काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन्।
देउवालाई विश्वासको मत दिने/नदिने भन्नेबारेमा एमालेको माधवकुमार नेपाल-खनाल समूहभित्र विवाद भइरहेका बेला वरिष्ठ नेता झलनाथ खनालले विश्वासक मत दिन सांसदहरुलाई अपील गरेका हुन्। उपचारका क्रममा भारतमा रहेका खनालले विश्वासको मत दिन अपील गरेका हुन्।
उनले आफ्नो मत पनि देउवाकै पक्षमा भएको जानकारी दिएका छन्।
'म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,' खनालले भनेका छन्, 'मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत् प्रष्ट पार्न चाहन्छु।'
खनालले देउवाको सरकार विना बाधा अवरोध २ वर्ष चल्नुपर्ने बताएका छन्। उनले ओली समूहले अदालतको फैसलाको भण्डाफोर अभियान चलाउने भन्दै गरेको निर्णयको विरोध समेत गरेका छन्।
'फैसलाको विरोध गर्ने, भत्सना गर्ने, खिल्ली उडाउने र भण्डाफोरको अभियान चलाउने काम भने कसैले पनि गर्नु कानुन र संविधानसम्मत हुँदैन,' खनालको भनाई छ।
देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शुक्रवार बसेको संसदीय दलको बैठकले देउवाको विपक्षमा उभिने निर्णय गरिसकेको छ।
