
अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामै रहन तयार भएका छन्। जुन महिनाको अन्त्यमा करार सकिएसँगै बार्सिलोनाबाट 'फ्री एजेन्ट' बनेका मेस्सी पुन: बार्सिलोनामै रहने गरि करार गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
हालै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउँदै करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामै रहन तयार भएका हुन्। कोपा अमेरिकामा च्याम्पियन बनेपछि हाल उनी छुट्टीमा छन्।
जुन ३० मा मेस्सीको करार सकिएसँगै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा मेस्सीसँग पुन: करार गर्ने प्रयासमा थिए। एक क्याटलान पत्रिकाका अनुसार बुधवार दुई पक्षबिच सहमति भएको थियो र केही दिनमा नै यसको घोषणा हुनेछ।
बार्सिलोनासँग मेस्सीको नयाँ करार लामो हुने विश्वाश गरिएको छ। लगभग ५ वर्षको। तर, केही वर्ष उनी अमेरिकामा क्लबको एम्ब्यास्डरको रुपमा खेल्ने सक्ने समेत अनुमान गरिएको छ। बीबीसीले मेस्सी सन् २०२६ सम्मका लागि आधा तलबमा बार्सिलोनामा रहन सहमति बनेको दाबी गरेको छ।
त्यस्तै, बेलायतको अखबर द गार्डियनले मेस्सीले २०२६ सम्मको करार गर्ने र एन्टोनी ग्रीजमनलाई एट्लेटिको मड्रिडका सउल निगुएजसँग अदलाबदली गर्ने तयारी रहेको उल्लेख गरेको छ।
सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण उनी बार्सिलोनामै रहन बाध्य भए। र, यो जुन महिना सकिएसँगै बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी 'फ्री एजेन्ट' बनेका थिए।