PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

केपी ओली जति आक्रामक, माधव नेपाल उति सक्रिय : लगातारको भेटघाटको अर्थ के?



प्रकाश भण्डारी

केपी ओली जति आक्रामक, माधव नेपाल उति सक्रिय : लगातारको भेटघाटको अर्थ के?

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति धेरै आलोचना गरे पनि नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालको सक्रियता झन् बढ्दो छ। बुधवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै निवासमा स्वागत गरेका नेपालले बिहीवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै विप्लव नेपाल निवास कोटेश्वर पुगेका थिए। बुधवार प्रचण्ड र विप्लव बिच पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्रीबाट बाहिरिएका ओलीले जति दुत्कारे पनि संसद पुनर्स्थापना र गठबन्धनको सरकार बनेपछि त्यसको निरन्तरतका लागि माधव नेपालको भूमिका महत्वपूर्ण छ। त्यसैले गठबन्धनका नेताहरुले नेपालसँगको संवादलाई तिब्रता दिएका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनर्स्थापनका लागि नेपाल समूहका २३ जना सांसदहरुले सर्वोच्च अदालतमै पुगेर हस्ताक्षर गरेका थिए। नेपालले साथ दिएमात्रै देउवाको पक्षमा विश्वासको मत पुग्नेछ भने प्रतिनिधिसभा पूर्ण कार्यकाल चल्ने छ जुन गठबन्धनको न्युनतम सहमति समेत हो।

ओलीको अर्घेल्याईकै बिच देउवा सरकारलाई नेपालको साथ

नेपाल पक्षका नेता विरोध खतिवडाका अनुसार बुधवार देउवा-नेपाल बिच सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा छलफल भएको थियो। उक्त छलफलपछि नेता नेपालले देउवालाई विश्वासको मत दिने वाचा गरेका छन्। देउवाले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सरकारमै सहभागी हुन आग्रह गरेका थिए। तर, नेपालले विश्वासको मत दिने भए पनि सरकारमै सहभागी भने हुन नसकिने जवाफ दिए।

'सर्वोच्च अदालतमा हामीले प्रतिनिधिसभा पूरै कार्यकाल काम गरोस् भनेर हस्ताक्षर गरेका थियौं। फेरि विघटन भएमा त पूरा कार्यकाल चल्दैन। हाम्रो भूमिका पूरै कार्यकाल चलाउनका लागि हुन्छ। पुनस्थापन भएर मात्रै हाम्रो कार्यकाल सकिँदैन्,' नेता खतिवडाले भने।

त्यसो त सोमवार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे लगत्तै बसेको ५ दलीय गठबन्धनको बैठकमा नेता नेपालले आफूलाई त्यसबाट अलग हुने घोषणा गरेका थिए। पार्टीमा सहमतिको वातावरण बन्दै गएको भन्दै नेपालले गठबन्धनमा नरहने बताएका थिए।

ओलीसँगको दुरी फराकिलो

गठबन्धनमा सक्रिय रहेका नेता नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन्। १० बुँदे सहमतिमा समेत असन्तुष्टि जनाउँदै नेपालले नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको सहमतिलाई सजिलै स्वीकारेनन्। सोमवार कार्यदलका नेताहरुले सहमतिपत्र नेपाललाई हस्तान्तरण गरेका थिए। कार्यदलका नेतासँग नेपालले 'ओलीले सहमति नचाहेको' आरोप लगाएका थिए।

कार्यदलका नेताहरुको सक्रियतामा सहमतिको खाका बनाइएको भए पनि ओली - नेपाल बिचको कटुतापूर्ण सम्बन्ध कायमै छ। बुधवार बालुवाटारबाट निजी निवास बालकोट पुगेका पूर्व प्रधानमन्त्री ओलीले नेपालमाथि गालीगलौच नै गरेका थिए। ओलीले नेपाललाई गद्दार ठहर्‍याए भने आत्मालोचना गरेर पनि एमालेमा फर्कँने ठाउँ नभएको बताएका थिए। नेपाल समूहका अरुलाई भने गल्ती महसुस गर्दै पार्टीमा फर्कँने ठाउँ बाँकी रहेको ओलीको तर्क थियो। नेपालले आफूलाई धोका दिएकाले पार्टीमा फर्कँने ठाउँ नभएको ओलीको भनाई थियो।

ओलीको उक्त अभिव्यक्ति र नेपालको सत्तारुढ गठबन्धनसँगको सक्रियताले पार्टीको १० बुँदे सहमति बेबारिसे हुने सम्भावना बढेको छ। उक्त सहमतिपत्रको पहिलो बुँदामा नै 'अन्तरविरोध बढ्दै गएपछि कटुतापूर्ण अभिव्यक्ती दुवै तर्फबाट आएको र अबदेखि पार्टीभित्रै विवाद हल गर्ने' उल्लेख छ। तर, त्यसैलाई दुवै पक्षका नेताले उल्लंघन गरेका छन्।

गठबन्धन झन् बलियो बनाउने सन्देश

नेपाल ओलीसँग दुरी बढाएरै भए पनि गठबन्धनलाई अब आउने चुनावसम्मै कायम राख्ने पक्षमा छन्। नेपाल पक्षका दोस्रो तहका नेताहरुले सर्वोच्चको फैसलासँगै अब गठबन्धनमा बसिरहन जरुरी नभएको बताए पनि नेता नेपालले भने चुनावसम्म गठबन्धनको आवश्यकता भएको बताउँदै आएका छन्। नेपाल निकट नेता जीवनराम श्रेष्ठले संविधानको रक्षाका लागि गठबन्धन कायमै रहने बताए। 'यो संविधान रक्षाका लागि बनेको गठबन्धन हो। फैसलापछि पनि प्रतिनिधिसभा चलाइराख्न चुनौति छ। त्यसलै पनि यसको निरन्तरको आवश्यकता छ। नेतृत्वमा छलफल गरेपछि विश्वासको मतबारे टुंगो लाग्छ,' उनले भने।

जसरी ओलीले नेपाल बाहेकका नेताहरुले आत्मालोचना गरे पार्टीमा पुन: ठाउँ पाउने तर्क गरिरहेका छन्, त्यसरी नै नेपाल पक्षका नेताहरुले पनि ओलीले आफ्नो कदमप्रति खेद प्रकट गर्दै एकताको वातावरण बनाउनुपर्ने तर्क अघि सारेका छन्।

सांसद जीवनराम श्रेष्ठको दावीलाई मान्ने हो भने ओली पक्षका दोस्रो तहका नेताहरुले ओलीका अभिव्यक्तिलाई 'व्यक्तिगत' भन्दै आएका छन्। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका एमाले नेता पृथ्वी सुब्बा गुरुङले ओलीको अभिव्यक्ति व्यक्तिगत भएको सार्वजनिक टिप्पणी नै गरेका छन्।

'ओलीले बालुवाटारबाट आफ्नो घर जाँदा पार्टीको एउटा समूहलाई नै पार्टीमा फर्कने ठाउँ छैन भनेर दिएको अभिव्यक्ति कसरी व्यक्तिगत भयो? यो आपत्तिजनक छ,' जीवनरामले भने।

के एकता प्रयासमा अब पूर्णविराम?

नेपाल निकट नेताहरुले ओली एकताप्रति इमान्दार नभएको र बेला बेलामा झुक्याउन षड्यन्त्र गरिरहेको आरोप लगाइरहेका छन्। १० बुँदे सहमति पनि ओलीबाटै उल्लंघन सुरु भएको उनीहरुको दावी छ। ओलीले एकता नचाहेकाले अब त्यसको सम्भावना नभएको दाबी नेपाल निकट नेता श्रेष्ठले गरे। '१० बुँदे सहमतिमा पनि ओली इमान्दार छैनन्। त्यसलै अब करिब करिब एमालेमा एकताको सम्भावना अन्त्य भएको छ,' उनले भने।

नेपालले आफू निकट नेताहरुलाई ओलीसँग सहकार्य गर्न नसकिने भन्दै यसअघि नै वार्ता र संवादको खासै अर्थ नभएको बताउँदै आएका छन्। ओलीको लगातारको प्रयासपछि मात्र नेता नेपाल ओलीसँग मेरियट होटलमा असार २३ गते एक्लाएक्लै भेट्न तयार भएका थिए। त्यसअघि ओलीले नेता नेपाललाई भीम रावलमार्फत् भेटका लागि मनाएका थिए।

विप्लवसँगको भेटको अर्थ के?

पछिल्लो समय गठबन्धनका नेताहरुलाई घरमै बोलाएर भेट गरिरहेका नेता नेपालले विप्लवको हकमा पनि त्यही गरे। बिहीवार घरमै बोलाएर नेपालले उनीसँग छलफल गरेका थिए।

ओली नेतृत्वको सरकारले विप्लवसँग गरेका ३ बुँदे सहमतिबारे नेता नेपालसँग छलफल भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। पछिल्लो राजनीतिक विषयमा छलफल भएको थियो उनीहरुबिच। 'उहाँहरु शान्तपूर्ण राजनीतिमा आउँदा ओलीसँग भएका सम्झौताबारे कुराकानी भएको छ। समग्रमा भन्दा पछिलो राजनीतिक विषयवस्तुमाथि पनि कुराकानी भयो,' गौतमले भने।

एमाले भित्रको कचलो बढ्दै गएपछि कम्युनिस्ट एकताको खाचो भएको औल्याइरहेका नेपालले विप्लव र प्रचण्डलाई सँगै राखेर भेट्नुले फरक सन्देश दिएको छ। यद्यपी, गौतमले पार्टी र कम्युनिस्ट एकताका बारेमा छलफल नभएको बताए।

ओली बाहेकका कम्युनिस्टसँग सहकार्य भइरहेको देखाउन पनि नेता नेपालले पछिल्लो समय कम्युनिस्ट नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन्। बुधवार बिहान एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छुट्टा-छुट्टै भेट गरेका थिए नेता नेपालले। गौतम पछिल्लो समय ओली समूहमा खुलेका छन् भने श्रेष्ठ गठबन्धनमा सक्रिय नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell