PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पटक पटक जबरजस्ती गर्भपतन, त्यसपछि प्रहरी श्रीमानको अर्को बिहे नआउँदै सानुले पछ्याइन् सेती खोंचको बाटो…



रिना थापा

पटक पटक जबरजस्ती गर्भपतन, त्यसपछि प्रहरी श्रीमानको अर्को बिहे नआउँदै सानुले पछ्याइन् सेती खोंचको बाटो…
प्रतीकात्मक स्केच : रवीन्द्र मानन्धर

पोखराः बाँच्ने आश हराइसकेको थियो। बाँच्नुभन्दा मर्दा नै जितिन्छ जस्तो लाग्यो सानुलाई

जीवनमा आएका समस्यालाई झेलेर बाँच्न नखोजेकी पनि होइनन् उनले। तर कतैबाट पनि साथ नमिलेपछि मर्नु नै उनले अन्तिम विकल्प देखिन्।

भर्खरै १८ वसन्त टेकेकी सानुले (नाम परिवर्तन) हाम फालेर प्राणज्यान त्याग्ने निर्णय गरिन्।  साहस बटुलेर जेठ १८ गते पोखराको केआइसिंह पुलमा पुगिन्। मर्न पनि कहाँ सजिलो रहेछ र! सानुले पुलबाट हाम्फालिन् सेती नदीमा। तरको प्राण गएन। खोलामा लगाएको जालीले जोगायो उनलाई।

प्रहरीले उद्धार गर्‍यो। १८ वर्षको उमेरमा नै सानुलाई के त्यस्तो आपत् आइलाग्यो जसले उनलाई आत्महत्या सम्मको बाटो देखायो? सानुको आमालाई प्रहरीले मनोसामाजिक परामर्श आवश्यक परेको जानकारी दियो। प्रहरीले उनलाई कोपिला नेपाल नामक संस्थाको संरक्षण र परामर्शमा पठाइन्। प्रहरीले एक महिनासम्म आमालाई समेत भेट्न नआउनु भनिएको थियो।

छोरीले किन आत्महत्या गर्न खोजी भन्ने प्रश्नले आमाको मन एक महिनासम्म छटपटीमा नै बित्यो। अनेकन तर्कना मनमा खेले।

१ महिनासम्म सानु पनि केही बोलिनन्। असार २२ गते जब  उनलाई भेट्न आमा पुगिन्। त्यसपछि सानुले आफ्नो सबै घटनाको बेलिबिस्तार लगाइन्।

+++

दुई वर्षअघि कास्की माछापुच्छेका २५ वर्षीय रोहन सुनार (नाम परिवर्तन) र बाटुले चौर बस्ने सानु बिच फेसबुकमार्फत चिन जान हुन्छ। उनीहरू बिच केही समय भर्चुअल सम्बन्ध विकास हुँदै जान्छ। रोहन प्रहरीमा काम गर्ने। सानुको काम गर्ने उमेर नै भएको थिएन। भर्खर १६ वर्षमात्र पुगेकी।

सामाजिक सञ्जालले रोहन र सानुलाई झन् नजिक गराइदियो। रातदिन कुराकानी चल्न थाल्यो। कुराकानी फेसबुकको च्याटमा मात्र सीमित भएन। दाइ नभएको मौका छोपेर उनीहरू कोठामा नै भेटघाट गर्न थाले।

२०७६ चैत २७ गते दाइ नभएको मौका छोपेर रोहन सानुको कोठामा पुगे। सानु १६ वर्ष उमेरकी भएको कुरा रोहनले बिर्सिए वा सम्झिए पनि आफूलाई सम्हाल्न सकेनन्। उनीहरू बिच शारीरिक सम्पर्क भयो।

कानुनले १८ वर्षभन्दाका उमेरको बालिकालाई सहमतिमा पनि शारीरिक सम्पर्क गर्नु भने अपराध मानेको छ। उनीहरूले त्यही अपराध गरे। रोहन सानुमाथि हाबी हुँदै गए। सानुले असहमति व्यक्त गर्दा पनि रोहनले पटक पटक सानु माथि यौन हिंसा गरिरहे। कहिले श्रीमती बनाएर भित्र्याउने भन्दै आश्वासन दिएर हिंसा गरेर त कहिले आफू प्रहरीमा भएको भन्दै धम्की दिएर।

शारीरिक र मानसिक रूपमा परिपक्व नभई सकेकी सानुले कुनै कदम उठाउन सकिनन्। त्यसो त तिम्रो बिहे गर्ने उमेर नपुगेको भन्दै रोहनले कहिले काहीँ सानुलाई उमेर पुगेपछि बिहे गर्न वाचासमेत दिन्थे।

उनीहरू बिच यस्तो सम्बन्ध लामो समयसम्म चलिनै रह्यो। सानुले विवाह गर्न दबाव दिन भने छोडेकी थिइन्। रोहनले पनि त्यही आश्वासनमा सम्बन्ध जोगाइरहेका थिए। ०७७ वैशाख २३ गते सानुलाई रोहनले खोरामुखस्थित घरमा लगे।

उनीहरूको सामान्य टिकाटालो भयो। रोहनले आफ्नो वचन पुरा गरेकोमा सानु खुसी थिइन्। सानु रोहनको घरमै बसिन्। जागिर भएकाले पनि रोहन सधैँ घर बस्न भ्याउँदैन थिए। त्यसैले बेला मौकामा घर पुग्थे। केही दिन घरमा बस्थे अनि फेरी उही दिनचर्यामा फर्किन्थे।

घर आउन नपाएपछि रोहनले सानुलाई फेरी दाइकै डेरामा बस्न लगाए। सानु दाइकै डेरामा बस्न राजी भइन्।

+++

दिनहरू जसो त्यसो चलिरहेको थियो। डेरामा नै उनीहरूको भेटघाट हुन्थ्यो। केही समय सानुसँगै बिताएर रोहन काममा फर्किन्थे। तर एक दिन अचानक सानुलाई ठुलो बज्रपात पर्‍यो। रोहनले विवाह गर्दै थिए। विवाहको असार २९ गते तोकिएको थियो।

त्यसपछि सानुका मनमा केही समयदेखि पलाएका आशङ्का सत्य साबित भएको थियो। सानुले पटक पटक विवाह दर्ता गर्न माग गरे पनि रोहनले मानेका थिएनन्। त्यतिमात्र होइन आफ्नै रगतको बाबु बन्नसमेत रोहन तयार देखिएनन्। पटक पटक गर्भपतन गराउन सानुलाई दबाव दिएका थिए।

सानु पहिलो पटक २०७७ भदौमा गर्भवती भइन्। सानु आमा बन्न लागेकोमा खुसी थिइन्। तर रोहन भने बाबु बन्न पाउँदा खुसी देखिएनन्। यतिमात्र होइन सानुलाई गर्भपतन गर्न दबाव दिए। मायाले मात्र होइन धम्कीले पनि सानु गर्भपतन गर्न बाध्य भइन्।

२०७७ फागुन सानु फेरी आमा बन्ने भइन्। यस पटक पनि फेरी उही घटना नै दोहोरियो। रोहन अझै बाबु बन्न तयार भएनन्। तर यस पटक भने सानु आमा बन्ने हठमा थिइन्। यही विषयले दुई बची विवाद उत्पन्न गरायो। विवादपछि रोहन हिंसात्मक रुपमै उत्रिए। रोहनले सानु माथि कुटपिट समेत गरे। अझ भनौँ यो विषयमा कसैको हत्या हुन पुग्यो। भ्रूण हत्या। गर्भमा रहेको बच्चा खेर गयो।

सानु चप थिइन्। के गर्ने? के नगर्ने? कुनै निर्णय लिन सकिनन्। यही अन्योल बिचमा नै उनी फेरी तेस्रो पटक गर्भवती भइन्। यस पटक पनि रोहनको मन बदलिएन। फेरी उही गर्भपतन नै रोज्न लगाए। अन्तिम पल्ट रोहन यही वैशाख २९ गते सानुको डेरामा पुगेका छन्।

सानुको अडान देखेर रोहनले उनलाई मानसिक तनाव दिन थाले। आफ्नो राजनीतिक मान्छेसँग पहुँच रहेको बताउँदै परिवारलाई जेलमा हाल्ने धम्की दिन थाले। प्रहरी संगठनमा कार्यरत रहेका रोहनको धम्कीका अगाडि सानुको केही चलेन। त्यसपछि सानुले केआइसिंह पुलतिरको बाटो पछ्याएकी थिइन्।

+++

तेस्रो पटक भने सानु आफैँले गर्भपन गराउन भनिन्। कोपिला नेपाल संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सल्लाहमा गर्भपतन गरायो। अब भने सानुले आफ्नो न्यायको लागि कानुनी बाटो रोज्ने भइन्।

छोरीको मानसिक स्वास्थ्य अवस्था सामान्य नरहेकाले आफैँ जाहेरी दिन सानुकी आमा जिल्ला प्रहरी कार्यालय कास्की पुगिन्। तर प्रहरीले जाहेरी लिन मानेन। तर सानुको बयान भने प्रहरीले लियो। डेढ घण्टा सानुसँग बयान गरेर प्रहरी फर्कियो। तर लिखित जाहेरी दर्ता भएन।

असार ३० मा मानवअधिकार आयोगको पत्र र विभिन्न अधिकारीवादी सङ्घसंस्थाको दबावले १ हप्तापछि रोहनविरुद्ध करणीसम्बन्धी गम्भीर कसुरमा जाहेरी दर्ता लिन प्रहरी तयार भयो। प्रहरी अहिले पनि यस विषयमा गम्भीर नभएको आमाको गुनासो छ।

‘जाहेरी दिन खोज्दा आलटाल गरे, कार्यालयभित्रका ठुलो ठुलो सरहरुले मिल्न भन्नुहुन्थ्यो जाहेरी लिएपछि नि वास्ता गर्नुहुन्न,’ उनले भनिन्, ‘उ प्रहरीमा भएर होला है? प्रहरीले छानबिन गर्ला र विश्वास छैन न्याय पाइएला भन्ने।’

जाहेरी दिन अगावै आरोपितको परिवारले आफूलाई धम्काएको सानुकी आमाको आरोप छ। ‘उताको परिवारले मलाई फसाईदिन्छु भन्दै धम्काएका छन्, केहीचोटी रोहन राजनीतिमा लाउने मान्छे लिएर नि कोठामा डर देखाउन आएका थिए,’ उनले भनिन्।

सानुको स्वास्थ्यमा अहिले पनि समस्या छ। उनको स्वास्थ्य अवस्थामा समस्या रहेको कोपिला नेपालकी महिला तथा बालबालिका विभाग प्रमुख क्षमता खड्काले जानकारी दिइन्। प्रहरीले यस्तो गहन विषयमा पनि केही एक्सन नलिएको उनको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले रोहन प्रहरीको सम्पर्कमा नआएको जानकारी दिए। प्रहरीका अनुसार रोहनले बिहेका लागि १० दिनको बिदा लिएका छन्। रोहनको १० दिनको बिदा आइतवार सकिँदै छ।

‘हामी गर्दै छौँ, कर्मचारी हो। कहीँ जाँदैन, यहीँ आउँछ,’ हमालले भने। आफूहरू यस विषयमा गम्भीर भएको हमालको भनाइ छ। प्रहरीले जाहेरी लिन नमानेका कुरा पनि गलत रहेको उनले बताए। साथै जाहेरी लिनदिन आरोपित प्रहरी कार्यालयमा रहेका कुरा गलत रहेको उनको भनाइ छ।

‘यो केसलाई तोडमोड गर्न खोजियो, सबै गलत हो हामी सेन्सिटिभ छौँ, जून दिन जाहेरी दिन आउनुभएको थियो त्यहीँ दिन लिएका हौँ,’ हमालले भने, 'उहाँहरूले पीडितलाई उपस्थित गराउन सकिँदैन भनेपछि बुझ्नका लागि कोपिला नेपालमा पनि गएका थियौँ।’

यता सानुको स्वास्थ्य अवस्था भने सामान्य बन्दै छ। शरीरमा लागेका चोट निको भए पनि उनको मनमा रोहनले दिएका मानसिक चोट निको हुन भने कति समय लाग्ने हो, कुन्नि!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell