PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभ्याक्स मार्फत आइपुगेको जोन्सन एण्ड जोन्सनको भ्याक्सिन कस्तो हो?



पहिलोपोस्ट

कोभ्याक्स मार्फत आइपुगेको जोन्सन एण्ड जोन्सनको भ्याक्सिन कस्तो हो?
फोटो : twitter.com/USAmbNepal

काठमाडौं : नेपाललाई कोभ्याक्सले दिने भनेको कुल लाभान्वित समूहको २० प्रतिशत भ्याक्सिनमध्ये १५ लाख ३४ हजार ८५० डोज भ्याक्सिन नेपाल आइपुगेको छ। जोन्सन एण्ड जोन्सनले विकास गरेको 'सिंगल डोज' भ्याक्सिन नेपाल आइपुगेको हो।

यो खोप भ्याक्सिन अमेरिकाले नेपाललाई सोझै सहयोग हस्तान्तरण गरेको नभई अमेरिकाले कोभ्याक्स सुविधामा उपलब्ध गराएको भ्याक्सिनबाट नेपाललाई सहयोग पठाइएको हो। यसअघि यही सुविधामार्फत अमेरिकाले सहयोग गरेको १५ लाख डोज मोर्डेना भ्याक्सिन होण्डुरसमा पठाइएको थियो।

अमेरिकी बाइडेन-ह्यारिस प्रशासनले कोभ्याक्स सुविधामा ८ करोड डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप जुन २१ मा बाइडेन-ह्यारिस प्रशासनले पाँच करोड ५० लाख डोज भ्याक्सिन वितरण गर्ने घोषणा गरेको थियो। उक्त खोप जुनको अन्तिममा बाँडफाड गरिएको थियो। यसअघि जुनको पहिलो साता दुई करोड ५० लाख भ्याक्सिन वितरण गर्ने गरी योजना तय गरिएको थियो।

र जुनको अन्तिममा पाँच करोड ५० लाखमध्ये बाँकी डोज पनि बाँडफाँड भएको थियो। अमेरिकाले विश्वलाई उपलब्ध गराउने कुल भ्याक्सिन सहयोगको ७५ प्रतिशत कोभ्याक्स सुविधामार्फत र बाँकी २५ प्रतिशत तत्कालिन आवश्यकताका आधारमा प्रत्यक्ष रुपमा देशहरुलाई सहयोग गर्ने घोषणा गरेको थियो।

पहिलो चरणमा कोभ्याक्स सुविधामार्फत अमेरिकाले १९ मिलियन खोप वितरण गर्ने जनाएको थियो। जसमध्ये ६० लाख दक्षिण तथा मध्ये अमेरिकी देश, ७० लाख नेपालसहितका एसियाली मुलुकहरु र ५० लाख अफ्रिकी मुलुकमा वितरण गर्ने जनाएको थियो।

त्यस्तै २ करोड ५० लाखमध्ये बाँकी ६० लाख डोज प्रत्यक्ष रुपमा क्षेत्रीय प्राथमिकताका आधारमा मेक्सिको, क्यानडा, दक्षिण कोरिया तथा, पश्चिम क्षेत्र र गाजा, युक्रेन, कोशोभो, हाइटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक, र यमनमा कार्यरत राष्ट्र संघीय फ्रन्टलाइन वर्करका लागि उपलब्ध गराउने घोषणा गरेको थियो।

अमेरिकाले हाल वितरण गर्ने भनेको पाँच करोड ५० लाख डोज भ्याक्सिनमध्ये चार करोड १० लाख डोज खोप कोभ्याक्स सुविधामार्फत वितरण गर्ने जनाएको थियो। जसमध्ये नेपालमा पनि १५ लाख ३४ हजार ८५० डोज भ्याक्सिन नेपाल आइपुगेको हो। त्यस्तै बाँकी एक करोड ४० लाख डोज भ्याक्सिन प्राथमिकताका आधारमा अन्य देशलाई प्रत्यक्ष रुपमा अमेरिकाले सहयोग गर्ने जनाएको छ। जसमा नेपाल भने परेको छैन।

कस्तो हो नेपाल आइपुगेको भ्याक्सिन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जोन्सन एण्ड जोन्सनको कोभिड-१९ विरुद्धको भ्याक्सिनलाई गत मार्चमा प्रयोगका लागि अन्तरिम सिफारिस दिएको थियो।

यो भ्याक्सनिलाई जान्सेन एडी २६ कोभी २.एस भ्याक्सिन पनि भनिन्छ। डब्लुएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूह (सेज)को मार्च १५ को बैठकले यो भ्याक्सिन प्रयोगका लागि अन्तरिम निर्देशिका विकास गरेको थियो। सिंगल डोज भ्याक्सिनको कोभिड-१९ विरुद्ध १४  दिनभित्र प्रभावकारिता ६६.९ प्रतिशत र ३० दिन भित्र ८५.४ प्रतिशत रहेको निर्देशिकामा उल्लेख छ। त्यस्तै अस्पतालमा भर्ना भएका केसहरुमा यसको प्रभावकारिता ९३.१ प्रतिशत रहेको उल्लेख छ।

यो खोप १८ वर्ष माथिका नागरिकलाई ०.५ एमएल प्रदान गर्न सिफारिस गरिएको छ। सिंगल डोज भ्याक्सिनलाई डबल डोजको विषयमा अहिले क्लिनिकल ट्रायल चलिरहेको छ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अन्य भ्याक्सिन लगाएकाहरुले पनि लगाउन सक्ने बताइएको छ। तर, अन्य भ्याक्सिन लगाएको १४ दिनपछि लगाउनुपर्ने छ। यो भ्याक्सिन १८ वर्ष माथिका सबै समूहमा प्रभावकारी देखिएकोले वृद्ध उमेर समूहका नागरिकलाई पनि दिन सिफारिस गरिएको छ।

त्यस्तै कोमोर्वीडीटीज भएका कोभिड-१९ को कारण मृत्युको उच्च जोखिममा रहेका समूहहरुलाई पनि यो भ्यासिन दिन सकिने सिफारिस गरिएको छ।

तर, १८ वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीमा यसको प्रभावकारिता बारे प्रभावकारी तथ्यांक उपलब्ध नभएकोले यो समूहका व्यक्तिलाई खोप नदिन डब्लुएचओले सिफारिस गरेको छ।

गर्भवती महिलामा यसको प्रभावकारिताका विषयमा प्रयाप्त तथ्यांक नभएको डब्लुएचओले जनाएको छ। गर्भवती महिलाहरु गर्भवती नभएका महिलाका तुलनामा कोभिड-१९ को जोखिममा रहे पनि यो भ्याक्सिनको गर्भावस्थामा पर्ने असरका बारेमा मुल्लांकन गर्न प्रयाप्त तथ्यांक नभएको डब्लुएचओको निर्देशिकामा उल्लेख छ। यद्यपि यो भ्याक्सिन नन रेप्लिकेटिङ भ्याक्सिन भएकोले यसको असरबारे कुनै जानकारीसमेत नरहेको उल्लेख छ। १६ सय बढी गर्भवती महिलामा एडी२६ भ्याक्सिन प्यलेटफर्म अन्य प्याथोजन जस्तो इबोलामा प्रयोग हुँदा त्यस्तो कुनै असर नदेखिएकोसमेत उल्लेख छ। यस्तो अवस्थामा गर्भवती महिलाले यो भ्याक्सिन लिएपछि जोखिमबाट बाहिर हुने सक्ने अवस्था भएमा यदि ती महिला स्वास्थ्यकर्मी रहेको र उच्च जोखिममा रहेको वा अन्य कोमोर्वीडीटीज भएको भए यो खोप दिन सकिने सिफारिस गरिएको छ।

त्यस्तै स्तनपान गराइरेका महिलाले लगाउन हुने वा नहुने भन्ने विषयमा पनि प्रयाप्त तथ्यांक छैन। तर, पनि यो भ्याक्सिन ननरेप्लिकेटिङ भ्याक्सिन भएकोले उच्च जोखिममा रहेका समूह जस्तै स्वास्थ्यकमी भए भ्याक्सिन दिन सकिने बताइएको छ। डब्लुएचओले भ्याक्सिन लगाइसकेपछि स्तनपान रोक्न सुझाव भने दिएको छैन।

यो भ्याक्सिन हाल कोभिड-१९ को संक्रमण पुष्टि भएको अवस्थामा दिन नहुने डब्लुएचओले सुझाव दिएको छ। यो भ्याक्सिन कोभिड-१९ संक्रमण भई संक्रमण मुक्त भएकाहरुले पनि लगाउन सक्ने छन्। तर, डब्लुएचओले भ्याक्सिनको खोपको पर्याप्त उपलब्धता नभएका कारण ६ महिना सम्म नलगाउन र संक्रमण नभएका समूहलाई खोप उपलब्ध गराउन सुझाब दिएको छ।

त्यस्तै यो भ्याक्सिन शरीरको तापक्रम ३८.५ डिग्री सेल्सियस भन्दा बढी भएकाले नलगाउन डब्लुएचओले सिफारिस दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell