PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जसपा केन्द्रको प्रभाव लुम्बिनी प्रदेश सरकारमा न्यून, ‘संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै हुँदैन’



पूजा पन्थी

जसपा केन्द्रको प्रभाव लुम्बिनी प्रदेश सरकारमा न्यून, ‘संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै हुँदैन’

बुटवल : आइतवार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको दुवै पक्षले विश्वासको मत दिए। उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र महन्त ठाकुर दुवै पक्षले विश्वासको मत दिँदा लुम्बिनी प्रदेशमा रहेका ३ मन्त्रीले अब के गर्लान् भन्ने विषयले चर्चा पाउन थालेको छ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री रहेका छन्। विपक्षी गठबन्धनमै रहेको जसपाबाट मन्त्री बन्दा उनीहरुको आलोचना भइरहेको छ भने विपक्षी गठबन्धनले मुख्यमन्त्रीलाई विश्वासको मत लिन आग्रह गर्दै आएका छन्।

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जसपाका सांसद एवं मन्त्री सन्तोष पाण्डेले संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै नहुने बताउँछन्। उनले प्रदेशमा आईपुग्दा आफू स्वतन्त्र मानेर आउँदा मन्त्री रहेको बताउँदै अहिले दिएको विश्वासको मतको परिणाम प्रदेशमा तत्काल नदेखिने बताए।

उनले जसपाका आ आफ्ना पक्ष रहेकोले सबै एउटै धारमा आएर यसो गर्ने भन्ने निर्णय आएमा मात्रै आफू ३ जना मन्त्री सल्लाह गरेर आगाडि बढ्ने बताउँदै उनले तत्काल सरकारसँगको समर्थनमा कुनै असर नहुने बताए।

‘जसपासँग माग बाहेक केही छैन, हाम्रा मागहरु जसले पूरा गर्‍यो उसैलाई समर्थन गर्ने हो, केन्द्रले यसो गर्ने निर्णय भएको छ, त्यता पनि मिलाउनु भन्ने आग्रह आएपछि मात्रै छलफल गर्छौँ’, उनले भने, ‘यहाँको सरकारले पनि साढे ३ वर्ष सरकार चलाएको छ, अब हामीले चलाउन सक्दैनौँ भनेमा हाम्रा पनि योजना छन, होइन भने ठीकै छ।’

उनले सेफ ल्यान्डिङ तर्फ संकेत गर्दै भने, ‘मुसाले एउटा दुलो तब छाड्छ जब अर्को भेटाउँछ वा खोल्छ।’

उनको यो अभिव्यक्तिले लुम्बिनी प्रदेश सरकारमा फेरबदल भएर विपक्षी गठबन्धनको सरकार बनेमा पनि उनी सरकारमा सहभागी हुने संकेत समेत मिलेको छ।

यता लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पनि जसपाले विश्वासको मत दिँदा लुम्बिनी सरकारमा कुनैपनि प्रभाव नपर्ने बताए। उनले पार्टीको ह्विप नलाग्ने भएकोले धेरैजसोले संसद् जोगाउने बाहनामा मतदान गरेको बताउँदै यसमा लुम्बिनीमा कुनै प्रभाव नपर्ने बताए। उनले उपेन्द्र-बाबुराम पक्ष सत्तापक्षमा बस्ने र महन्त पक्ष प्रतिपक्षमा बसेर सहयोग गर्ने किसिमबाट निर्णय भएकोले लुम्बिनीमा आत्तिनुपर्ने अवस्था नआउने बताए।

लुम्बिनी प्रदेशमा जसपाको विवाद चलिरहेको छ। एमालेले एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाउँदा जसपाबाट ३ मन्त्री र एक राज्यमन्त्री बनेका थिए। जसपाबाट सरकारमा सहभागी भएपछि ४ जनाको सांसद पद समेत खारेज गराइएकोमा अदालतबाट अन्तरीम आदेश ल्याउँदै सांसद पद कायमै रहेको छ। केही पहिले जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझिले पदबाट राजिनामा दिएर सरकारको समथन नरहेको बताइन्।

यता विपक्षी गठबन्धनले भने शंकर पोखरेल अल्पमतमा रहेको र अवैध रहेकोले आफ्नो वैधता कायम गर्न विश्वासको मत लिनुपर्ने अडान राख्दै आएका छन्। बजेट फेल बनाएर नैतिक संकट आउने देखेपछि पोखरेल नेतृत्वको प्रदेश सरकारले संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell