PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काठमाडौ उपत्यकाभित्र निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दै, लामो दुरीका सार्वजनिक सवारी खोल्ने तयारी



पहिलोपोस्ट

काठमाडौ उपत्यकाभित्र निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दै, लामो दुरीका सार्वजनिक सवारी खोल्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा सम्बन्धी थप निर्णय गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ।

पछिल्लो कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाको मोडालिटी बारे छलफल गर्न बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। आज बस्ने बैठकले लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रित हुने भएको छ।

यातायात व्यवसायीहरूले लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न माग गर्दै आएका छन्। अहिले लामो दुरीका सार्वजनिक सवारी साधनलाई जिल्लाबाट अनुमति लिएर मात्र काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न दिइएको छ। जसले गर्दा विद्यार्थी लगायत अन्य मानिसहरू बढी भाडा तिर्नुपर्ने मार्कामा परेका छन्। त्यसैले पनि लामो दुरीको सार्वजनिक कुनै अनुमिति बिनानै उपत्यकाभित्र प्रवेश गर्न दिने तयारी भइरहेको हो।

'खोल्नु पर्ने धेरै कारणहरू देखिएका छन्। तर कसरी खोल्ने भन्ने विषयमा छलफल भइरहेको छ। जोरबिजोरको आधारमा खोल्ने तयारी हो,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।

त्यस्तै काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा अझै लम्बिने भएको छ। १५ दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ। अहिले विद्यालय, सैलुन लगायत धेरै भिड हुने क्षेत्र खोल्न दिइएको छैन। त्यस्तै होटेल रेष्टुरेष्टमा टेकअवे सुविधा मात्र दिइएको छ। व्यवसायीहरूले होटेल रेष्टुरेष्ट खोल्न माग गरिरहेका छन्।

बुधवार उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका थिए। मन्त्री खाँणले अबको निषेधाज्ञाको मोडालिटी तयार पारेर ल्याउन भनेका थिए। स्थानीय प्रशासनले तयार पारेको मोडालिटीमा छलफल गरेर सुधारिएको मोडालिटी तयार गर्ने बताइएको छ।

देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेको छ। उपत्यकामा दैनिक ३ सयदेखि ५ सयको हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell