युरो कपको फाइनलमा इटली विरुद्ध पेनाल्टीमा चुकेका इङ्ग्ल्याण्डका फर्वाड मार्कस रासफोर्ड रंगभेदी दुर्व्यव्यवहारमा परे। उनीसँगै पेनाल्टीमा चुकेका अन्य खेलाडीहरु जोर्डन साञ्चो र बुकायो साका पनि दुर्व्यवहारमा परे। फाइनल पछि सामाजिक सञ्जालमा यी तीन खेलाडी निशानामा परेका थिए।
पेनाल्टी गुमाएकोमा माफी माग्दै म्यानचेस्टर युनाइटेडका फर्वाड रासफोर्डले आफ्नो छालाको रंगको लागि माफी नमाग्ने बताए। भने: तर म जे हुँ त्यसका लागि कहिल्य पनि माफी माग्दिन।
'म त्यसदिनको प्रदर्शनलाई लिएर आलोचना स्वीकार्छु, खासमा त्यो पेनाल्टी पनि राम्रो थिएन। तर म जे हुँ र जुन पृष्टभूमिबाट आएको हुँ त्यसका लागि माफी माग्दिन।' उनले भनेका छन्।
यस प्रकरणमा इङ्ग्ल्याण्डको फुटबल फेडेरेसन र प्रधानमन्त्री बोरिस जोनसनले पनि आलोचना गरिसकेका छन्। यसमा इङ्ग्याण्ड टीमका कप्तान ह्यारी केन अझ कडा सुनिए।
'यदि तिमीहरु सामाजिक सञ्जालमा कसैलाई दुर्व्यवहार गर्छौ भने तिमीहरु इङ्ग्ल्याण्डका समर्थक होइनौ, हामीलाई तिमीहरु चाहिँदैन,' रंगभेदी टिप्पणीविरुद्ध केनले भनेका छन्।
त्यस्तै इङ्ग्ल्याण्डको मेट्रोपोलिटियन पुलिसले सामाजिक सञ्जालमा फुटबलरमाथि भएको दुर्व्यवहारबारे सतर्क भएको बताउँदै यो अस्वीकार्य भएको र यसको अनुसन्धान हुने बताएको छ।
युरो कपको फाइनलमा घरेलु टोली इङ्ग्ल्याण्ड इटलीसँग पराजित भएको थियो। निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिए पछि फाइनल खेल अतिरिक्त समयमा पुगेको थियो। तर अतिरिक्त समयमा पनि दुबै पक्षले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा इटलीले ३-२ गोलअन्तरले जित निकाल्यो। इङ्ग्ल्याण्डका मार्कस रासफोर्ड, जोर्डन साञ्चो र बुकायो साका पेनाल्टीमा चुकेका थिए।
योसँगै पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्लाण्ड युरोपियन च्याम्पियन हुन चुक्दा इटलीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ।
इङ्ग्ल्याण्ड पराजित भएसँगै आक्रोशित इङ्ग्ल्याण्ड समर्थकहरुले सामाजिक सञ्जालमा खेलाडीहरुमाथि रंगभेदी टिप्पणी गरेका थिए भने स्टेडियम बाहिर पनि तनावको अवस्था सिर्जना भएको थियो।
