PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीको बालुवाटारदेखि बालकोट पुग्दाको तडकभडक, बार्दलीबाट सन्देश : माधव नेपाललाई पार्टीमा फर्कने ठाउँ छैन

प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीको बालुवाटारदेखि बालकोट पुग्दाको तडकभडक, बार्दलीबाट सन्देश : माधव नेपाललाई पार्टीमा फर्कने ठाउँ छैन

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं : बुधवार मध्यान्ह बालुवाटार वरिपरिको वातावरण शान्त थिएन। चोक-चोकमा सुरक्षाकर्मी बाक्लो रुपमा तैनाथ थिए भने सवारी चाप एकाएक बढेको थियो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिदाइका लागि उनका समर्थकको भिडभाड व्यवस्थापन गर्नु प्रहरीका लागि चुनौति बन्यो। ओलीलाई स्कर्टिङ गर्न सवारी साधन सहित बालुवाटार पुगेका ओलीका समर्थकको भिडभाडका कारण मुल सडकको सवारी केही बेर रोकियो। ओली बालुवाटारको गेटबाट निस्केसँगै झरी शुरु भएको थियो।

झरीमा रुझ्दै उनको पक्षमा नारा शुरु भए- ‘केपी बा आइ लभ यू’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’। नारा सुनेर ओली भने दंग थिए। निस्कदै गर्दा गाडीको झ्यालको सिसा खोलेर ओलीले मुस्कान सहित समर्थकका लागि हात हल्लाए र बालुवाटारबाट बाहिरिए।

अदालतको आदेशबाट अपदस्थ भएका ओलीले बाध्य भएर बालुवाटार छाडेको भए पनि समर्थकले भने ओलीको बहादुरी ठानिरहेका थिए। ओलीले बालुवाटार सजिलै छाडेका भने होइनन्। सर्वोच्च अदालतको आदेशले अपदस्थ भएपछि बाध्य भएर ओली बालुवाटरबाट ‘ब्याक’ हुनुपरेको हो।

बालुवाटारको बसाइ लम्बाउन ओलीले कसरत नगरेका होइनन्। दुई पटक प्रतिनिधि सभा विघटन र आफ्नै पार्टी एमालेमा विभाजन सम्मको अवस्था ल्याउनुको उद्देश्य पनि बालुवाटारको बसाइ लम्बाउन थियो।

प्रचार नचाहने ओलीको तडकभडक

ओलीले मंगलवार प्रधानमन्त्री पदबाट हट्नुअघि प्रधानमन्त्रीका रुपमा दिएको अन्तिम सम्बोधनमा आफूलाई प्रचार नचाहिने बताएका थिए। तर, बुधवार उनी बालुवाटारबाट बाहिरिदा ठीक उल्टो देखियो। सडक कब्जाको शैलीमा सवारीको लस्कर र ‌गाडीमा ठड्याइएका ओली भन्दा पनि अग्ला प्रतिमिले उनकै अघिल्लो दिनको दाबीलाई झुटो साबित गर्‍यो।

ओलीका पक्षमा नारा यसरी घन्किरहेका थिए कि मानौँ उनी सरकारबाट बाहिरिदा पनि स्वेच्छाले पद त्यागेर निस्केका हुन्। ओली सरकारबाट बाहिरिने बित्तिकै देश तहस नहस हुन्छ भन्ने बुझाइ त ओली समर्थकका लागि सामान्य नै भयो। उनीहरुले र्‍यालीमा पनि त्यस्तै खालका क्रियाकलाप देखाए। र्‍यालीको अग्रपंक्तिमा थिए ओली निकट नेता सांसद महेश बस्नेत। आफ्नै मोबाइलबाट लाइभ गर्दै उनले ओलीका पक्षमा भाषण दिइरहेका थिए।

‘पानीको प्रवाह छैन। ओली बालुवाटारबाट जनतमका कारण बाहिरिएका होइनन्। अदालतको परामादेशले बाहिरिएका हुन्। ओली राष्ट्रवादी हुन्। फेरी जनमत लिएर बालुवाटारमा ओलीलाई चाडै फर्काउँछौ,’ उनले र्‍यालीलाई सम्बोधन गर्दै भने।

तारो बने माधव नेपाल 

नेकपा (एमाले) भित्रको विवाद मिलेको छैन। कार्यदलको सहमतिलाई वरिष्ठ नेता माधव कुमार नेपालले मानेका छैनन। यद्यपी नेपालले पार्टीमा फर्किएको र विपक्षी गठबन्धन छोडेको घोषणा भने गरिसकेका छन्।

पार्टीको विवाद मिलाउनका लागि एमालेका नेताहरुले दिनरात वार्ता र बैठक गरेर सहमति गरेको भए पनि ओलीको र्‍यालीमा त्यसको कुनै गुन्जायस भने देखिएन। बरु, ओलीका समर्थकले ‘माकुनेलाई फासी दे’ सम्मका नारा लगाए।

उनीहरुको माग थियो- नेपाललाई माफि होइन पार्टीबाटै निकाल्नु पर्छ। हुन त ओलीले यसअघि नै नेपालसहितका उनी पक्षका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेर त्यो कारबाही फिर्ता पनि लिइसकेका छन्। नेपालको आलोचना गर्न असोभनीय टिप्पणी गर्नसम्म ओली पछि परेका छैनन्।

उनले पार्टीका बैठकहरुमा नेपाल भन्दा बेइमान अर्को मान्छे नभएको भन्ने सम्मको अभिव्यक्ति दिएका थिए। त्यही शैलीलाई हुनुपर्छ उनका समर्थकले ग्रहण गरेका थिए।

उनीहरुको तारो नेपाल त बने नै सँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि गाली गलौजको सिकार बने।

‘प्रचण्ड तेरो पाराले, दुख पाए साराले। आर्य घाटले के भन्छ, देउवा ल्या भन्छ,’ यस्तै नारा घन्काए ओली समर्थकले।

ओलीको घर पुग्नै सकस

ओली बालुवाटारबाट निस्किएसँगै शुरु भएको वर्षा उनी घर नपुगुन्जेल रोकिएन। बरु बिस्तारै पर्न थालेको पानी बेस्सरी पर्न थालेपछि ओलीका समर्थले भिजेरै नारा लगाइरहेका थिए।

एकातिर दर्किरहेको पानी र अर्कोतिर र्‍यालीले बढाइरहेको भिडभाडले ओलीको घर पुग्न सजिलो भने भएन। भक्तपुर लोकन्थली चोकसम्मको सडक फराकिलो भए पनि ओलीको घर जाने सडक साघुरो भएकाले ओलीको र्‍याली व्यवस्थापन गर्न ट्राफिकलाई सकस पर्‍यो। लोकन्थली चोकबाटै शुरु भएको जाम ओलीको घरसम्मै पुगेको थियो।

बार्दलीबाट भाषण

ओली फर्कने भनेपछि सडक छेउछाउमा घर भएका मानिसरु छत/झ्यालबाट हेरिरहेका देखिन्थे। कतिले ओलीको स्वागतको लागि हात हल्लाए त कतिले ओलीको र्‍यालीको रमिता हेरे।

तर, ओलीको छरछिमेकमा भने चहलपहल राम्रै थियो। ओलीको स्वागतका लागि सडक किनारमा केही मान्छेहरु बसिरहेका थिए भने उनको घर तिर जाने गल्लीको सडकको दायाँबायाँ कलस स्वरुप भरी गाग्री राखिएको थियो।

ओली पुगेपछि उनी सबैभन्दा पहिला बार्दलीमा गए र हात हल्लाए। शुरुमा केही नबोलेका ओलीले आफ्नो प्रशंसामा भइरहेको हुटिङ सुनि मात्रै रहे। समर्थकले घर वरिपरि खचाखच भएपछि भने ओलीले भाषण थाले।

उनको भाषणमा आफू पदबाट च्युत भएर फर्किएको संकेत दिने खालको थिएन। बरु, फेरी चाँडै जनमत प्राप्त गरेर बालुवाटार फर्कने ओलीले उद्घोष गरे। जनमतले नभई अदालतको परामादेशले बालकोट फर्किएको उनको भनाइ थियो।

‘सधैँ अदालतले परमादेशबाट प्रधानमन्त्री बनाइदिदैन। हामी फेरी जनमत लिन्छौँ। हामीले गरेका कामले निरास हुनुपर्ने अवस्था छैन, हामीले विकास निर्माणका काम धमाधम गरेका थियौँ, ति अलपत्र पर्न दिदैनौँ’, ओलीले भने।

‘माधव नेपाललाई पार्टीमा फर्कने ठाउँ छैन’

ओलीको बालकोटको घर अगाडि ओलीका पक्षमा नाराबाजी गरिरहेका ओलीका समर्थक चाहन्थे- ओलीले वरिष्ठ नेता नेपालको चर्को आलोचना गरुन। उनीहरुको इच्छा अनुसारकै ओलीले भाषण गरे।

माधव नेपाल गद्दार भएको, पार्टीको विश्वास घात गरेको र विपक्षीसँग मिलेर आफ्नै पार्टीको सरकार ढालेको ओलीले आरोप लगाए।

‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरु छन्। अरुका लागि पार्टीमा आत्मा आलोचना गर्न ठाउँ भए पनि तिनका लागि आत्मालोचना गर्ने र पार्टीमा फर्किने कुनै ठाउँ छैन,’ ओलीले भने।

ओली बालुवाटारबाट बालकोट पुगेपछि नेपालप्रति झन आक्रमक देखिएका थिए। उनले पार्टीप्रति नेपालले गद्दारी गरेको आरोप लगाए। विकास निर्माणको र राष्ट्रियताका पक्षमा आफू नेतृत्वको सरकारले धेरै काम गरेको भए पनि षड्यन्त्रका कारण बीचमै सरकारबाट बाहिरिनु परेको ओलीले आरोप लगाए।



ट्रेन्डिङ पोस्ट

Ncell