PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिड-१९ अध्यादेश, आदेश र जरिवाना : सर्वसाधारणलाई मात्र कि प्रधानमन्त्री र उनका समर्थकलाई पनि?



पहिलोपोस्ट

कोभिड-१९ अध्यादेश, आदेश र जरिवाना : सर्वसाधारणलाई मात्र कि प्रधानमन्त्री र उनका समर्थकलाई पनि?

काठमाडौं : आइतवारकै तथ्यांक हेर्ने हो भने नेपालमा ५ जनाको परीक्षण गर्दा एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

संक्रमण नियन्त्रणका लागि सरकारले सभा सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएको छ। जन्ती र मलामीलाई समेत ७-८ जनामा सीमित गराएको सरकारले आफैँ भेला र सभा गर्दै हिँडेको छ। त्यसको नेतृत्व स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

सरकारले कोभिड-१९ नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्थापन अध्यादेश जारी गरी जेठ २ गते राजपत्रमा प्रकाशित गरेको छ।

अध्यादेशले प्रतिकार्य अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ। सोही अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो पटक असार २२ गतेदेखि असार ३१ सम्मका लागि अध्यावदिक निषेध आदेशजारी गरेको छ।

जुन आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/ गराउन नपाउने उल्लेख छ।

त्यस्तै, खुला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाउने समेत आदेशमा उल्लेख छ।

त्यस्तै, आदेशमा गोष्ठी तालिम सेमिनार बैठकको आयोजना भर्चुअल माध्ययमबाट गर्ने उल्लेख छ। त्यस्तै, भौतिक रुपमा उपस्थित भई गर्नै परे बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्य मापदण्डको पूर्ण परिपालाना गर्ने गरी सञ्चालन गर्ने उल्लेख छ।

यो आदेश उल्लंघन गर्नेलाई कोभिड-१९ संकट व्यवस्थान अध्यादेश २०७८ अनुसार कारवाही गरिनेसमेत आदेशमा उल्लेख छ।

तर, यसबीच प्रधानमन्त्री नै आदेशको उल्लंघन गर्दै हिँडेका छन्। अध्यादेश अनुसार प्रधानमन्त्री कोभिड-१९ निर्देशक समितिका अध्यक्ष हुन्। तर, आदेशको उल्लंघन गर्दै उनी हिँडेका छन्।

शनिवार मात्र प्रधानमन्त्री ओली दलबलसहित मेलम्चीको बाढी निरीक्षण गर्न पुगे। त्यहाँ उनले टेन्ट नै लगाएर कार्यक्रममा सम्बोधन गरे। कोभिड-१९ मापदण्डको पालना प्रधानमन्त्रीले मञ्चमा त गरे। तर, तल उनलाई सुन्नेहरुलाई त्यसको वास्ता थिएन। आशा थियो त केवल प्रधानमन्त्रीले केही राहतको घोषणा गर्लान की?

आइतवार नै प्रधानमन्त्री वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरे। कोभिड-१९ युनिफाइड अस्पतालको रुपमा अध्यादेशमार्फत सञ्चालनमा रहेको वीर अस्पतालको भवन उद्घाटन गर्ने कार्यक्रममा सरकारका मन्त्रीहरु सरकारी कर्मचारीहरु स्वास्थ्य मन्त्रालयका अधिकारीहरु वीर अस्पतालका चिकित्सकहरु। पक्कै स्वास्थ्य मापदण्ड स्वास्थ्यकर्मीहरुले पालना त गरे होलान्, तर सन्देश भने गलत दियो।

सर्वसाधारणलाई बाहिर हिँड्दासमेत दुई मिटर दुरी कायम गर्न लगाउने सरकारले आफैँ कार्यक्रम गर्दै हिँड्ने। यसको सिको सर्वसाधारणले के गर्लान?

यसको उदाहरण आइतवार नै उनका समर्थकले देखाए। ओलीको आकृति गालामा रंगाएर ओली गान गर्दै बानेश्वरबाट माइतीघरसम्म जुलुस गरे- सडक अवरुद्ध गर्दै। २५ जना मात्र होइन सयौँ भेला भएर।

यसरी नियम उल्लंघन गर्नेलाई प्रहरीले प्रकाउ गर्नुको सट्टा स्कर्टिङ गर्‍यो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेश अनुसार उनीहरुलाई एक वर्षसम्म कैद वा पाँच लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा छ। संस्थागत रुपमा उल्लंघन गरे प्रजिअले सिधै पाँच लाख जरिबाना गराउन सक्ने व्यवस्था छ। नेपाल सरकार बादी हुने मुद्दामा प्रधानमन्त्री, उनका समर्थकलाई प्रतिवादी बनाइ कारवाही गर्ने कसले?

प्रधानमन्त्रीले आफ्नै सरकारको आदेश उल्लंघन गर्दै हिँडेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आरोप लगाए।

‘आफैँ लकडाउन गर्ने, आफै कार्यकर्ता उतारेर प्रदर्शन गर्ने। प्रधानमन्त्रीले आफैँ विधिको शासन उल्लंघन गरेका छन्,’ उनले भने, ‘कार्यकर्ता जम्मा गर्ने जुलुस गर्ने भाषण गर्दै हिँड्ने, उद्घाटन गर्दै हिड्ने विदेशमा भए पद जान्थ्यो कारबाही हुन्थ्यो। ओलीले कानुन मान्दैनन् उनीबाट आशा राख्नु व्यर्थ हो।’

उनले जनतालाई कानुन लाग्दा प्रधानमन्त्रीलाई त झन लाग्नु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell