PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

अर्थको दाबी छाडेर ऊर्जातिर आचार्य, तीन महिनामा तेस्रो पटक खेलकुद मन्त्री बने मनाङे



रिना थापा

अर्थको दाबी छाडेर ऊर्जातिर आचार्य, तीन महिनामा तेस्रो पटक खेलकुद मन्त्री बने मनाङे

पोखरा : गण्डकी प्रदेशका दुई जना विना विभागीय मन्त्रीले आइतवार कार्यभार सम्हालेका छन्। 

जनता समाजवादीबाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा, जलश्रोत तथा सिचाँई मन्त्रालयको कार्यभार सम्हालेका छन् भने स्वतन्त्रबाट आएका राजीव गुरुङ (दीपक मनाङे)ले खेलकुद मन्त्रालयको कार्यभार समालेका छन्। 

गत २९ जेठमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको सरकारमा पोखरेलसहित चार जनाले विभागीय जिम्मेवारी विना नै मन्त्रीको शपथ लिएका थिए। यीमध्ये २ जनाले असार १३ गते मन्त्रालयको जिम्मा सम्हालेका थिए। कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र नेकपा (माओवादी)बाट मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको कार्यभार लिएका थिए। 

आफूले चाहेको मन्त्रालय पाउनुपर्ने अडानमा रहेर जसपाका आचार्य र मनाङेले मन्त्रालयको जिम्मेवारी लिएका थिएनन्। विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपासँग चारबुँदे सहमति गरेको थियो। कांग्रेसले अर्थसहित जसपालाई २ मन्त्रालय दिने सहमति गरेको थियो। सहमति भए पनि कांग्रेसले सहमति तोडेपछि मन्त्रालय विस्तारमा किचलो सुरु भएको थियो। 

आज आइतवार आफ्नो अडानबाट पछि हट्दै दुई मन्त्रीले आफूले नचाहेको मन्त्रालयको जिम्मेवारी लिएका हुन्। अर्थ मन्त्रालयमा दाबी गर्दै आएका आचार्यले ऊर्जा र भौतिक मन्त्रालय दाबी गरेका मनाङेले पुन: तेस्रो पटक खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

ऊर्जा मन्त्रालयको कार्यभार समाल्दै आचार्यले प्रतिगमनविरुद्ध लड्न खेलेको भूमिका निर्वाहबाट पछि नहट्न ऊर्जा मन्त्रालय लिन सहमत भएको बताए। 

‘राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि अथवा प्रतिगमनविरुद्ध लड्न जुन भूमिका निर्वाह गरेका छौँ, त्यो भूमिकाबाट किमार्थ पछाडि नहट्ने शर्तमा यो मन्त्रालय लिएका हौँ,’ आचार्यले भने ।

आन्तिरक रुपमा देखिएको किचलोलाई निभाउन प्रयत्न गरेको आचार्यको भनाइ छ। 

‘सहमति भइसकेपछि माओवादी केन्द्र र कांग्रेस बिच थोरै हानथाप भयो। त्यसमा तेल घिउ थप्न भन्दा आगोमा हामीले पानी भएर निभाउने प्रयत्न गरेका हौं, अर्थ मन्त्रालय छोड्यौं,’ उनले भने। 

यता, विना विभागीयमै शपथ लिएका मनाङले खेलकुद मन्त्रालयको जिम्मेवारीमै चित्त बुझाएका छन्। नेपाली नेतृत्वको सरकारमा मन्त्री पदको सपथ खाएकै समयदेखि उनले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएका थिए। आफ्नो दाबीबाट पछि हटेर मनाङेले तेस्रो पटक खेलकुद मन्त्रालयको कमान लिएका हुन्। इज्जत बचाउनुपर्छ भनेर भौतिक मन्त्रालयको दाबी छोडेको मनाङेको भनाइ थियो। 

‘पैसा खान ठूलो मन्त्रालय मागेजस्तो देखियो,’ उनले भने, ‘इज्जत बचाउनपर्छ भनेर छोडेको। भोलि यही कुरालाई एक्सपोज गर्दिए सकिन्छौँ।’
उनले संसद विघटन हुन नदिन पृथ्वीसुब्बा गुरुङको साथ छोडेको पनि दोहोर्‍याए। कार्यभार सम्हाल्दै मनाङेले निर्वमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रशंसा पनि गरे। 

‘पृथ्वी सुब्बा दाइले एकदम चेक एण्ड ब्यालेन्स गर्थ्यो। विज्ञसँग सोध्थ्यो,’ उनले भने, ‘ठूलो नेतालाई गएर तपाईँको मान्छेले सरकार चलाउन सक्दैन, डिस्टर्ब गर्न भएन भनेको हो।’

निवर्तमान मुख्यमन्त्रीको प्रशंसा गरेका उनले आफनो सरकारप्रति भने असन्तुष्टि व्यक्त गरे। सरकार बनेको एक महिनासम्म पनि पूर्णता दिन नसकेकोमा मनाङे असन्तुष्ट सुनिएका हुन्। 

‘केन्द्रको समस्याले गर्दा प्रदेशमा खेल खेल्दियो। कांग्रेसले कहिले पनि पृथ्वीसुब्बाको प्रोजेक्टमा हुँदैन भनेकै छैन,’ मनाङेले भने, ‘सरकार बनेको एक महिना हुन लागिसक्यो, अझै समस्या छ।’

आज विना विभागीय दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए पनि सरकारले पूर्णता पाउन भने अझै सकेको छैन। ११ मन्त्रालय रहेको प्रदेशमा ४ मन्त्रीको जिम्मेवारी छिनोफानो लागेको हो। अझै ७ वटा मन्त्रालयको टुंगो लगाउन बाँकी नै छ। प्रदेशमा एक मन्त्रालय थपेर १२ मन्त्रालय पुर्‍याउने सम्भावना पनि कायमै छ। मन्त्रीका आकांक्षी धेरै भएकाले थप १ मन्त्रालय बढाउन खोजिएको हो। प्रदेशको बजेट पारित भएपछि मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिलाउने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell