PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

बस्तीका निरीहहरूका आशा : हाम्रो लागि केही गर्छन् कि?



स्वेच्छा राउत

बस्तीका निरीहहरूका आशा : हाम्रो लागि केही गर्छन् कि?

करिव दुई महिना अघि वनस्थली, राष्ट्रिय मिर्गौला उपचार केन्द्र पुग्दा भेटिइन् मीना मल्ल। आफ्नो १५ वर्षीय छोरा गणेशलाई डायलासिस मेसिन छेउको शय्यामा सुताएर निस्किएकी रहेछिन्। त्यसैले उनी हतारमा थिइन्। फटाफट कोठासम्म पुगेर, खाना खाएर फर्कनु थियो। उपचार केन्द्रमा छोराको कुरुवा बस्न।

हाम्रो प्रश्न र जिज्ञासाले रोक्यो उनलाई।

निषेधाज्ञाले मिर्गौला बिरामीको उपचार र नियमित डायलासिसमा पारेको प्रभावबारे बुझ्नु थियो। तर, समस्या, अभाव र पीडाको चाङ कहाँ सीमित थियो र?

मीनाले हामीलाई उनको कोठासम्मै डोहोर्‍याइन्, सुनाउँदै समस्याको श्रृङ्खला। संक्रमण नियन्त्रणका लागि शहर ठप्प पारिएको थियो। दैनिक ज्याला मजदुरी गरेर छोराको डायलासिस खर्च जुटाइरहेका उनका श्रीमान् कामबिहीन भएका रहेछन्। ग्याँस सकिएको थियो। मध्य दिनको चर्को घाममा दैलो बाहिर चुल्हो बाल्न बाध्य थिइन् उनी। कोठा भाडा तिर्न नसक्दा गाली गर्दै आइपुग्ने घरबेटीलाई के भन्ने? सल्लाह गर्दै थिइन्, छिमेकीसँग।

उनीहरू बस्ने घरमा १३ वटा कोठा रहेछ। सबै कोठामा बस्नेहरू मिर्गौला बिरामीको परिवार। सुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका मानिस। सबैको भोगाइ, पीडा र अभावको कथा भने उही। कोरोना संक्रमणका कारण जनशक्ति कम भएको भन्दै ४ घण्टाको डायलासिस अवधि घटाएर साढे दुई घण्टादेखि तीन घण्टा मात्र त पुर्‍याइएको थियो नै। साथै, कोही चामल सकिएर गाँस जुटाउन संघर्ष गरिरहेका थिए। एकछाक भात त नखान सकिएला तर एक डोज औषधिले जीवन नै तलमाथि पर्न सक्थ्यो। त्यसैले, लकडाउनको पर्वाह नगरी ऋण खोज्दै शहरको अर्को कुनामा पुग्नेहरू पनि त्यहीँ थिए।

यस बस्तीमा डायलासिसको आडमा सास फेर्दाफेर्दै धेरैले ज्यान गुमाए। मर्नेको परिवार रित्तिएको मन र गोजी लिएर फर्किए। खाली कोठामा फेरि अर्को बिरामी थपिए जो दुवै मिर्गौला काम नगर्ने भएपछि मिर्गौला उपचार केन्द्र नजिकै ठाउँ खोज्दै आए, जीवनप्रति आशावादी भएर। त्यही तयार भयो एउटा समाचार कथा -

एउटा यस्तो बस्तीको कथा जहाँ मानिसहरू निरीह भएर सोध्दैछन् : हामी लाई नै किन लैजाँदैन कोरोनाले?

कोरोना भाइरस महामारी र निषेधाज्ञाका कारण दैनिक जीवन प्रभावित मिर्गौलाका बिरामीहरूको कथा पढेपछि उनीहरूलाई सहयोग प्राप्त भएको छ। अमेरिका निवासी गीता बस्नेतको पहलमा पच्चिस सय अमेरिकी डलर संकलन भएको हो। समस्यामा रहेका बिरामीहरूका लागि बस्नेतले गो फन्डमार्फत् रकम जम्मा गरिन् जसमा ३८ जना दाताहरूको योगदान रह्यो।

महामारी बिच गम्भीर स्वास्थ्य अवस्था लिएर बाच्न संघर्ष गरिरहेकाहरूको लागि यो पहल गरेको बताउँछिन् गीता।

‘सकेको सद्भाव र प्रेम साटेका हौं। केही साताको औषधि वा कोठा भाडामा उहाँहरूलाई राहत मिल्छ कि भन्ने आशा छ,’ उनले भनिन्।

प्राप्त सहयोगबाट १३ जना किड्नी पीडित लाभान्वित भए। मीना मल्लले भनिन्, ’विपन्न जनताको लागि सरकारले उठाउनुपर्ने जिम्मेवारी विदेशमा पसिना बगाउने दाजुभाइ दिदीबहिनीले गर्नुभएको छ। हामी धन्य छौं।'

उनीहरूको बस्तीमा सबैको परिवारमा एकजना मिर्गौलाका बिरामी छन्। कसैको हप्तामा तीन पटक डायलासिस गर्नुपर्ने, कसैको दुई। डायलासिसको लागि नेपाल सरकारले मेसिन त नि:शुल्क उपलब्ध गराएको छ। तर, डायलासिसका क्रममा आवश्यक औषधी र सामाग्री आफै किन्नुपर्छ।

डायलासिसको विकल्प मिगौला प्रत्यारोपण हो। तर, प्रत्यारोपणको खर्च व्यहोर्न सक्ने सबैले मिर्गौला पाउँदैनन्। मिर्गौला पाउने सबैसँग प्रत्यारोपण खर्च हुँदैन। यस बस्तीमा प्राय सबै छाक टार्न र डायलासिससँगै दिनुपर्ने औषधी जुटाउन हम्मेहम्मे परेकाहरू छन्।

गत वर्ष लकडाउन सुरु भएयता बस्तीका ९ जना मिर्गौलाका बिरामीले ज्यान गुमाए। कसैले डायलासिसको मेसिनमै जोडिएको अवस्थामा अन्तिम सास फेरे। कति अस्पतालबाट बस्तीमा फर्कँदाफर्कँदै। कोही कोठाकै खाटमा निदाएका थिए, उठेनन्। कोही अस्पतालको शय्यामै बिते। बस्तीबाट ठीक भएर फर्कने आशा हुँदैन। जीवरभर डायलासिस गराउन बाध्यहरूको जीवन कति लामो हुन्छ? टुंगो छैन।

मीना प्रश्न गर्छिन्, 'नयाँ सरकार आयो र त बुइनी। उनीहरूले हाम्रो लागि केही गर्छन् कि?’ छोरालाई आफ्नो मिर्गौला दिन योग्य ठहरिएकी उनी रकम अभावकै कारण बाध्यछिन् सरकारको मुख ताक्न। सरकारले मिर्गौला प्रत्यारोपणका लागि केही रकम दिने बताए पनि मेडिकल जाँच र अन्य प्रक्रियामै सरकारको राहत रकमभन्दा बढी खर्चिएको बताइन् उनले। 'अब एउटा किड्नी बेचेर मात्र अर्को छोराको शरीरमा सार्न सम्भव छ। नत्र आफूसँग भएको सबै पैसा सकिम् हाम्ले त,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell