PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पर्सामा राष्ट्रिय वनको २४९ हेक्टर जग्गा अझै अतिक्रणको चपेटामा



राधेश्याम पटेल

पर्सामा राष्ट्रिय वनको २४९ हेक्टर जग्गा अझै अतिक्रणको चपेटामा

वीरगंज : पर्साको राष्ट्रिय वनमा अहिले पनि करिब २ सय ४९ हेक्टर जग्गामा अतिक्रमण रहेको बताइएको छ। डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँका अनुसार पहिलेदेखि करिब ३ सय ८१ हेक्टर जग्गामा अतिक्रमण रहेकोमा करिब तीन आवमा १३२ हेक्टर अतिक्रमण जग्गा खाली गराई वृक्षारोपण गरिएको तर बाँकी जग्गा अहिले पनि अतिक्रणको चपेटामा छ।

पर्सा जिल्लाको कुल क्षेत्रमध्ये ५६ प्रतिशतमा वन रहेको डिभिजन कार्यलयको तथ्यांक छ। कुल ७७ हजार ५ सय  हेक्टर क्षेत्रफलमा वन रहेकोमा जसमध्ये ६६ हजार हेक्टर वन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। आधाभारदेखि रामभौरीभाठा सम्म उत्तरतर्फ निकुञ्जको क्षेत्र पर्छ भने दक्षिण तर्फ डिभिजन वन कार्यालयको कार्य क्षेत्र पर्छ। जसमध्ये डिभिजन वन कार्यालयको कार्य क्षेत्रमा झण्डै ११ हजार ५ सय हेक्टर जग्गामा भएको वन क्षेत्र पर्छ। त्यसैमध्ये ३८१ हेक्टर वन अतिक्रमणमा थियो।

आव २०७५/०७६ देखि हालसम्म करिब १३२ हेक्टर जग्गा अतिक्रमणमुक्त गरिएको छ। गत आवको अघिल्लो दुई आवमा सबैयामा रहेको २७ हेक्टर जसमा उखु खेती गरिन्थ्यो, त्यसलाई खाली गराइएको छ भने झाबराहामा रहेको २० हेक्टर जग्गा पनि अतिक्रणमुक्त गराई तरबारसहित वृक्षारोपण गरिएको छ। पोहोर, बसन्तपुरमा(गादीमाई साझेदारी अन्तर्गत)मा पनि २५ हेक्टर अतिक्रमण हटाइएको थियो भने गत आवमा मनवामा ६० हेक्टर जग्गाको अतिक्रमण हटाएर वृक्षारोपण गरिएको उनले बताए। वन अतिक्रण रणनीति २०६८ अनुसार जिल्लामा वन अतिक्राण नियन्त्रण गर्न सिडिओको संयोजकत्व कार्यदल हुन्छ, त्यसैले अतिक्रमण हटाउने गर्छ। वन ऐन २०७६ मा वन क्षेत्र भोगचलनको अधारमा दर्ता गराउन मिल्दैन, गराएमा बदर हुन्छ भनी स्पष्ट उल्लेख भए तपानि स्थानीय नेताहरुले सकुम्बासीको नाममा वन क्षेत्र अतिक्रण गराउँछन्। भूमिसम्बन्धी समस्या समाधान आयोगको व्यवस्थमा कानुन बाझिने व्यस्था उल्लेख भएकोले अतिक्रमण हटाउन समस्या हुने गरेको छ। आयोगमा प्रचलित कानुनमा जे जुकै लेखिए पनि अभिलेखमा वन जनिए पनि रुख विरुवा नभएको ठाउँ सुकुम्बासीलाई दिने भनेर उल्लेख भएकोले जो पायो त्यही वनको क्षेत्र कब्जा गरी घर, भवन तथा खेतीपाती गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell