PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

माधव नेपालको अडान : म एक्लै भएँ भने पनि देउवालाई मत



पहिलोपोस्ट

माधव नेपालको अडान : म एक्लै भएँ भने पनि देउवालाई मत

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेका छन्।

एमाले विवाद समाधानका लागि सक्रिय नेताहरुले पार्टीको संस्थागत निर्णय मान्न अनुरोध गरे पनि नेपालले अस्वीकार गरेको एमालेका प्रवक्त प्रदीप ज्ञवालीले जानकारी दिए।

आइतवार बिहान वार्तामा सक्रिय नेताहरु नेपाललाई भेटन उनकै निवास कोटेश्वरमा पुगेका थिए। भेटमा नेपालले एक्लै भए पनि देउवाको पक्षमा मत दिने बताएका ज्ञवालीले जानकारी दिए।

'१० बुँदे कार्यान्वयनका लागि निरन्तर प्रयास छ। आफूले एक्लै भए पनि प्रस्तावको पक्षमा मत हाल्ने कुरा गर्नुभयो। उहाँको पक्षमा रहेका साथीहरुले संस्थागत निर्णय गर्न राम्रो हुने कुरा गर्नुभो। तर, पनि उहाँ एउटा निष्कर्षमा पुगिसक्नु भएको हामीले बुझ्यौं,' उनले भने।

नेपाल पक्षका केही नेताहरु भने देउवालाई मत हाल्ने पक्षमा नभएको ज्ञवालीको दाबी छ। च्यासलमा बसेको एमालेको स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले नेपाल पार्टी एकतावद्ध बनाएर जाने विषयमा इच्छुक नभएको आरोप समेत लगाए।

एमालेको शुक्रवार बसेको संसदीय दलको बैठकले देउवाको विपक्षमा उभिने निर्णय गरेकाले देउवालाई मत दिने पक्षमा एमाले नरहेको उनको भनाई थियो।

'जनमतबाट नभएर फरक विधिबाट आएकाले सरकारलाई हाम्रो समर्थन छैन,' उनले भने।

पार्टी एकताका लागि हाल पनि गृहकार्य भइरहेकाले अहिले नै एमाले विभाजित भएको भन्न नमिल्ने ज्ञवालीले बताए।

एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर विपक्षमा मत हाले पार्टीले आवश्यक कार्वाही गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell