PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सत्ताबाट अपदस्त भएपछि नजर बालकोटतिर : एकाएक सुरक्षाकर्मीको बाक्लो उपस्थिति

सत्ताबाट अपदस्त भएपछि नजर बालकोटतिर : एकाएक सुरक्षाकर्मीको बाक्लो उपस्थिति

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमवार दिउँसोको दृश्य अन्य दिनको तुलनामा फरक थियो। ओली बालुवाटारबाट बाहिरिने दिन एकाएक नजिकियो। सर्वोच्च अदालतले ओलीको प्रधानमन्त्री पद अवैधानिक ठहर्‍याएपछि उनको बालुवाटार बसाईको दिन घट्यो। धेरैजसो समय बिरामी भएकाले पनि हुनुपर्छ - ओलीले देशमात्र होइन, पार्टी, गुट र फुटको नेतृत्व पनि बालुवाटार भित्रै रहेर चलाइरहे। के प्रधानमन्त्री निवास, के पार्टी कार्यालय - बालुवाटर सत्तारुढ दल नेकपा एमालेको केन्द्र रहिरह्यो। 

बालुवाटारको त्यो शक्ति अब बालकोटतिर बाध्यात्मक रुपमा सर्दैछ। प्रधानमन्त्री भएपछि एकाधपटक बाहेक ओली यहाँ पुगेनन्। त्यसैले सोमवार यहाँ जे देखियो - त्यस्तो यसअघि प्रधानमन्त्री यहाँ पुग्दामात्र देखिएको थियो। 

सर्वोच्च अदालतको सोमवारको आदेशपछि ओली निवासमा एक्कासी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरु पुगे।

करिब साढे १ बजे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्‍यो। यो आदेशले नै हो, ओलीको बालुवाटार बसाई छोट्याएको।

भोलि मङ्गलवार ५ बजेसम्म प्रधानमन्त्री पद शेरबहादुर देउवाको हुनेछ। त्यस हिसाबले ओली आजैदेखि पदविहीन भइसके। त्यसैले उनी बस्दै आएको सरकारी निवास तत्कालका लागि विरानो बन्दैछ। कुनै पनि समय उनी पुरानै वासस्थानमा फर्किने भएकाले दिउँसोदेखि नै सुरक्षाकर्मीको खटनपटन बाक्लिएको हो बालकोटमा।

ओलीका लागि कडा सुरक्षा आवश्यक पनि छ। त्यसैले ओली निवासतिर मानिसहरुको आगमनमाथि प्रहरीले कडा निगरानी बढाएको हो।सुरक्षाकर्मीले 'माथिको निर्देशन' भन्दै ओली निवासतिर जान मानिसलाई रोक लगाएका थिए। ओलीको घरफिर्तीको विषय औपचारिक रुपमा कसैले बोलिसकेको छैन। त्यसैले सुरक्षाकर्मीले पनि सतर्कता साथ भनाइ राखे।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले भीआइपीको क्षेत्रमा सुरक्षाकर्मीको 'मुमेन्ट' तलमाथि हुनु 'नर्मल' भएको प्रतिक्रिया दिए।

'भीआइपी क्षेत्र भएकाले सुरक्षा फोकस भएको हुन्छ। त्यसलाई पनि यसरी नै बुझ्नु होला,' एसपी श्रेष्ठले भने।

पछिल्लोपटक प्रधानमन्त्री ओलीको गतिविधिलाई लिएर काभ्रेका एमाले सांसद गोकुल बास्कोटा चिढिएपछि उनैलाई फकाउन प्रधानमन्त्री ओली आफ्नो निवास पुगेका थिए। बास्कोटा लामो समय उनकै घरमा बसेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell