PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु, मेयर शाक्य र प्रधानसेनापतिले गरे उद्घाटन



पहिलोपोस्ट

छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु, मेयर शाक्य र प्रधानसेनापतिले गरे उद्घाटन

काठमाडौं : वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतवार संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे।

‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ। तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ,’ मेयर शाक्यले भने।

प्रमुख शाक्यले महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम पनि शुरु गरेको पनि जानकारी दिए।

काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप दिएको रु ३ करोड रुपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। महानगरपालिका र अस्पतालबिच २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो।

सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ। ‘तत्कालका लागि ४८ जना विरामीलाई साताको दुई पटक सेवा प्रदान सकिन्छ,’ अस्पतालका प्रमुख सहायक रथि डाक्टर अरुण शर्माले भने, ‘आजबाट शुरु भएको यो सेवा काठमाडौं महानगरवासीहरूले आफू सम्बद्ध वडा कार्यालयवाट विपन्नको सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी (क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेको) लाई सिफारपछि आजैदेखि प्राप्त गर्न सक्नुहुनेछ।’

यो सेवा प्रदान गर्नका लागि अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको पनि उनले जानकारी दिए। ‘यो सेवा सञ्चालनका लागि महानगरपालिकाले एक जना एमबीबीएस डाक्टर, तीन जना स्टाफ नर्स, एक जना हेमोडायलाइसिस प्राविधिक, एक जना अधिकारी र एक जना सफाई कर्मचारी गरी जम्मा सात जना जनशक्तिको लागि तलब खर्च व्यहोर्ने पनि सहमति भएको छ,’ उनले भने, ‘मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु शरीरबाट बाहिर निकाली स्वस्थ बनाउने विधिलाई डायलाईसिस भनिन्छ। अब यो सेवा सुरुसँगै त्यस्ता विरामीलाई उपचारमा सहज हुने अपेक्षा गरेका छौं।’

डाक्टर शर्माका अनुसार हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेका छन्। निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ। नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell