काठमाडौं : काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पछिल्लो निषेधाज्ञा खुकुलो भएको छ। केही निश्चित क्षेत्र बाहेक अन्य सबै क्षेत्रलाई भने सञ्चालन गर्न दिइएको छ।
अहिले विद्यालय, होटेल, रेष्टुरेष्ट लगायत भिड हुने क्षेत्रमा मात्र निषेधाज्ञाको प्रभाव छ। अन्य जिल्लाहरूमा पनि निषेधाज्ञाको अवस्था पनि त्यस्तै छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोलि रातिबाट सकिदैंछ। त्यसपछि कुन मोडालिटीमा निषेधाज्ञा लग्ने भन्ने विषयमा कुनै छलफल हुन सकेको छैन।
मंगलबारबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेका छन्। नयाँ मन्त्री थपिने क्रम जारी रहेको छ। मंगलबार चार मन्त्रालयले मात्र मन्त्री पाएको छ। गृह, अर्थ, ऊर्जा, कानुन मन्त्रीले शपथ खाइसकेका छन्।
सरकार परिवर्तन र मन्त्री समेत नयाँ हुँदा जिल्ला प्रशासन कार्यालय कसरी निषेधाज्ञाको मोडालिटी तयार पार्ने भन्ने विषयमा अन्यौल देखिएको छ।
'नयाँ मन्त्री आउनु भएको छ। उहाँको पनि केही धारणा होला। आज मन्त्रीसँग भेट भएपछि बुझेर थप निषेधाज्ञाको मोडालिटी तयार हुन्छ,' एक प्रमुख जिल्ला अधिकारीले भने।
त्यस्तै लामो समयदेखि निषेधाज्ञा भए पनि पछिल्लो केही दिनमा काठमाडौं उपत्यकाभित्र संक्रमितको सङ्ख्या घट्न सकेको छैन। उपत्यकाभित्र दैनिक ३ सयदेखि ५ सयको बिचमा संक्रमित थपिरहेका छन्। त्यसैले पनि अबको मोडालिटी कस्तो बनाउने भन्ने अन्यौल रहेको छ।
'स्वास्थ्य मन्त्रालयसँग पछिल्लो अवस्थाको जानकारी लिएर के गर्ने भन्ने निर्णयमा पुग्छौँ। केही समय अहिलेको झैँ अवस्थामा निषेधाज्ञा जारी राख्ने की भन्ने पनि छ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।
अन्य क्षेत्र खुल्ला हुँदा होटेल तथा रेष्टुरेष्टलाई टेकअवे सेवा मात्र दिएको भन्दै तत्काल खोल्न होटेल व्यवसायीहरूले माग गरेका छन्।
काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यस विषयमा समेत अनौपचारिक छलफल गरेका छन्। नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। आगामी चैत महिनासम्म सबैलाई कोरोना विरुद्धको खोप लगाइसक्ने समेत उनको मन्त्रिपरिषद्ले घोषणा गरिसकेको छ।
साउन ४ गतेदेखि अमेरिकाको सहयोगमा आएको १५ लाख खोप लगाउन सुरु गरिदैंछ। यसबाट देशभरका ५ प्रतिशत मानिस लाभाम्वित हुनेछन्। जसले गर्दा पनि अब संक्रमण दर कम हुनसक्ने विज्ञहरु बताउँछन्।
