PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

तीन वर्षपछि सरकारले बढायो जग्गाको मूल्यांकन, दरबारमार्गमा एक आना जग्गाको सरकारी मूल्य नै ६६ लाख रुपैयाँ



अमर बडुवाल

तीन वर्षपछि सरकारले बढायो जग्गाको मूल्यांकन, दरबारमार्गमा एक आना जग्गाको सरकारी मूल्य नै ६६ लाख रुपैयाँ

काठमाडौंः सरकारले तीन वर्षपछि महँगा जग्गाको मूल्यांकन बढाएको छ। देशभित्रको सबैभन्दा महंगो जग्गा काठमाडौंको दरबारमार्गको आनाको ६ लाख रुपैयाँ बढेको छ। अब यो जग्गाको सरकारी मूल्यांकन आनाको ६६ लाख रुपैयाँ पुगेको छ।

‘न्यून आर्थिक वृद्धिदर, आयस्रोतमा आएको संकुचन, कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव लगायतका कारणले तीन वर्षदेखि यो क्षेत्रको जग्गा मूल्यांकन बढेको थिएन,’ मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुनाबहादुर श्रेष्ठले भने, ‘सरकारी अहिले न्यूनतम मूल्यांकन पनि बढाउने सहमति भएको हो।’

सरकारी मूल्यांकन ६० लाख रुपैयाँ भएको समयमा चलनचल्तीको कारोबार भने ८ करोड रुपैयाँ सम्म भइसकेको देखिएको छ। तर यहाँ वर्षमा मुस्किलले २/४ वटा मात्रै घरजग्गाको लिखत पारित हुने गरेको मालपोत कार्यालयको तथ्यांकमा छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्यांकन निर्धारण समितिले काठमाडौं र ललिपुरको जग्गा कम्तिमा १० देखि अधिकतम २५ प्रतिशत बढाएको हो।

डिल्लीबजार मालपोतको हकमा न्यूनतम १० देखि अधिकतम १८ प्रतिशत मूल्यांकन बढेको छ।

कलंकी, चाबहिल र टोखा मालपोत अन्तर्गतका घरजग्गाको मूल्य १० प्रतिशतले बढ्दा काठमाडौंको उत्तरपूर्वमा रहेको साँखु मालपोत कार्यालयले भने १५ देखि २५ प्रतिशत सम्म मूल्यांकन बढाएको छ।

घरजग्गाको तीव्र कारोबार हुने काँठ क्षेत्रको कार्यालय भएपनि विगत २ वर्षदेखि साँखु मालपोतले मूल्यांकन बढाएको थिएन। त्यसै कारण अहिले एकैपटक १५ देखि २५ प्रतिशतसम्म बढाइएको साँखुका मालपोत अधिकृत डिल्लीबहादुर खड्काले बताए।

ललितपुर मालपोत कार्यालयले पनि कम्तिमा १० प्रतिशत मूल्यांकन बढाएको मालपोत अधिकृत विदुर अधिकारीले बताए। स्थानीय तहले केही बढी पनि प्रस्ताव गरेका छन्। तर अन्तिम निर्णय भने प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिकै हुने भएकाले अधिकतम वृद्धिमा भने केही तलमाथि हुन सक्ने उनले बताए।

मूल्यांकन बढ्ने भएपछि रेकर्ड कारोबार
न्यूनतम मूल्यांकन शुक्रबारदेखि कार्यान्वयनमा आएको छ। न्युनतम मूल्यांकन १० प्रतिशत मात्रै बढ्दा पनि १० लाख रुपैयाँ आनाको जग्गाको मूल्य ११ लाख रुपैयाँ आना पुग्छ।

चार आना जग्गा किन्नेले समेत चार लाख रुपैयाँको अतिरिक्त ५ प्रतिशत कर तिर्नुपर्दा २० हजार रुपैयाँको फरक पर्छ। यसैकारण बिहीबारसम्म मालपोत कार्यालयमा भीडभाड बढेको थियो।

अझ ठूला मूल्यका घरजग्गा किनबेचमा करोडौ रुपैयाँको फरक पर्छ। रोपनीमा २० करोड रुपैयाँ न्युनतम मूल्यांकन बढ्दा एक करोड रुपैयाँ अतिरिक्त कर तिर्नुपर्छ। त्यसकारण पनि असारमा ठूलो मूल्यका ठूलठूला प्लट जग्गा खरिद बिक्री हुने गरेको पाइन्छ।

पछिल्लो तीन दिनमा दैनिक ४० देखि ६० करोड रुपैयाँ सम्म राजस्व आउनुको कारण पनि न्युनतम मूल्यांकन बढ्नु नै हो। महँगा घरजग्गा किनबेच हुने उपत्यकामा पछिल्लो तीन दिनमा मात्रै ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ।

महँगो मूल्यका घरजग्गा खरिद बिक्री हुने उपत्यकामा डिल्लीबजार र ललितपुर मालपोत कार्यालयले अहिले दैनिक १० करोड रुपैयाँसम्म राजस्व संकलन गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell