PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विवादमा मकवानपुर कांग्रेस : केन्द्रमा पठाइएको क्रियाशील सदस्यको नामावलीमा उठ्यो प्रश्न



निशा गुरुङ

विवादमा मकवानपुर कांग्रेस : केन्द्रमा पठाइएको क्रियाशील सदस्यको नामावलीमा उठ्यो प्रश्न
फोटो : मकवानपुर कांग्रेस/ट्विटर

हेटौँडा : असार २५ गते नेपाली कांग्रेस मकवानपुरले क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठायो। कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा हाल सदस्यहरुको नामावली केन्द्रीय क्रियाशील छानबिन समितिलाई बुझाउने काम भइरहेको छ।

महाधिवेशनकै समयमा वर्षेनी कांग्रेस विवादमा मुछिन्छ। मकवानपुरबाट चार हजार दुई सय ४२ पुराना र पाँच हजार दुई सय ७८ गरी ९ हजार पाँच सय २० को नामावली केन्द्रमा पठाइएको छ।

केही समयअघि सदस्यहरुको नाम पठाउने क्रममा तत्कालीन लोकतान्त्रिक फोरमबाट समायोजन हुने क्रियाशील सदस्यहरुको नामसमेत रहेको नामावली पठाइयो। त्यही नाम सार्वजनिक भएका कारण मकवानपुरको कांग्रेस पार्टी कार्यालयमा विवाद बढेको छ।

छापको दुरुपयोग भयो : मैनाली

२०७४ सालमा नेपाली कांग्रेस र विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच समायोजन भएको थियो। तर, मकवानपुरमा भने समायोजनको अवस्था फितलो थियो। फोरमबाट कुनै कार्यकर्ता कांग्रेसमा आउन सकेनन्। बरु उनीहरु तटस्थ बसे।

२०६६ सालदेखिका मकवानपुर अध्यक्षमा रहेका हरिकृष्ण मैनालीको नेतृत्वमा त्यसबेला तत्कालीन फोरम पार्टीमा चार सय ३५ कार्यकर्ताहरु थिए। उनीहरु कोही पनि कांग्रेसमा एकता हुन चाहेनन्। तर, हाल नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यमा सिफारिस नगरिएका २१ जनाको नाम सार्वजनिक भएको भन्दै फोरम लोकतान्त्रिक अध्यक्ष मैनालीले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र समेत सार्वजनिक गरे।

मैनालीले ध्यानाकर्षणपत्र जारी गर्दै समायोजन प्रक्रियामा मकवानपुरबाट कोही पनि सहभागी नभएको उल्लेख गरेका छन्। उनले फोरमका तर्फबाट सिफारिस नभएकाको नाम सार्वजनिक हुनु आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

मैनाली भन्छन्, मकवानपुरबाट फोरम पार्टीको नक्कली छाप बनाएर सिफारिस गरेका छन्।

यसरी दुरुपयोग हुनुमा नेपाली कांग्रेस मकवानपुरका जिम्मेवार व्यक्ति नै मौन रहनु राम्रो नभएको मैनालीले प्रतिक्रिया दिए।

औपचारिक अनुमोदन बाँकी : कोइराला

कांग्रेसका विभिन्न तहको अधिवेशन हुने तयारी छ। केन्द्रीय क्रियाशील छानबिन समितिलाई जिल्लाबाट पठाइने नामावली पठाउने काम तीव्र गतिमा छ। केन्द्रमा २४ गतेसम्म नामावली पठाउनुपर्नेमा हालसम्म विभिन्न जिल्लाबाट पुग्न सकेको छैन।

नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइराला फोरम पार्टीबाट नामावली गएको विषयमा केन्द्रलाई मात्र थाहा हुने प्रतिक्रिया दिन्छन्।

‘केन्द्रको निर्णयले गरेको हो। हामी भन्न सक्दैनौँ। तर, जे भएको छ, त्यो हुनु नपर्ने भएको र गौरवशाली पार्टीलाई विवादमा मुछ्ने काम भएको वा गराउने कार्य भएको छ,’ उनले भने।

यसरी नामावली सुटुक्क बाहिर जानुले नराम्रो सन्देश जाने कोइरालाले बताए। तर,  सार्वजनिक नामावली नै आधिकारिक नरहेको कोइराला बताउँछन्। छानबिन समितिले कांग्रेस सभापतिलाई बुझाउने र सभापतिले निर्वाचन समितिलाई पेश गर्न बाँकी छ। त्यसैले उक्त नामावलीलाई आधिकारीक भन्न नमिल्ने उनी बताउँछन्। तत्कालीन फोरम अध्यक्ष मैनालीले नै होइन भनेपछि आफूहरुले केही गर्न नसक्ने उनले बताए।

हेटौँडाका दुई वडा विवादमा

हेटौँडा उपमहानगरपालिकाका दुई वडा क्रियाशील सदस्यता दिने क्रममा विवादित बन्न पुगेको छ। वडा नम्बर २ र वडा नम्बर ९ विवादित बन्न पुगेको पार्टीका एक क्रियाशील कार्यकर्ताले जानकारी गराए।

पार्टीको पुरानो विधानमा वडामा जति पुराना सदस्य छन्, त्यसको ५० प्रतिशत् नयाँ क्रियाशील रहने नियम थियो भने हाल परिवर्तन भएर सतप्रतिशत रहने बनाइएको छ। त्यही क्रममा दुई वडामा विवाद देखिएपछि नयाँ क्रियाशील सदस्यता दिने चरण रोकिएको उनले जानकारी गराए।

ती दुई वडामा पुराना सदस्यको मात्र नवीकरण हुने र नयाँ सदस्यको काम हाल नहुने बताइएको छ। नेताहरुले आफ्नो मान्छे घुसाउने प्रवृत्तिका कारण यस प्रकारका समस्या पर्न गएको ती कार्यकर्ताले दाबी गरे। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणित गरी पठाएको पत्रमा फोरम लोकतान्त्रिक मकवानपुरबाट समायोजन भएको भन्दै सुनिल अधिकारी, प्रकाश बर्तौला, छविलाल बम्जन, मिठाराम दाहाल, युवराज लामा, निरप्रसाद नेपाल, सुदीप नेपाल, चेतकुमारी न्यौपाने छन्।

अञ्जना उपाध्याय, सीता नेपाल, पुष्पाकुमारी भट्ट, रामचन्द्र नेपाल, मौसम भट्टराई, मेनुका अर्याल, सम्झना गौतम, जानकी गिरी, पदमप्रसाद न्यौपाने, मिलन पुडासैनी, प्रमिला खतिवडा, बन्दना नेपाल र प्रकाशमणि नेपालको नाम क्रियाशील सदस्यका रुपमा सार्वजनिक गरिएको छ।

हाल देशभरका कांग्रेसका कार्यकर्ता महाधिवेशको लागि तातिएका छन्। साउन १२ गते वडाको अधिवेशन, १६ गते गाउँ तथा  नगर अधिवेशन, २० गते प्रदेश क्षेत्र, २३ गते संघको अधिवेशन, २६ गते जिल्ला अधिवेशन, भदौ १ र २ गते प्रदेश अधिवेशन हुने बताइएको छ। भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशनको मिति तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell