PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सक्रियता बढाउँदै पहिलो पटक 'ए' डिभिजनमा उक्लिएको सातदोबाटो : खेलाडी भित्र्याउन भ्याइनभ्याइ, शीर्ष तीनमा अटाउने लक्ष्य



मुकुन्द घिमिरे

सक्रियता बढाउँदै पहिलो पटक 'ए' डिभिजनमा उक्लिएको सातदोबाटो : खेलाडी भित्र्याउन भ्याइनभ्याइ, शीर्ष तीनमा अटाउने लक्ष्य

काठमाडौं:  शहीद स्मारक ए डिभिजन असोज तीन गतेबाट सुरु गर्ने निर्णय अखिल नेपाल फुटबल संघ एन्फाले गरेसँगै त्यसको तयारीका लागि क्लबहरु जुट्न थालेका छन्। त्यसमध्ये पनि खेलाडी अनुबन्धन र तयारीका हिसाबले हतारिन थालेको देखिन्छ गत फागुनमा सम्पन्न शहीद स्मारक 'बी' डिभिजन लिगबाट च्याम्पियन बन्दै पहिलोपटक 'ए'मा उक्लिएको सातदोबाटो युथ क्लब।

हुन पनि पहिलो पटक 'ए' डिभिजन लिग मा इन्ट्री मारेको सातदोबाटोलाई बी डिभिजनमा जस्तै ए डिभिजनमा पनि बलियो उपस्थिति प्रस्तुत गर्न चुनौती छ। त्यसैले धमाधन खेलाडी अनुबन्धन गरिरहेको छ क्लबले।

२०५७ सालमा स्थापना भएर २०५८ सालमा 'डी' डिभिजन र २०६० सालमा 'सी' डिभिजन खेलेको सातदोबाटोले २०६८ सालयता 'बी' डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै आएको थियो। अघिल्लो सिजन 'बी' डिभिजनमा च्याम्पियन बनेसँग यसपटक मौका पाएको छ- 'ए' डिभिजनमा आफूलाई प्रमाणित गर्ने।

'ए' डिभिजनमा आएसँगै त्यहाँ आफ्नो दर्विलो उपस्थिति देखाउने चुनौती छ सातदोबाटोलाई। यस्तो चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्ने लक्ष्यका साथ अघिल्लो साता सम्पन्न साधारणसभाबाट कपिल राना मगर फेरि सातदोबाटो युथ क्लबको अध्यक्षमा चुनिएका छन्।

+++

सातदोबाटो क्लब २०५७ सालमा आउनु अघि योङ मुभमेन्टका नाममा ललितपुरबाट फुटबल खेल्ने एउटा समूह थियो। उक्त समूहबाट जिल्लाका विभिन्न स्थानमा गएर खेल्ने र उपाधिसमेत जितेर ल्याउने गरेको स्मरण गर्छन् अध्यक्ष मगर। त्यही समूहलाई व्यवसायिक बनाउने पहल भयो। र, त्यसलाई संगठित गरेपछि बन्यो सातदोबाटो युवा क्लब। यसको सुरुबाटै योगदान गर्दै आएका ८० प्रतिशत पदाधिकारी कार्यसमितिमा रहेको बताउँछन् अध्यक्ष मगर।

'क्लब स्थापना गर्दा लागेको थिएन विभागीय लगायतका ठूला क्लबहरुसँग प्रतिस्पर्धा गरिएला,' उनले सुनाए, 'ए डिभिजनसम्मको यात्रा संघर्षपूर्ण त रह्यो नै रमाइलो पनि भयो।'

सानो छाप्रोबाट सुरु गरेको सातदोबाटो क्लबले अहिले आफ्नै चार तल्ले बिल्डिङ खडा गरेको छ। जसबाट उठ्ने भाडा सातदोबाटोको मुख्य आयश्रोत हो। त्यसबाहेक स्पोन्सरसिपमा पनि सातदोबाटो भाग्यमानी देखिएको छ।

तर 'बी' डिभिजनमा रहनु र 'ए'डिभिजनमा रहनु या टिक्नु एउटै कुरा होइन। के छ त्यसो भए ए डिभिजनमा सातदोबाटोको योजना?

'बी डिभिजनमै हुँदादेखि हामीले बुझेका थियौं 'ए' डिभिजनमा टिक्न ठूलो धनराशीको आवश्यकता छ। त्यसका लागि पहिलेबाटै योजना बनाउन थालेका थियौं,' अध्यक्ष मगरले भने, 'ए डिभिजनमा पुगेपछि लाइसेन्स लगायतका कुरा पनि छन्। दीर्घकालीन रुपमा फुटबलमा रहनका लागि यसका मापदण्डहरु ठीक पनि छन्। यसका लागि 'बिग हाउस'सँग मिलेर जानुपर्ने भन्ने देखिन्छ। यसबारे हामी थप बुझिरहेका छौं।'

यता असोज ३ गतेबाट सुरु हुने भनिएको 'ए' डिभिजन लिगमा शीर्ष तीनमा रहने लक्ष्यका साथ सातदोबाटो लागि परेको छ। जसका लागि प्रयोग गर्दै आएको बुद्धि विकाश मण्डलको लगनखेलस्थित मैदानमा साउनको पहिलो साता सकिँदा नसकिँदै अभ्यास सुरु गर्ने तयारी छ।

'बी डिभिजन लिगमा च्याम्पियन बनेका खेलाडी पनि हामीसँग छन्। युवा र पाका खेलाडी मिलाएर लैजाने योजना बनाएका छौं,' उनले योजना सुनाए, 'बी डिभिजनबाटै तयारी सुरु गरेको हुनाले लिगमा शीर्ष तीनभित्र रहने लक्ष्यका साथ तयारी गर्दैछौं।'

खासगरी खेलाडीसँग क्लबले व्यवसायिक व्यवहार गरेकाले पुराना खेलाडी तान्न पनि कठिन नभएको उनले दाबी गरे। क्लबले 'बी' डिभिजनमा च्याम्पियन बन्दाको ४/५ जना खेलाडीलगायत २२/२५ जना खेलाडी तयार राखेको र अभ्यास सुरु भएपछि आवश्यकता अनुसार खेलाडी थप गर्ने योजना रहेको उनले बताए।  

खेलाडी भित्र्याउन सक्रियता

ए डिभिजन लिगको मिति तय भएसँगै साविक लिग विजेता मछिन्द्र क्लबका नाइजेरियन खेलाडी पिटर सगुनलाई सातदोबाटोले भित्र्यायो। नेपाल सुपर लिगमा ललितपुर सिटीबाट खेलेका उनले यसअघि मछिन्द्र क्लब र थ्री स्टार क्लबबाट पनि खेलिसकेका छन्। त्यस्तै, सातदोबाटोकै पूर्व खेलाडी पासाङ लामा, कतारी क्लबको यू २३ बाट खेलिरहेका स्यान्सु भुसाल, थ्री स्टारका पूर्व खेलाडी करण रावत र रञ्जन पुनलाई पनि भित्र्यायो।

त्यसपछि राष्ट्रिय फुटसल टिमका सदस्य आदिल हमिदलाई भित्र्याएको सातदोबाटोले असार २६ गते साधारणसभा गर्‍यो जसबाट कपिल राना मगरकै नेतृत्व आयो।

पछिल्लो पटक राष्ट्रिय टोलीको उमेर समूहमा खेलेका मिडफिल्डर आकाश बुढा मगर, उमेर समूहमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका र एपीएफबाट समेत खेलिसकेका स्ट्राइकर निरज चौधरीलाई पनि सातदोबाटोले भित्र्याएको थियो।   

यसबाहेक केही अन्य विदेशी खेलाडी भित्र्याउने प्रयास सातदोबाटोले गरिरहेको छ। त्यस्तै, एकेडेमी सञ्चालनका लागि एन्फासँगको सहकार्यमा एउटा स्कुलसँग सहमतिको नजिक पुगेको अध्यक्ष मगरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell