PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बदलियो राजनीतिक दृश्य : माधव नेपालले छाडे विपक्षी गठबन्धन, देउवालाई चटारो क-कसलाई लिने सरकारमा?



पहिलोपोस्ट

बदलियो राजनीतिक दृश्य : माधव नेपालले छाडे विपक्षी गठबन्धन, देउवालाई चटारो क-कसलाई लिने सरकारमा?

काठमाडौँ: सर्वोच्च अदालतको सोमबारको फैसलासँगै राष्ट्रिय राजनीतिको दृश्य बदलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमन हुँदा विपक्षी दलका नेता/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार  इन्ट्री गर्ने तयारीमा छन्। अदालतले देउवालाई मंगलबार ५ वजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ भने ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ।

योसँगै नयाँ सरकार गठनको गृहकार्यमा देउवा लागेका छन्। नयाँ सरकार गठनकै विषयमा केन्द्रित भएर विपक्षी ५ दलीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठक नेपाल निवास कोटेश्वरमा बसेको थियो। उक्त बैठकले देउवाको नेतृत्वमा सुरुमा सानो आकारको मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सहमतिको सरकार बनाउने, विचार मिल्नेसँग सहकार्य लगायतका विषयमा बैठकमा छलफल भएका थिए।

देउवालाई चटारो

गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार बनाउने कोसिस गर्नुपर्ने बैठकमा धारणा राखेका थिए। सकेसम्म सहमतिको सरकार बनाउने भन्नेबारे छलफल भएको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए। उनले भोलि नै सानो आकारको मन्त्रीमण्डल गठन हुने र विस्तारै अरु पार्टी पनि सरकारमा सहभागी हुने बताए।

'प्रारम्भमा सानो मन्त्रिपरिषद् गठन गर्ने भन्ने कुरा भएको छ। मिलेरै सरकार बनाउनुपर्ने अहिले बाध्यता छ,' उनले भने। भोलि फेरि गठबन्धनका नेताहरु बसेर सरकार गठनबारे फाइनल गर्ने आजको बैठकले निष्कर्ष निकालेको थियो।

खाँणले सहमतिको सरकार बनाउनका लागि सबै राजनीतिक दलसँग तयार हुनुपर्ने परिस्थिति सिर्जना भएको बताए। भने,'अहिले हाम्रो पर्यत्न त राष्ट्रिय सहमतिको सरकार बनाउने छ। सबै राजनीतिक दलसँग सहकार्य गर्न तयार तयार हुनुपर्छ।'

अब सरकारमा सहभागी हुनका लागि एमालेलाई मात्रै अलमल हुने भएको छ। ओलीसँगको लामो राजनीतिक किचलोका कारण तत्काल सरकारमा सहभागी गराउने सम्भावना कम भएको नेताहरुको भनाई छ। यद्यपी एमालेको माधवकुमार नेपालाई सरकारमा सहभागी गराउन र २३ सांसदको विश्वासको मत प्राप्त गर्न एमालेलाई सरकारमा सहभागी गराउनुपर्ने गठबन्धनको सरकारलाई बाध्यता छ।

कांग्रेसको सरकारमा माओवादी केन्द्र,जसपा सहभागी हुने निष्कर्ष पनि उक्त बैठकले निकालेको थियो। तर अन्तिम टुंगो भने भोलिमात्रै लाग्ने गठबन्धनमा सहभागी नेताहरुले बताएका छन्।

ओलीसँग सहकार्य होला?

राष्ट्रिय सहमतिको सरकारका लागि सबै राजनीतिक दलसँग सहकर्य गर्नुपर्ने कांग्रेसको धारणा सार्वजनिक हुँदा माओवीदी केन्द्रले भने सहकार्यका लागि राजनीतिक विचार र सिद्धान्तको विषय पनि उठाएको छ।

माओवादी केन्द्रका नेता देव गुरुङले सरकारमा सहभागी हुने दलले दलीय प्रणाली र लोकतन्त्रलाई मान्नुपर्ने बताए।

'सरकार गठन गर्नेबारे सबैलाई समेटेर लैजानुपर्छ र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ। सबै पक्षलाई समेटेर जाने भन्ने निष्कर्ष छ। तर कति सहमत हुन्छन् या कि हुँदैनन्। दलीय प्रणालीमा सहमत हुनुपर्‍यो र सहमति र सहकार्य गर्न तयार दलसँग सहकार्य हुन्छ। सबैसँग छलफल हुँदै छ। बाँकी समय सरसल्लाह छलफल गर्दै अगाडि बढने हो,' उनले भने।

नेकपा एमालेसँग सहकार्य हुने नहुनेबारे भने अहिले केही भन्न नसकिने उनले बताए। शीर्ष नेताहरुको छलफलपछि मात्रै उक्त विषय टुंगिने उनको भनाई छ। सर्वोच्च अदालतको सोमबारको फैसलामा संविधानको धारा ७६(५) अनुसार गठन हुने सरकारका लागि सांसदहरुलाई पार्टीको ह्वीप नलाग्ने उल्लेख छ।

गठबन्धन छाडे माधव नेपालले

नेकपा एमाले भित्रको किचलोका कारण गठबन्धनसँग सहकार्य गरिरहेका एमालेका वरिष्ठ नेता नेपालले भने गठबन्धनमा अब आफू नरहेको बताएका छन्। बैठकमा नेता नेपालले संविधान र लोकतन्त्रका लागि आफूले गठबन्धनमा सहकार्य गरेको र अहिले परिस्थिति बदलिएकाले गठबन्धनबाट अलग भएको प्रष्टीकरण दिएका थिए। नेपाल समूहका नेता रघुजी पन्तले नेपालले गठबन्धनमा नरहेको बताएको जानकारी दिए।

'परिस्थति चेन्ज भएको छ। लोकतन्त्रका लागि भनेर यहाँसम्म आएका थियौँ। हामीले लोकतन्त्र संविधान र नागरिकका पक्षमा काम गर्न सक्नुपर्छ। अब नयाँ परिस्थिति उत्पन्न भएको छ। म गठबन्धनमा रहने स्थिति रहेन,' नेपाललाई उदृत गर्दै पन्तले भने।

नेपालले एमालेमा सहमतिको अवस्था सिर्जना भएको गठबन्धनका नेताहरुलाई जानकारी दिएका थिए।

'विभाजित अवस्थामा थियो हाम्रो पार्टी अहिले मिल्ने अवस्थामा पुगेको छ। म सधै लोकतन्त्रको पक्षमा छु,' नेपालले बैठकमा भनेका थिए।

नेता नेपालले फेरि पनि सहकार्य हुन सक्ने बताएका थिए। उनले देउवालई सहकार्य र सहमतिकै आधारमा सरकार चलाउन सुझाएका छन्। एकलौटी ढंगले सरकार चलाए आफू त्यसको विपक्षमा उभिने नेपालको भनाई थियो। तर, त्यसका लागि नेता नेपालले आफ्नो पार्टी एमालेसँग पनि सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए।

'जनताका समस्या समाधान गर्नुस्। एकलौटी ढंगले नचल्नुस्। हाम्रो पार्टीसँग पनि सर-सल्लाह गरेर अलि फराकिलो ढंगले सरकार बनाउनुस्। एकलौटी ढंगले चल्ने कुराको विपक्षमा रहँदै आएको छुँ,' नेपाललाई उदृत गर्दै पन्तले भने।

सरकारमा जाने नजानेबारेमा भने पार्टीको स्थायी कमिटीको बैठकले निर्णय गर्ने पन्तले बताए। उनले नेपाल समूहका २३ सांसदले देउवालाई विश्वासको मत दिने नदिनेबारे अहिले यकिन नभएको जानकारी दिए।

'अब सरकारमा जाने नजानेबारे पार्टीको औपचारिक छलफल स्थायी कमिटीमा हुन्छ। विश्वासको मत दिने कि नदिने भन्नेबारे अहिले केही भएको छैन्,' उनले भने।

माधव नेपाललाई पर्खिए ओली

विपक्षी गठबन्धन छोडेका माधव नेपालका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको सोमबारको बैठक रोकेका छन्।

आइतबार नै सोमबारका लागि बोलाइएको भए पनि अनौपचारिक छलफल गरेर बैठक सकिएको थियो। नेपाल गठबन्धनको बैठकमा सक्रिय भएकाले बालुवाटारको बैठकमा सहभागी भएका थिएनन्। नेपाल उक्त बैठका सहभागी नभएपछि बैठक रोकिएको थियो। एमालेमा आइतबार राति भएको १० बुँदे सहमतिलाई स्थायी कमिटीमा अनुमोदन गर्ने तयारी भएकाले नेपालको उपस्थितिमा बैठक बस्नका लागि बैठक रोकिएको ओली समूहका नेताहरुको भनाई छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले अनौपचारिक छलफलमा सर्वोच्चको फैसलाबारे नेताहरुले धारणा राखेको जानकारी दिए। उनले अदालतले लोकतन्त्रको आधार खलबल्याउने निर्णय गरेको आरोप लगाए।

'सर्वोच्च अदालतको फैसलाका बारेमा विभिन्न कमरेडहरुको धारण बुझ्ने काम भयो। सबैको साझा धारणा के रह्यो भने लोकतन्त्रका आधारहरुलाई यो फैसलाले खलबल्याउने काम गरेको छ,' उनले भने,'आजको फैसलाले शक्ति सन्तुलनका पिलरलाई हल्लाइदिने काम गरेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell