काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट आफू बाहिरिएको बताएका छन्। विपक्षी ५ राजनीतिक दलको नेपाल निवासमा बसेको बैठकमा नेपालले अब गठबन्धनमा आफू नरहेको बताएका हुन्।
परिस्थिति बद्लिएको र एमालेमा एकताको वातावरण बनेकाले गठबन्धनमा आफू नरहने नेपालले बैठकमा बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। उनले अहिलेसम्मको अवस्थामा सहकार्य भएको र त्यसैको परिणामस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको बताएका थिए।
उनले देउवालाई सरकारमा गएर एकलौटी ढंगले नचल्न सुझाव दिएका छन्। आफूले विपक्षी गठबन्धनलाई धोका नदिएर बद्लिएको परिस्थिति अनुसार चलेको नेपालको भनाइ थियो।
‘विभाजित अवस्थामा थियो हाम्रो पार्टी अहिले मिल्ने अवस्थामा पुगेको छ। म सधैँ लोकतन्त्रको पक्षमा छु। शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएकाले जनताका समस्या समाधान गर्नुस्। एकलौटी ढंगले नचल्नुस्। हाम्रो पार्टीसँग पनि सरसल्लाह गरेर अलि फराकिलो ढंगले सरकार बनाउनुस्। एकलौटी ढंगले चल्ने कुराको म जहिले विपक्षमा छु भन्नुभयो,’ नेपाललाई उदृत गर्दै पन्तले भने।
