- सुभाषचन्द्र देवकोटा -
उसले,
आलिसान बंगलाको
बार्दलीमा उभिएर
पुन: क्रान्तिको घोषणा गर्यो
+++
उसले हात हल्लायो
आँखा चम्कायो
आफ्नै सहकर्मीविरुद्ध
जेहाद छेड्यो
आफ्नो लाज ढाक्न
सानदार बिद्रोहको उद्घोष गर्यो
+++
उसले फेरि एकपटक
सत्ताको मीठो स्वाद सम्झियो
आलिसान कुर्सी सम्झियो
र, आफूलाई महानायक ठानेर
क्रान्तिको सपना बाढ्यो
+++
सत्ताबाट वेदखल हुनुपरेको
बिरहमा तालीको गडगडाहट बिच
टुटेफुटेको क्रान्ति गीत गायो
+++
उसको क्रान्ति घोषणाले,
केही मान्छेहरू खुशीले उफ्रिए
क्रान्ति नायकको सत्तासपना
पूरा गर्ने कसम खाए
+++
यसरी फेरी एउटा
सत्ता सपनाको
पुन: शिलन्यास गरियो
+++
तपाईँ पनि कुनै दिन
त्यता पुग्नु'भो भने
सत्ता सपनाको झोलुङ्गोभित्र
झुली रहेको जिर्ण नायकलाई
भेट्न नभुल्नु होला