काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन्।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीसँगै चार मन्त्री तथा पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। दर्तामध्ये केही अदातलमा हाजिर भइसकेका छन्।
'उहाँ आज १० बजे उपस्थित हुनुभएको छ। अब थुन्छेक बहस हुनेछ,' विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले भने।
अदालतले गच्छदारविरुद्ध जारी गरेको म्याद तामेलीको समय सकिएको थियो। अदालतले पछिल्लो समय उनीविरुद्ध ३० दिनको हदम्याद जारी गर्दै उपस्थित हुन भनेको थियो। तर, गच्छदार म्याद सकिसक्दा पनि अदालतमा हाजिर भएका थिएनन्। यसअघि पनि अदालतले गच्छदारलाई उपस्थित हुन १५ दिनको म्याद दिएको थियो।
उनीविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ। ललिता निवास प्रकरणमा विशेष अदालतले दीप बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बस्न्यात सर्वोच्चको आदेशपछि पाँच लाख धरौटी बुझाएर छुटिसकेका छन्। गच्छदारको भने अदालत हाजिर भएसँगै अब थुनछेक प्रक्रिया अघि बढ्नेछ।
