PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

विश्वासको मतको पूर्व सन्ध्यामा भीम रावलले दिए सांसदबाट राजीनामा



पहिलोपोस्ट

विश्वासको मतको पूर्व सन्ध्यामा भीम रावलले दिए सांसदबाट राजीनामा
राजीनामा दिन संसद भवनभित्र जाँदै गरेका रावल।

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्। 

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा रहेका उनी सर्वोच्च अदालतमा उनैलाई समर्थन गर्दै हस्ताक्षर गर्ने अभियानमा पनि सक्रिय थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए। 

राजीनामा दिएसँगै उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको उनको भनाई छ।

'राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि मैले अधिकतम प्रयास गरेँ,' रावलले राजीनमा दिन जानुअघि भने, 'उच्च राजनीतिक तहमा देखिएको अराजनीतिक व्यवहार देख्दा देश जनतालाई खेद हुन्छ। अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि मैले प्रतिनिधिसभाबाट राजीनामा दिएको छु।' 

एमाले विवाद समाधानका लागि विघटित कार्यदलमा रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका थिए। नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएको छ।

'अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु,' रावलले राजीनामा पत्रमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell