PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट



पूजा पन्थी

प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट

बुटवल : संसद्मा निर्णयार्थ पेश हुनुअगावै सत्तापक्षले प्रदेशसभा बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ। बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन्। बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए।

त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए। नेकपा (एमाले)का प्रमुख सचेतक भूमिश्वर ढकालले पनि दलहरुबीच सहमति कायम गरी बजेट पारित गर्न छलफलका लागि समय मागेका थिए। त्यसका लागि विपक्षी गठबन्धनले सहमति दिन मानेनन्। त्यसपछि सत्ता पक्षका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन्।

सदनमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएको भन्दै पारित नहुने बताएका थिए। विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीन जना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ जना छन्। आजको बैठकमा सत्तापक्षका सांसद अजय शाही बिरामी भएर अनुपस्थित भएकाले सरकारको पक्षमा बहुमत नपुग्ने देखिएको थियो। सोही कारण सत्तापक्षका सांसद बैठकबाट बाहिरिएको विपक्षी गठबन्धनले बताएको छ।

उता मुख्यमन्त्री पोखरेलले बजेटमा सहमतिमा आउन आग्रह गर्दै आफूले विश्वासको मत लिने बताएका थिए। सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न उनले आग्रह गरेका थिए।

मुख्यमन्त्री पोखरेलले भने, ‘विश्वासको मत लिन म तयार छु। त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस्। अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो। मत लिँदा २ अनुसार नभए ३ मा जान्छ। ३ बनाउने अवस्था नआएकै राम्रो। त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ। त्यसमा मेरो रुचि छैन।’

उनले बजेटलाई असफल नगराउन विपक्षीलाई पटक-पटक आग्रह गरेका थिए।

साउन १ गते अगावै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले सरकारलाई अब बजेट पारित गर्न संकट परेको छ। सत्तापक्षले बजेटमा प्रतिपक्ष सहमतिमा नआउँदासम्म सदन नचल्ने अडान लिएको छ। मुख्यमन्त्री पोखरेल प्रदेशसभाबाट बाहिरिइसकेपछि ५ बजे आधा घण्टाका लागि बैठक स्थगित भएको थियो।

सत्ता पक्षले बहिस्कार गरेपछि रोकिएको लुम्बिनी प्रदेश सभाको बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तिको निर्देशन अनुसार सूचना टाँस गरी शुक्रवार १ बजेसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

८३ सदस्यीय प्रदेश सभामा अहिले एमालेको पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन्। एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित हृदयेश त्रिपाठी समूहका अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि सरकारको बजेट पास नहुने देखिएको थियो। सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेपनि अन्तिम समयमा आएर सरकार पक्षको प्रयास सफल हुन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell