PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

वीरगंज पूर्ण खोप महानगरपालिका घोषणा



राधेश्याम पटेल

वीरगंज पूर्ण खोप महानगरपालिका घोषणा

वीरगंज : वीरगंज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ। नगरसभा गृहमा बिहीवार आयोजित घोषणासभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगंज महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेका हुन्।

घोषणा समारोहमा मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए। अहिले संसारभर फैलिएको कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा निकै जटिलता आएको उल्लेख गर्दै तेस्रो भेरियण्टको जोखिममा बालबालिकाहरु अझ बढी रहने विज्ञहरुको चेतावनीबाट सतर्क रहनुपर्ने अवस्था रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरे। कोरोना संक्रमण महामारीले खोप कार्यक्रम प्रभावित भए पनि वीरगंज महानगरपालिकाले भने पूर्ण खोप घोषणा गरेकोमा बधाई तथा धन्यवाद दिए।

कोरोना संक्रमण नियन्त्रण र व्यावस्थापनमा महानगरपालिकाले खेलेको भूमिका अत्यन्त उत्कृष्ट रहेको चर्चा गरे। महानगरका मेयर विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने उल्लेख गर्दै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताए। वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा रहेको वडा स्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरुलाई खोपको सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्न आग्रह गरे। महागनरपालिकामा जन्मिएदेखि १५ महिना सम्मका बालबालिकालाइ लगाइने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्ण खोप घोषणा भएको हो।

पूर्णखोप घोषणाका लागि वीरगंज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो। सर्भेक्षणका क्रममा १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र तीमध्ये जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारकाखोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जनामात्र देखिएको महानगरका स्वास्थ्यतथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले बताए। उनले ५ सय ८७ जनाबालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशिकमात्र खोप लगाएको भेटिएको थियो ८ जनाबालबालिकाले भने कुनै पनिप्रकारको खोप नलगाएको फेला परेको बताए। सर्भेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताए।

नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपप्रमुख शान्तिकार्की, प्रमुखप्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगंज महानगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द देवकोटा, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell