PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

छोरीचेलीको बिहाबारीले जोडिएको दुई गाउँलाई जोड्यो झोलुङ्गे पुलले पनि



रिना थापा

छोरीचेलीको बिहाबारीले जोडिएको दुई गाउँलाई जोड्यो झोलुङ्गे पुलले पनि
फोटो : राकेश शर्मा/म्याग्दी

पोखरा : म्याग्दीको रघुगंगा गाउँपालिकाको कोट गाउँसम्म मोटरबाटो पुगेको छ। तर, बर्खामा भने पैदल हिड्नुपर्थ्यो। जंगल र खोल्साखोल्सी पार गर्दै जोखिम मोल्नुपर्थ्यो। वडा नम्बर ६ कोट गाउँका स्थानीयलाई वडा कार्यालय र विद्यालयसम्म आई पुग्न धेरै नै सास्ती खेप्नुपर्थ्यो।

स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी लगायतका अत्यावश्यक सेवा लिन वडा ६ को कार्यालय पाखापानीमै पुग्नुपर्छ। यति मात्रै कहाँ हो र, कोट गाउँ र पाखापानीको साइनो छोरीचेली बिहे गरेर पनि गाँसिएको छ। आत्मियताले गाँसिएको यी गाउँमा आउजाउ गर्न कोट गाउँबासीलाई दुई घण्टा हाराहारीको जोखिमयुक्त पैदाल यात्रा तय गर्नुपर्थ्यो। पुल नहुँदा कोट गाउँका बासिन्दाहरु पाखापानी आउन एक घण्टा भन्दा बढी पैदल हिड्नुपर्ने बाध्यता थियो।

अहिले पालिकाको वडा नम्बर ६ पाखापानी र कोट गाउँलाई जोड्ने झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सजिलो भएको छ। १ घण्टा बढीको बाटो १५ मिनेटमा छोटिएपछि उनीहरु खुशी छन्। भौतिक पूर्वाधार गण्डकी प्रदेशको आयोजनामा पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई गाउँ जोड्नका लागि जिल्लाकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पाखापानीस्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्न बनाइएको पुल २ सय ६५ मिटर लामो छ।

झोलुङ्गे पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको छ। कोट गाउँका गौबहादुर पुन पुल बनेपछि दंग छन्।

‘धेरै धेरै सुविधा भछ, हामी त धेरै खुशी छौँ नि’, उनले भने, ‘पुल बनेपछि बाटो छोटिएको छ ।’

पुल नहुँदा ठाडो खोला हुँदै ठाडै लाग्नुपर्थ्यो, लगभग १ घण्टा बढी पैदल हिडेर। अहिले पुल बनेपछि स्थानीयको सास्ती कम भएको छ।

पुल निर्माणका लागि हिमशिखर जयलक्ष्मी जेभी बागलुङसँग भ्याट रकम बाहेक दुई करोड दुई लाख रुपैयाँमा २०७६ चैतमा ठेक्का सम्झौता भएको थियो। झोलुङ्गे पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

‘पुल नहुँदा खोलानाला, भिरपहराबाट यात्रा गर्नुपर्ने बाध्यता थियो। पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ,’ उनले भने।

पाखापानी गाउँमा रहेका विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरका जनतालाई पुल बनेपछि सहज भएको कोट गाउँका पुनको भनाइ छ।

‘हामीलाई पहिला निकै असहज र बर्खाको समयमा निकै गाह्रो हुने गरेको थियो। अहिले यो पुलले निकै सजिलो भएको छ’, पुनले भने, ‘हामीलाई सबै काम गर्न पाखापानी आउनुपर्छ, बालबालिकालाई विद्यालय आउन पनि सहज भएको छ।’


म्याग्दीमा यसै वर्ष अन्य तीन स्थानमा पनि झोलुङ्गे पुल निर्माण भएको छ। मंगला गाउँपालिकाको सिमलचौरदेखि लुलियाघाट जोड्ने गरी म्याग्दी नदीमाथि अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुङ्गे पुल निर्माण भएका छन्।

जिल्लामा आगामी आर्थिक वर्षका लागि ८ वटा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको छ। पुल निर्माण भएपछि करिब २० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने छन्। पाखापानी कोटगाउँ जोड्ने पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ। लामो दुरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ। यसअघि रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग र बादुक जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो।

पाखापानी निवासी ध्रुव पाइजा पुल बनेपछि निकै खुसी छन्। पुल बनेपछि कोट गाउँ र पाखापानीलाई दुई घण्टा लाग्ने बाटो छोटिएको उनी बताउँछन।

‘अहिले १०-१५ मिनेटमा ओहोरदोहोर हुन्छ। रायखोरको मान्छेलाई पनि सजिलो भाछ’, उनले भने, ‘पहिला एकदम दुःख हुन्थ्यो। घुम्ती बाटो थियो। घोप्टो खोलाको बाटो प्रयोग गर्नुपर्थ्यो। लगभग २ घण्टा जति त लाग्थ्यो। अहिले त हामीलाई धेरै सुविधा भएको छ।’

पाखापानीमा पुल बनेपनि बेनी बजारसम्म झर्न भने अझै सास्ती छ। कोट गाउँभन्दा माथि रायखोर गाउँ छ। जहाँ अझै पनि बाटो पुगेको छैन। त्यहाँका विद्यार्थी स्कुल पढ्न डेड घण्टा पैदल हिँडेर पाखापानीमै आउनुपर्छ। झोलुङ्गे पुल बनेपछि उनीहरुलाई पनि सजिलो भएको छ।

‘हाम्रो वडा ठूलो छ, दुईटा वडालाई एउटा वडा बनाए अलिकति रायखोरलाई टाढा छ। थर्कानीबासीलाई अझै टाढा छ,’ भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell