काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत रहेर कोभिड-१९ भ्याक्सिनको थप १६ लाख डोज नेपाल आइपुग्ने भएको छ। जापान सरकारले कोभ्याक्स सुविधामा उपलब्ध गराउने अस्ट्राजेनेकाले विकास गरी जापानमा उत्पादन भएको खोप नेपाललाई उपलब्ध गराउन लागिएको हो।
जापानका विदेशमन्त्री कोटेगी तोसिमित्सुले खोप उपलब्ध गराउने मंगलवार घोषणा गरेका हुन्। खोप कहिलेसम्म नेपाल आइपुग्छ भन्ने विषयमा खोप वितरण गर्ने अन्तर्राष्ट्रिय संगठनले तय गर्ने जापानको विदेश मन्त्रालयले जनाएको छ।
कोभ्याक्स सुविधामार्फत वितरण हुने खोपलाई युनिसेफले डेलिभरी गर्दै आएको छ।
जापान सरकारले नेपाललाई खोप उपलब्ध गराउने निर्णयले दुई देशको मित्रतालाई झल्काएको नेपालका लागि जापानी राजदूत किकुता युताकाले बताएका छन्।
भ्याक्सिनले नेपालको कोभिड-१९ को अवस्थालाई सहज बनाउने विश्वास उनले ब्यक्त गरेका छन्।
जापानमा उत्पादन भएको खोप पहुँचका लागि दूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ।
यो खोप नेपाल आएसँगै यसअघि पहिलो डोज कोभिसिल्ड लगाएकाहरु लाभान्वित हुने छन्। यसअघि अस्ट्रजेनेकाले विकास गरी भारतमा उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको थियो। भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको खोप आयात हुन नसक्दा पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज उपलब्ध गराउने विषयमा अन्यौलता सिर्जना भएको थियो।
जापानले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई यसअघि ३०० अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर र २५ थान अल्ट्रा साउन्ड इमेज डाइग्नोस्टिक सिस्टम सहयोग उपलब्ध गराएको थियो। त्यस्तै जापानमा बनेका ६ वटा एम्बुलेन्ससमेत सहयोग उपलब्ध गराउने जनाएको छ। ती एम्बुलेन्स अक्टोबर सम्म नेपाल आइपुग्ने दूतावासले जनाएको छ।