PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !



प्रकाश भण्डारी

एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !

काठमाडौं : नेकपा (एमाले)को विवाद टुंग्याउनका लागि कार्यदलका नेताहरु यतिखेर सिंहदरबारमा वार्तामा छन्। आइतवार बिहान ८ बजे सहमति भएको औपचारिक घोषणा हुने नेताहरुले हिजै दाबी गरे पनि त्यसअनुसार सहमति हुन सकेन। सहमति हुन नसकेका बुँदामा वार्तामा छलफल भइरहेको छ। बिहान ८ बजे सहमति घोषणा हुने दाबी गरिए अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु आइतवार बिहान सिंहदरबारमा पुगेका थिए।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आइनपुगेनन्। बैठक एक घण्टा ढिलो गरी ९ बजेमात्रै सुरु भएको थियो। नेपाल समूहका नेताहरु नेपाललाई सहमत गराउन उनकै निवास कोटेश्वरमा पुगेका कारण बैठक समयमा सुरु हुन सकेन।

ओली - नेपालको अनिच्छा

एमालेको ४ महिना लामो विवादलाई समाधान गर्न ओली र नेपाल समूहका ५/५ जना गरी १० सदस्यीय कार्यदल जेठ २ गते बनेको थियो। उक्त कार्यदल एमालेको विवाद बढ्दै गएपछि निष्क्रिय भएको भए पनि गत सोमवार यता भने सक्रिय छ। कार्यदलमा रहेका अधिकांश नेताहरुले अनौपचारिक छलफल गरेरै सहमतिको मस्यौदा बनाएको र त्यसलाई कार्यदलमा परिमार्जन गरिएको बताइएको छ।

उक्त मस्यौदालाई ओली-नेपालको सहमतिमा अन्तिम रुप दिन बाँकी भएकाले कार्यदलमा सहमति भए पनि आइतवार बिहान हस्ताक्षर हुन सकेन। यद्यपि, ओली समूहका नेता तथा कार्यदलका संयोजक सुवास नेम्बाङले कार्यदलमा बनेको मस्यौदा नै अन्तिम सहमति भएको र त्यो परिमार्जन नगर्ने र आइतवार ओली नेपालको उपस्थितिमा हस्ताक्षर हुने तय भएको दाबी गरेका थिए।

'हामीले हिजै भोलि बिहान हस्ताक्षर मात्रै गर्ने अरु केही पनि परिमार्जन नगर्ने भनेर उठेका थियौं। तर, आज बिहान उहाँहरुले ढिला गर्नुभयो,' उनले भने।

कार्यदलमा जुटेको सहमतिप्रति नेपालले आपत्ति जनाएपछि आज बिहान घोषणा हुने भनिएको सहमति रोकिएको छ। नेपालले अदालतलाई प्रभाव पार्नेगरी कुनै सहमति नहुने अडान लिँदै आएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर फिर्ता नहुने नेपालको दाबी छ।

यस्तै, पार्टी अध्यक्ष ओली २०७५ जेठ २ गतेको एमालेमा फर्कन नचाहेकाले सहमति नबनेको आरोप नेपाल समूहले लगाएको छ। नेपाल निकट नेता जीवनराम श्रेष्ठले ओली सहमतिका लागि तयार नहुँदा सहमतिको घोषणा हुन नसकेको बताए।

'अहिलेसम्म सहमति भएको छैन। यही स्थितिमा सहमति हुँदैन। केही सहमतिका बुँदामा तलमाथि भएमा हुन पनि सक्ला,' उनले भने। आजै सहमति हुने नहुनेबारे केही यकिन नभएको उनको भनाई छ।

कार्यदलका नेताको दाबी, गयो खेर

कार्यदलले सोमवार औपचारिकता मात्रै पाएको थियो। मंगलवार बुँदागत छलफल थालेको कार्यदलमा बुधवारको बैठकले ओली-नेपाललाई संवाद गराउने निर्णय गरेको थियो। कार्यदलका नेताहरुकै सक्रियतामा बुधवार साँझ ओली-नेपालले मेरियट होटलमा एमाले विवाद समाधानका लागि वार्ता गरेका थिए।

उक्त संवादपछि एमाले विवाद समाधान हुने नेताहरुको दाबी थियो। तर, ओली-नेपाल मिल्न तयार नभएपछि फेरि कार्यदलमा सहमतिका लागि बिहीवारको बैठकमा छलफल भएको थियो। बिहीवार दुई पटक वार्तामा बसेका नेताहरुले शुक्रवार सहमति हुन सक्ने दाबी गरेका थिए। तर, उक्त समयमा पनि एमाले विवाद टुंगो लागेन। शुक्रवार ७ घण्टा वार्ता गरे पनि सहमतिको घोषणा हुन सकेन। कार्यदलका नेताहरुले शनिवार सुखद खबर सुनाउने भन्दै सिंहदरबारबाट बाहिरिएका थिए। उक्त दाबी अनुसार शनिवार पनि सहमति हुन सकेन।

शनिवारको छलफल पछि ओली समूहका नेताहरुले आइतवार ८ बजे समय किटान गरेर सहमति भएको घोषणा हुने दाबी गरे। तर, अझै पनि सहमति हुन सकेको छैन। त्यसैले कार्यदलका नेता छलफलमा जुटिरहेका छन्। हप्ताभरी वार्तामा बसेका कार्यदलका नेताहरुले दिनदिनै दाबी गरे अनुसार एमाले विवाद समाधान भएको छैन। आइतवार मध्यान्हसम्म पनि एमाले विवाद समाधान हुने/नहुने टुंगोमा पुगेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell