PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

झपट रावलको प्रश्न : संविधानको ब्याख्या ओलीले गर्ने हो कि न्यायपालिकाले? फैसला गलत छ भने राजीनामा देउ



पहिलोपोस्ट

झपट रावलको प्रश्न : संविधानको ब्याख्या ओलीले गर्ने हो कि न्यायपालिकाले? फैसला गलत छ भने राजीनामा देउ

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत लागेमा राजीनामा दिन सुझाव दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले फैसलालाई गलत र माधव नेपाललाई गद्दार भनेर टिप्पणी गरिरहेका रावलले जवाफ फर्काएका हुन्।

‘म चुनौती दिन चाहन्छु, सर्बोच्चको फैसला गलत हो भने पुनःस्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरुलाई यो प्रतिनिधिसभामा उपस्थिति हुने कुनै नैतिक अधिकार छैन। आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं?’ रावलले जवाफ दिएका छन्।

रावलले नेपाल समूहको कदम र फैसलालाई गलत थियो भन्नेहरुलाई संविधानको ब्याख्या ओलीहरुले गर्ने हो कि न्यायपालिकाले भनि प्रश्न पनि गरेका छन्। ‘प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संबिधानमा कहाँ ब्यबस्था गरिएको छ? के राष्ट्रपति पन्चायतकालीन राजाभन्दा बढी अधिकार प्राप्त र संबिधानभन्दा माथि हुन?’ उनले प्रश्न गरेका छन्।

आफूहरुले चालेको कदमलाई अदालतले सदर गरेको तथ्यले आफूहरु सही बाटोमा थियौ भन्ने पुष्टि भएको रावलको भनाई छ।

प्रतिनिधिसभा विघटन गरेर मुलुकमा राजनीतिक र संबैधानिक संकट उत्पन्न गराउने र त्यहाँभित्र खेलेर संबिधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने अभिष्ट र षडयन्त्रलाई चकनाचुर पार्दै मुलुकको राजनीतिलाई फेरि मूलबाटोमा फर्काउन आफूहरुले पहलकदमी लिएको र यसमा सफल भएको रावलले फेसबुकमा लेखेका छन्।

‘नेपालको आधुनिक राजनीतिक ईतिहासमा एउटा गर्बिलो ईतिहास खडा गरेका छौं। हाम्रो कदमले संबिधान, लोकतन्त्र र संसदलाई मात्र बचाएन संबिधानमा भएका कतिपय अस्पष्टतालाई पनि हटाएको छ। यसले संबैधानिक बिकासमा ठूलो योगदान पनि गरेको छ,’ उनले भनेका छन्।

आफूहरुको कदमले संविधान बचाएको भन्दै रावलले आफूहरुलाई गलत हुन् भनेर प्रचारबाजी नगर्न पनि चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell