसभामा निर्वाचन लडेका थिए। देउवा समूहबाट भूपबहादुर डाँगी पनि आकांक्षी हुन्। दुईपटक क्षेत्रीय सभापति भइसकेका डाँगी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग पराजित भएका हुन्। त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट अहिलेका सचिव शंकरप्रसाद डाँगी र नेता खगराज पाण्डेले आकांक्षा व्यक्त गरेका छन्। यसैगरी जिल्ला नेतृत्वको लागि जानकीलाल बस्नेत, बुद्धिराम भण्डारी, भरत न्यौपाने पनि आकांक्षा राखेर नेता कार्यकर्तासँग पुगेका छन्।

बर्दियामा तयारी तीब्र, पौडेल समूहमा उम्मेद्वार धेर

बर्दियाको नेतृत्वका लागि आकांक्षीहरु देउवा र पौडेल दुवै समूहले नेतृत्व आफ्नो पक्षमा बनाउन लागि परेका छन्। देउवा समूहबाट केन्द्रीय सदस्य रहेका किशोरसिंह राठौर र पौडेल समूहबाट अहिलेका पार्टी सभापति संजय गौतमले जसलाई साथ दियो उही अगाडि बढ्ने देखिन्छ। गौतमले प्रतिनीधि सभा निर्वाचनमा एमालेका वामदेव गौतमलाई हराएका थिए।

देउवा समूहबाट अरुणप्रताप सिंह राठौरलाई अगाडि सार्ने तयारी छ। राठौर यसअघि जिल्लाको सभापति र केन्द्रीय सदस्यको उम्मेदार भइसकेका हुन्। उनी यहाँबाट केन्द्रीय सदस्य रहेका किशोरसिंह राठौर काकाभतिजा हुन् ।

त्यसैगरी पौडेल समूहबाट विद्याप्रसाद खनाल आकांक्षी छन्। यसैगरी अहिलेको उपसभापति मिश्रिलाल यादव र महासमिति सदस्य तेजबहादुर भाट पनि जिल्ला नेतृत्वका बलियो दावेदार रहेको बुझिएको छ।

प्युठानमा नेतृत्व दोहोरिने सम्भावना

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस नेता डा.गोविन्दराज पोखरेलको गृहजिल्ला हो प्युठान।   पौडेल पक्षमा रहेका पोखरेल महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि अहिले डा.शेखर कोइरालाको समूहमा देखिन्छन्।

पोखरेलनिकट प्यूठान कांग्रेसका सभापति अमर भण्डारी पुनः दोहोरिने तयारीमा छन्। यद्यपि सोही समूहबाट विष्णु गिरी पनि जिल्ला सभापतिका दाबेदार छन्। संस्थापन इत्तर समूहका नेता तथा वर्तमान जिल्ला सचिव देवेन्द्र बर्माले पनि सभापतिमा लड्ने तयारी गरेका छन्। केन्द्रीय सभापति शेरबहादुर देउवा निकट शिव रिजालले पनि जिल्ला सभापतिमा दाबेदारी दिदैंछन्। मूलतः प्यूठानको राजनीति डा.पोखरेलको समूह र देउवानिकट समूहबीच हुने देखिन्छ। पोखरेल नेतृत्वको समूहलाई देउवा निकट नेता रोज राणाले टक्कर दिदैंछन्। राणाको समर्थनमा रिजाल सभापतिको उम्मेदवार हुने देखिन्छ। अघिल्लो महाधिवेशनमा पोखरेल र राणा एकै समूहमा भएपनि अहिले दुईतिर भएकोले रस्साकस्सी रोचक छ। वर्तमान सभापति अमर भण्डारी आफूले सबैसँग छलफल गरेर निणर्य लिने बताउँछन् । देउवा समूह भने भण्डारीको निरन्तरताको पक्षमा छैन। कम्युनिष्टको पुरानो किल्ला मानिने प्यूठानमा पछिल्लो समय कांग्रेसको संगठन सुध्रदै गएको छ। कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ कांग्रेसलाई पुग्ने देखिन्छ।

अन्य जिल्लामा आकांक्षीहरु खुल्नै बाँकी

पाल्पा, रोल्पा, पूर्वी रुकुम जिल्लामा भने सभापति पदका आकाँक्षीहरु खुल्न बाँकी छ। जिल्लामा महाधिवेशन केन्द्रित गतिविधि बढ्न थाले पनि जिल्ला नेतृत्वका लागि अन्य जिल्लामा जस्तो यी जिल्लामा आकांक्षीहरु अघि सरिसकेका छैनन्। यद्यपि भित्रभित्रै नेताहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भइरहेका छन्।

भदौ १६ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनका लागि साउन १२ गतेबाट वडा तहको अधिवेशन शुरु हुने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell