PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कैलालीको मोहना नदीले खतराको तह पार गर्दा ३० घर डुबे, साढे ४ सय घर जोखिममा



एम बम

कैलालीको मोहना नदीले खतराको तह पार गर्दा ३० घर डुबे, साढे ४ सय घर जोखिममा

कैलाली : कैलालीको मोहना नदीमा पानीको सतह बढे पछि ३० घर डुबानमा परेका छन् भने साढे ४ सय घर जोखिममा परेका छन्। मोहना नदीले बिहीबार बिहानबाट खतराको तह पार गर्दा धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडाका मोहनपुर र श्रीलङ्काका ३० घर डुबानमा परेका हुन्।

मोहनपुर र श्रीलङ्कालाई धनगढी अत्तरिया जोड्ने राजमार्गसँग जोडिएको शाखा सडकको तह मोहनाले पार गरेपछि साढे ४ सय घर डुबानमा पर्ने वडाध्यक्ष विजयराज जोशीले बताए। ‘हामी बिहानैबाट उद्धारमा खटिएका छौँ,’ उनले भने, ‘बस्तीमा पानी पसेको छ। तर सडक भन्दा नदी तर्फका ३० घर मात्रै डुबेका छन्। अब नदीले फेरि सतह बढाउने हो भने साढे ४ सय भन्दा बढी श्रीलङ्का र मोहनपुरको पुरै बस्ती डुब्ने खतरा छ।’

धनगढी उपमहानगरपालिकाका मेयर समेत प्रभावित क्षेत्रमा पुगेर उद्धारका लागि खटिन सबै जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। डुबानमा परेका ३० परिवारलाई व्यवस्थापनका लागि सार्वजनिक भवन तथा विद्यालयमा राख्ने पहल भइरहेको उनले बताए।

यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर १ र ४ मा भालु खोलको बाढीले उत्तर बन खेत तथा बास्कोटाकाका १७ भन्दा बढी घर डुबानमा परेका छन्। मोहना नदीको बाढी घरमै पसेपछि स्थानीयको बिचल्ली भएको छ।

डुबानमा परेका तथा जोखिममा रहेका स्थानीयलाई प्रहरी प्रशासन र जनप्रतिनिधिले व्यवस्थापन गरिरहेका जिल्ला कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए। मोहनपुर, श्रीलङ्काका र बन खेत तथा बास्कोटाकाका ७० परिवारलाई सार्वजनिक भवनहरू, विद्यालयहरूमा राख्न पहल भइरहेको छ। तराइमा थप वर्षा भए बढ्न सक्ने जोखिमका विषयमा समेत जनप्रतिनिधिहरू सक्रिय भएका छन्।

कैलालीको गौरीगङ्गा नगरपालिकामा पनि डुबान भएको छ। तर त्यहाँ बस्ती तथा घरहरू विस्थापन गर्नुपर्ने स्थिति भने नरहेको कैलाली प्रहरीले जनाएको छ। बुधवार रातिदेखि सुदूरपश्चिमको पहाडी क्षत्रमा अविरल वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान साढे ९ बजेदेखि कैलालीको मोहना नदीले खतराको तह पार गरे पनि अहिले केही कम भएको छ। तर जोखिम कायमै रहेकाले सतर्कता अपनाउन तटीय क्षेत्रहरूमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell