घर मुनिको पसलमा गौंथलीले गुँड लगायो। त्यो गुँड कुनै पुस्तकको पाठजस्तो बन्यो रोचक दाहालका लागि। हरेकपटक त्यस गुँडलाई देखेपछि घण्टौं घोत्लिन्थे उनी। किनकि त्यतिबेला तनावमा थिए। उनलाई आफू आमाबुवामाथि निर्भरजस्तो लाग्थ्यो। जुन घरमा वर्षौ बिताए त्यो आफ्नो हो कि होइन? भन्ने प्रश्नले पिरोलेको थियो।
गौँथलीलाई आफूसँग तुलना गर्न थाले। 'अरुको ठाउँमा आएर गुँड लगाएको गौंथली र आफूमा थुप्रै समानता भेटें मैले,' रोचक भन्छन्। त्यो समानताको गीत लेखे 'गौंथली।'
यो घर तिम्रो न मेरो, बाटो लाग्नै पर्यो…
कसरी जन्मयो 'पहेँलो बत्ती मुनि' ब्यान्ड?
प्रवेश थापामगर, रोचकका नर्सरी पढ्दाको साथी। स्नातक सकिँदासम्मको साथ। संगीतप्रतिको झुकावले बाँधिराखेको थियो उनीहरूलाई। सन् २०१५ स्नातकपछिको समय गीतार बजाएर बिताए उनीहरूले। त्यतिबेला देशमा लोडसेडिङको हुन्थ्यो।
कुश केसी र रोचक दाहाल
कहिले त दिनमै १८ घण्टा अध्यारो भोग्नु पर्ने सास्ती। हरेक साँझ संगीत अभ्यास गर्दागर्दै साँझ पर्थ्यो। लोडसेडिङकै कारण मैनबत्ती बाल्नु पर्थ्यो। प्रवेशको कोठाको र्याकामाथि हरेक साँझ उस्तैगरी उभिन्थ्यो बलिरहेको मैनबत्ती। त्यस माहोलमा बेग्लै आनन्द महसुस गर्न थाले उनीहरूले। बिस्तारै मैनबत्तीको पहेँलो रङ्गले रोचकको दिमागमा खोइ कस्तो प्रभाव पार्यो। त्यसपछि उनले कुनैदिन बन्ने आफ्नो सांगीतिक ब्यान्डको नाम जुराए 'पहेँलो बत्ती मुनि।'
'लोभ पो लाग्यो'
रोचक दाहाल काठमाडौंमै जन्मिए अनि हुर्के। ललितपुर माध्यामिक विद्यालयमा संगीतको कक्षा अनिवार्य बस्नुपर्थ्यो। त्यसैले सरगम सिक्ने मौका विद्यालयमै पाए उनले। विद्यालयमै हो उनले पहिलो पटक सयौं दर्शकको अघिल्तिर उभिएर गीत गाउन थालेको। तर, उनीसँग गायक नै बन्छु भन्ने कुनै योजना भने थिएन।
योजना नभएपनि हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा पढ्दा उनी कलेजकै एक ब्यान्डमा आवद्ध भएका थिए। पाँच जनाको त्यस ब्यान्डले कलेजकै कार्यक्रमहरूमा प्रस्तुति दिन्थे। रमाइलोका लागि खुलेको त्यस ब्यान्डले एक पटक 'कलेज ब्यान्ड' प्रतियोगितामा भाग लिएछ। प्रतियोगिताको नियम थियो, एउटा ओरिजिलन र एउटा कभर गीत गाउन पाउने। त्यस प्रतियोगिताका लागि रोचकले शब्दहरू कोर्न थाले।
गीत तयार भएपछि ब्यान्डले ओरिजिनल गीत गाएर नै प्रस्तुति दियो। प्रतियोगिता जितेन तर प्रोत्सहान स्वरुप केही रकम पायो। गीत गाएर भएको त्यस उपलब्धी हौसला बन्यो। किनकि त्यसअघि गीत गाएर पुरस्कार पाएका थिएनन् ब्यान्डका कसैले।
आफैँले लेखेको 'विचित्र', 'ऐना र दाग' गीत गाएपछि आफू लोभी हुन थालेको बताउँछन् रोचक। भन्छन्, 'आफै गीत लेखेर गाउँदा त पैसा पो पाइँदो रहेछ भन्ने लाग्यो। आफ्नो गीतको तारिफले गर्दा पनि लोभ लाग्न थाल्यो। कसैले सुने पनि नसुनेपनि आफ्नै गीत गाउँछु भन्ने सोच आयो। मिहिनेत बढ्दै गएपछि म संगीतप्रति गम्भीर हुन थालें।'
सन् २०१३ तिर रोचकले इसियस म्यागेजिनमा समाचार लेख्न थालेका थिए। त्यस काम उनका लागि संगीतसँग अझै नजिक हुने बाटो बन्यो। समाचार संकलनका लागि सांगीतिक कार्यक्रमहरूमा पुग्न थाले। संगीतकार एवं गायकहरूसँगको निकटताले फाइदै गर्यो।
म्यागेजिनमा काम सुरु गरेको दुई वर्षपछि अर्थात् सन् २०१५ को डिसेम्बरबाट सुरु गरे रक ब्यान्ड 'पहेँलो बत्ती मुनि'। गीतारिस्ट रहे उही उनको मिल्ने साथी प्रवेश मगर र विक्रम बस्याल। ब्यासिस्ट दिपेश कुँवर, ड्रमर किरोज महर्जन र गायक तथा रचनाकार रोचक दाहाल। पाँच जनाको ब्यान्डले सन् २०१६ को मेमा पहिलो गीत सार्वजनिक गरे। 'बरी लै' बोलको त्यस गीत रोचकले कलेज पढ्दा नै लेखेका हुन्।
त्यस गीत लेख्दा रोचक तनावमा थिए। आफूमाथि विश्वास नभएको समय थियो त्यो। आफू मायाको लागि योग्य छैन भन्ने सोच हावी थियो। कसैले माया गरे पनि फर्काउन सक्दिनँ भन्ने महसुस गर्थे। त्यही भावलाई शब्दमा उतारेर बनेको गीत युट्युबमा २० हजारले हेर्नु नै ठूलो कुरा थियो उनीहरूका लागि। किनकि ब्यान्डको लक्ष्य युट्युबमा भ्यूज कमाएर ट्रेन्डिङमा आउने थिएन। तर पनि 'बरी लै' को भिडियोले दर्शक कमायो र हौसला पनि।
एल्बम निकाल्ने योजना बन्दाबन्दै समूह टुक्रियो, ब्यान्ड बनेको एक वर्ष पूरा नहुँदै। ड्रमर र ब्यासिस्ट विदेशिनु पर्ने भएकाले। त्यसपछि जोडिए जुम्ल्याहा दाजुभाइ लब र कुश केसी। लब ड्रमर रहे र कुश ब्यासिस्ट। केही समय रोकिएको ब्यान्डका काम फेरि सुरु भयो। उनीहरूको आगमनपछि ब्यान्डले पहिले नै केही कार्यक्रममा गाइसकेको गीत 'विचित्र' सार्वजनिक गरे। युट्युबमार्फत्, शब्दमा केही हेरफेरसहित।
बनिसकेको गीत युट्युबमार्फत् दर्शकसम्म पुर्याउनु 'पहेँलो बत्ती मुनि' ब्यान्डको पहिलो रोजाइ होइन। उनीहरू प्रत्यक्ष प्रस्तुतिमा जोड दिन्छन्। स्टेज कार्यक्रममा जानु र दर्शक/स्रोतासँग संगीतमार्फत् जोडिनुमा रमाउँछन् उनीहरू।
'लाइभ शोको छुट्टै चार्म हुन्छ। शोमा गीत सुनेजस्तो मज्जा युट्युबमा मिल्दैन। लाइभ शोमार्फत् मान्छेसँग प्रत्यक्ष अन्तक्रिया हुन्छ। मान्छे कमाइन्छ। त्यसरी नै यो ब्यान्डले अडियन्स बटुलेको हो। जसको प्रभाव दीर्घकालिन हुन्छ। जुन भाइरल नहुनुको फाइदा पनि हो,' रोचकले प्रष्ट्याए।
कमाइ र भीडभन्दा पर रहेकाले ब्यान्डका सबैजना आर्थिक रुपमा ब्यान्डमाथि निर्भर छैनन्। ब्यान्डका गीतहरू भने स्टेज शो गर्न देशभर पुगेको पैसाले नै गराउँछन्। सुरुसुरुमा त उनीहरू कन्सर्टमा नि:शूल्क सहभागी भए, खाजाको भरमा। सुरुवाती दिनमा त कन्सर्ट गरेबापत् ४ हजारमा चित्त बुझाउनु पर्ने समय पनि थियो।
गीतमा फरकपन
रोचकमा पश्चिमी संगीतको प्रभाव र फरकपन पस्कने हुटहुटी। त्यसैले शास्त्रिय संगीत र पश्चिमी संगीतलाई संयोजन गर्न थाले। व्यक्तिगत भोगाइलाई गीतमार्फत् पोख्छन् उनी।
गीतलाई राम्रो कसरी बनाउने? भन्ने सल्लाह चाहिँ समूहमै छलफलमा हुन्छ। स्रोताले सुनिरहेभन्दा फरक बनाउन समय र मिहिनेत लगाउँछन् त्यसैले त वर्षौ पूरानो गीत ढिला युट्युब रिलिज हुन्छ।
शब्द र संगीतबाहेक ब्यान्डका सदस्यहरूबिचको राम्रो संयोजनले गीतमा अझै फरकपन आउने गरेको कुशको तर्क छ।
अहिले त ब्यान्ड नै रोचकका लागि सिक्ने पाठशाला बनेको छ। अनि ब्यान्डका अरु सदस्यहरू गुरु। उनीहरूबिना आफ्नो कुनै अर्थ नरहेको बताउँछन् उनी।
पाँच वर्षको अन्तरालमा आफूहरुले नेपाली संगीत क्षेत्रमा थोरै भएपनि प्रभाव पारेको मान्छन् उनीहरू। ट्रेन्डिङमा आएनन् तर स्रोताको सम्झनामा निकै पछिसम्म आउने विश्वास छ उनमा। भन्छन्, 'हाम्रो गीतहरू न व्यवसायिक छन् न त बजाउने खाले नै। तर, जसले मन पराउँछ त्यसले महसुस गरेर नै मन पराएको हुन्छ।'
ब्यान्ड गीत ‘लोरी’ रोचकका लागि निकै खास छ। फिल्म र पुस्तकबाट उनले लोरी शब्द सुनेका थिए। भान्जी जन्मिएपछि लोरी नै उपहार दिने योजना बनाए। र, कोर्न थाले गीत। त्यसपछि बन्यो 'लोरी।'
'विचित्र' चाहिँ उनको परिवारभित्रको परिवेश चित्रण हो। जहाँ परिवारका सदस्यहरू फरक फरक धर्मप्रति आस्था राख्थे। धर्मकै कारण विचार नमिल्नु र कलह हुनु उनका लागि चित्त बुझ्दो रहेन। त्यहीँ तनावबिच जन्मेको हो 'विचित्र।'
यस ब्यान्डको युट्युब च्यानलमा नौ वटा गीत छन्। जसमा बरि लै, विचित्र, लोरी, कृपया, टाटेपाटे भित्ता, ऐना र दाग, किन हो किन, अस्थिर र गौँथली हुन्। यी गीतको भिडियो बनाउन प्रस्ताव गर्नेहरूसँग कुराकानी हुन्छ समूहको। त्यसरी प्रस्ताव लिएर आउनेलाई गीत लेख्नुको पृष्ठभूमि र गीतको भाव बताउँदैनन्। बरु उल्टै प्रश्न गर्छन् – गीत सुनेर के बुझ्नु भयो?
त्यसपछि भिडियो बनाउनेको विचार र गीतको अर्थ कसरी एकठाउँमा ल्याउने भनेर छलफल हुन्छ।
संगीतमा विकृति आएको छैन
शब्दले संगीतमा विकृती नल्याउने बताउँछन् रोचक। अभिव्यक्ति पस्कने क्रममा राम्रो र नराम्रो दुबै पाटो आउनु आवश्यक रहेको उनको तर्क छ।
'शब्दलाई विकृति भन्न मिल्दैन। लेख्दा कहिले राम्रो त, कहिले नराम्रो निस्कन्छ र केही सिर्जनशील पनि। विकृती भनेको हाम्रो सोचाइ र बुझाइ हो। नराम्रो शब्द प्रयोग भयो भन्दैमा त्यसको अर्थलाई नराम्रो बनाउनु हाम्रो मुर्खता हो,' दाहाल आफ्नो विचार राख्छन्।
पुराना गीतहरूका शब्दले द्विअर्थ बोक्ने भएपनि ती शब्द र संगीत मानिसले आजसम्म सम्झनुलाई उदाहरणका रुपमा पेश गर्छन् उनी।
परिवारले संगीत छाड्न दबाव दिन्थे
पढाईमा अब्बल थिए रोचक। बुवाआमा छोरो डाक्टर या सरकारी जागिरे भइदिए हुन्थ्यो सोच्थे। तर रोचक भने संगीततिर लागे। सुरुमा परिवारले केही महिनाको जोस होला भन्ने ठाने। वास्ता गरेनन्। छोरा संगीतमै लागेको देखेपछि उनका परिवारले यस क्षेत्र छोड्न दवाव दिन थाले। पैसा र भविष्य देखेका थिएनन् उनीहरूले।
सन् २०१७ मा उनीहरुको ब्यान्डको 'बरी लै' गीत हिट्स एफएम म्युजिक अवार्डको छनोटमा परेछ। जहाँ पुरै ब्यान्डले नै आफ्नो प्रस्तुती दिएका थिए। कार्यक्रम नेपाल टेलिजनबाट प्रसारण भएको थियो। छोरा टिभीमा देखिनु रोचकका आमाबुवाका लागि ठुलै कुरा थियो। ब्यान्डको गीति संग्रह 'अस्थिर'ले उत्कृष्ट अवार्ड जित्यो। त्यसपछि आफ्नो छोरामा पनि कला रहेछ भन्ने उनको परिवारले बुझ्न थाल्यो। त्यसपछि कुनै तगारो खडा गरेनन्। अहिले त रोचककी बहिनी रचनासमेत यसै क्षेत्रमा छिन्।
'पहेँलो बत्ती मुनि' ब्यान्डले सोचेको भन्दा बढी माया र सहयोग पाएको बताउँछन् रोचक। भन्छन्, 'हामी निकै भाग्यमानी छौँ। गीत सुनेपछि कसैले भिडियो बनाइदिन्छु भने त, कसैले रेकर्डिङ गर्न सहयोग गरे। त्यसैले यो ब्यान्डमाथि आउनुको पछाडि धेरै जनाको हात छ।'
हराउन जन्मेको ब्यान्ड होइन
इन्टरनेटको विकासपछि संगीत क्षेत्रमा निकै परिवर्तन आएको बताउँछन् रोचक। साथै सोलो गीत निकाल्ने गायकहरू ह्वात्तै बढेको देखेका छन्। तर, एक्लै गीत निकाल्दैमा त्यसलाई 'सोलो' गायन भन्न नमिल्ने उनको तर्क छ।
'गीत बनाउँदा एकजनाको मात्र भूमिका हुँदैन। गीत गाउँदा मादल बजाउने, बिट बनाइदिने, सारंगी र ड्रमम बजाइदिने सबैको उत्तिनै खाँचो पर्छ। पृष्ठभूमिमा काम गर्नेको महत्व नबुझ्नु हाम्रो कमजोरी हो। स्टेजमा प्रस्तुति दिँदा सोलो होला। तर, एक्लै गीत गाउँदैमा म सोलो मान्दिनँ। सबै चिज अरुले गर्छ भने त्यो कसरी सोलो भयो र?,' उनले प्रश्न गरे र ब्यान्डको महत्व बुझाए।
यस ब्यान्डलाई अन्य संगीतकर्मी वा संस्थामार्फत् सहकार्यको प्रस्ताव आउँछ तर सीमित प्रोजेक्ट बाहेकका काममा हात हाल्न रुचाउँदैनन्। ब्यान्डको प्रत्यक्ष प्रस्तुति र आफ्नै गीतहरू बनाउनमा तल्लिन छन्। कोरोनाको दोस्रो लहर आउनुभन्दा अघि पनि उनीहरूले धरान, दमक, विराटनगर र इलाम गएर प्रस्तुति दिएका थिए।
यसरी सिर्जनशीलता र कलात्मक प्रयोगमा रमाएका त छन्। तर, संगीत क्षेत्रबाट हुने कमाइबारे भने सन्तुष्ट सुनिँदैनन्। संगीतमा मात्र निर्भर भएर जीवन चलाउन गाह्रो रहेको रोचक र कुश दुबैको बुझाइ रह्यो। पहिलेको तुलनामा संगीत क्षेत्र धेरै व्यवसायिक बन्यो। तर, अझै पनि संगीत कर्म गरेरै जीवन चलाउन मुश्किल भएको तर्क अघि सार्छन्। 'एकैचोटी भाइरल हुने अनि हराउने हाम्रो ब्यान्डको उद्देश्य होइन। बरु बिस्तारै राम्रो काम गरेर दिर्घकालसम्म जाने सोच छ। त्यसैले पनि सिर्जनशिलतालाई पैसासँग तुलना गर्न मन लाग्दैन,' दाहालले भने।
हाल नेपालमा ब्यान्डको संख्या केही कम छ। तर, संगीत क्षेत्रमा सामूहिक प्रयासको 'ब्यान्ड' संस्कार नहराउने बताउँछन् रोचक। त्यही संस्कारलाई जीवन्तता दिन लागि परेको छ 'पहेँलो बत्ती मुनि।'
सन् २०२० मा यस ब्यान्डलाई विदेशबाट प्रस्तुतिको प्रस्ताव आएको थियो। तर, कोरोना भाइरस महामारीका कारण जान पाएनन्। अवस्था सामान्य हुँदै जाँदा पुन: ती अवसरहरूका ढोका खुल्नेमा विश्वस्त छन्। हालका लागि भने नयाँ गीत युट्युबमार्फत् सार्वजनिक गरेका छन्। 'गौँथली' बोलको गीत दुई साता पुग्दा पनि नेपालको युट्युब ट्रेन्डिङमै छ। गीतले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
गीत रोचकले अन्यौलतामा अल्झदा लेखेका थिए। गौंथलीसँग आफूलाई तुलना गरेर। तर, गीतको भिडियोले भन्ने कथा विल्कुल फरक छ। किनकि रोचक भिडियो बनाउनेलाई कहिले पनि गीतको कथा भन्दैनन्। रोचकले भनेजस्तै, गीत सुनेपछि सबैले फरक बुझ्छन्। फरक बुझाइ र विचारहरूले नै त जन्माउँछ फरक कथा र सिर्जनशीलता।