PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हरियो पहिरनले भरिएको बजारमा फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस

हरियो पहिरनले भरिएको बजारमा फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दुई वर्ष अघिको कुरा हो, साउन महिना सुरु नहुँदै असनमा रहेको रमेश तामाङको पसलमा मानिसहरुको घुँइचो हुन्थ्यो। उनको मात्रै होइन् असन र इन्द्रचोकका अधिकांश पसल भरिभराउ हुन्थे।

साउनमा महादेवको आरधना गर्दै व्रत बस्ने र हरियो चुरापोते र पहिचान लगाउने परम्परा रहेको छ। त्यसैको लागि साउनमा बजारमा गाह्रकहरुको भिड लाग्थ्यो।

तर, कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष साउनमा बजार ठप्प रह्यो। यो वर्ष पनि बजारमा पहिलाको जस्तो भिड छैन। पहिला बिहानै देखि भिड हुने बजारमा अहिले दिउँसो केही समय मानिसहरुको चहलपहल हुन्छ। बांकी समय ग्राहक कुर्दै बस्नु परेको सुनाउँछन् व्यापारीहरु।

पसलहरु हरियो चुरापोते तथा हरियो पहिरनले भरिएका छन्। तर ग्राहक भने फाट्टफुट्टमात्रै आइरहेको बताउँछन् तामाङ

'दुई वर्षदेखि गाह्रो छ। पोहोर पनि व्यापार भएन। यो वर्ष पनि त्यस्तै अवस्था छ। पुरानै स्टक बिक्री भएको छैन' तामाङले भने।

धेरै व्यापार हुने महिनामा पसल सुनसान हुँदा भविष्य बारे अन्यौल बढेको उनी बताउँछन्। कोरोना भाइरसको संक्रमण नरोकिएको र फेरि 'लकडाउन' हुने हल्लका कारण मानिसहरुको चहलपहलमा कमी आएको उनी बताउँछन्।

'करिब २५ हजार भाडा तिर्नुपर्छ। यही महिना हो अलि व्यापार हुने तर मानिसहरु आइरहेका छैनन्। यसरी त गाह्रो हुन्छ' तामाङले भने।

असन इन्द्रचोकका व्यापारीहरु हरियो चुरापोते र पहिरनका पुरानै स्टक धेरै बांकी रहेको बताउँछन्। त्यही स्टक बेच्न नसक्दा नयाँ सामानहरु ल्याउन नसकिएको बताउँछन्। साथै, निषेधाज्ञाका कारण पनि नयाँ सामान आयात गर्न नसकिएको उनीहरु बताउँछन्।

यस्तै, बजारमा मेहन्दी किन्न र लगाउन आउनेको संख्यामा पनि कमी आएको व्यापारी बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell