PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अराजक ओलीको अवतरण र आशाहीन देउवाको उदय [सम्पादकीय]



पहिलोपोस्ट

अराजक ओलीको अवतरण र आशाहीन देउवाको उदय [सम्पादकीय]
फाइल फोटो

राजनीतिक अराजकताको सीमा हुन्छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर केपी शर्मा ओलीले त्यस्तो सीमा यति पटक पार गरे, जति व्याख्या गरे पनि सकिन्न। सर्वोच्च अदालतले पटक-पटक उनका कदमलाई सच्याउन आदेश दिइरहनु पर्‍यो। तर, सुध्रिने लक्षण कुनै कोणबाट पनि ओलीले देखाएनन्। अन्तत: अदालतलको परमादेशबाट ओलीको सत्ता मिल्कियो। बालुवाटारबाट बहिर्गमन अघिका आखिरी शब्दहरूमा ओलीले जे जति व्याख्या गरे पनि उनी मुलत: गलहत्याएर मिल्काइएका त्यस्ता प्रधानमन्त्री हुन् जो नैतिकताका धरातलबाट पटक-पटक च्युत भइरहे। ओली अराजकताको मात्र अवतरण भएको भए, व्यक्तिमात्र पराजित हुन्थ्यो। तर, उनले संविधानको रक्षा गर्ने भूमिकामा रहेको राष्ट्रपतिजस्तो पदको गरिमा समेत निमिट्यान्न पार्न कुनै कसर छाडेनन्, आफ्नो निहीत स्वार्थका लागि। त्यसमा राष्ट्रपतिको भूमिका पनि पूर्णत विवादित रह्यो। प्रधानमन्त्री रहँदा ओलीले जतिसुकै प्रगति गरेको विवरण सुनाए पनि उनी मुलुकका लागि एक असफल प्रयोग हुन्। प्रधानमन्त्रीका रुपमा चीर स्थायी रुपमा चिनिन उनले कुनै उल्लेख्य काम गर्न सकेनन्।

पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन, मनपरी नियुक्ति र भजन मण्डलीको संस्थाकरणमा जति उनी सक्रिय रहे, त्यतिनै चरम विवादित संस्था र व्यक्तिको निहीत स्वार्थका लागि नीतिगत भ्रष्टाचारमा। सांसद अपहरणदेखि, कोरोना भाइरसविरुद्ध खोप ल्याउँदा कमिसन प्रकरणसम्म ओली जोडिइरहे।

पछिल्ला वर्ष त पूरै समय उनी घर झगडामै अल्झिए। ओलीको नेतृत्वमा नेकपा एमाले अहिले कुन अवस्थामा पुग्यो? त्यसले उनको नेतृत्व क्षमता पूरै प्रदर्शन गर्छ। पार्टीको गृह कलहलाई मिलाउन नसक्ने उनले सिंगो मुलुकलाई गति दिन कसरी सक्थे, शिवाय राजनीतिक स्टन्ट। त्यसैले पछिल्ला दिनमा प्रधानमन्त्री ओली मुलुकका लागि नकार्न नसकिने बाध्यता मात्र बनेका थिए।

सबैभन्दा शक्तिशाली सरकारको नेतृत्व गरेर सबैभन्दा निरीह तरिकाले च्यूत हुनु आफैँमा दुखद् हो -स्थिरताका लागि।

व्यक्तिगत महत्वकांक्षाको चढावले जब मानिसलाई 'मानिस'भन्दा माथि हुँ भन्ने पुर्‍याउँछ, त्यतिखेरबाट नै हो उसको अवतरणको थालनी हुने। ओली जसरी उचाईमा चुलिए, त्यसैगरी तलतिर गिरेका छन्। उनलाई यसरी गिराउन योगदान तिनीहरुकै छ जसले उनका हरेक गलत हर्कतलाई लिएर वाहवाहीमात्र गरे। तालीमात्र बजाए। तिनैलाई देखेर ओलीमा आफैँ सर्वेसर्वा भएको भ्रमले डेरा जमाइरह्यो। ओली यति हदसम्म खराब हुनुमा उनका वरपर रहेका मानिसहरुको भूमिका छ। तिनैले ओलीलाई मानिसमात्र रहन दिएनन् र गिर्न बाध्य बनाए।

अराजक ओलीको अवतरणले जति सन्तुष्टि दिन्छ त्यति उत्साह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियुक्तिले दिएको छैन। अराजकतामा ओली जति नभए पनि देउवा पनि नेपाली राजनीतिमा आशायोग्य पात्र होइनन्। उनले जीवनमा सबैभन्दा गतिलो काम गरेको भनेकै पछिल्लो पटकको तीन तहको निर्वाचन हो जसमा उनकै दल नराम्ररी पछारियो। त्यही निर्वाचनले तीनै तहमा नेकपा एमाले र नेकपा माओवादीलाई बलियो रुपमा उभ्यायो –स्थिरताको सन्देश मिल्यो। तर, लगातार रुपमा ओलीको नालायकी यसरी प्रखर भएर आयो कि पराजित भएर घर न घाटको बनेको नेपाली कांग्रेस सत्ताको नेतृत्वमा फेरि उदाएको छ। ‌ओलीको अराजकताका सामु नेपाली जनताले अब कम्तिमा एकपटक बारम्बार असफल प्रमाणित भएका व्यक्ति सहनुपर्ने स्थिति बनेको छ। त्यसैले, शेरबहादुर देउवालाई एउटा गजब फाइदा पनि छ। उनीप्रति कोही पनि आशावादी छैनन्। आशा नै नभएको मानिसबाट थोरै सुधार भयो भने त्यसले दिने सन्देश फरक हुने छ। यो चाहिँ अवसर हो।

पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाका सामु अहिले पुरानो पहिचान फेर्ने मौका आएको छ। तर, उनमा पनि ओलीकै जस्तो प्रवृत्तिहरु हावी भयो भने चाहिँ देशका लागि अर्को दुर्भाग्य हुनेछ। त्यसैले, ओलीजस्तै हुक्के/ढोके र चाकरीबाजको सीमित घेरा र थपडी बजाउने सीमित झुन्डबाट मात्र घेरिए भने देउवापनि पतनकै यात्रातिर लाग्नेछन्। नेपालको राजनीतिक इतिहासमा संख्याको हिसाबले धेरै पटक प्रधानमन्त्री बनेको रेकर्ड बाहेक जनताले सम्झनयोग्य उनी रहने छैनन्। देउवा आफैँ र उनको पार्टी नेपाली कांग्रेसका नेताहरुले पनि आशाहीन नेतृत्वबाट थोरै भए पनि अपेक्षा जगाउने योगदान पुर्‍याउन आवश्यक छ। व्यक्तिका रुपमा ओली र देउवामा अन्तर नदेख्ने जनमत ठूलो छ, देशमा। त्यस्तो जनमतलाई परिवर्तन गर्न आवश्यक छ। ठूलो सुधारको अपेक्षा नभए पनि मुलुक थप बिग्रहतिर जान रोकियो भने पनि अहिलेका लागि राहतको अवस्था हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell