PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बागलुङको गलकोटमा ४ जना मजदुरको शंकास्पद् मृत्यु, 'अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको सुनें'



पूजा पन्थी

बागलुङको गलकोटमा ४ जना मजदुरको शंकास्पद् मृत्यु, 'अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको सुनें'

बुटवल : बागलुङको गलकोटमा कार्यरत चार जना मजदुरको शंकास्पद् मृत्यु भएको छ। गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा चार जना मजदुरको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको हो।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए।

उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए। त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका  २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ। दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताए।

वडा ७ का वडाध्यक्ष टीकाबहादुर थापाले प्रहरीले अनुसन्धान गरेपछिमात्र घटनाबारे विस्तृत जानकारी आउने बताए।

'चार जनाको मृत्यु भएको हो। तर के कारण हो खुल्न सकेको छैन। फुड प्वाइजन भएर मृत्यु भएको सुने। प्रहरी आएर अनुसन्धान गर्दैछ,' वडाध्यक्ष थापाले फोनमार्फत भने, 'बाटोमा लाँदालाँदै मृत्यु भएको कुरा छ। राति लगेको रहेछ। बाटोमा जाँदा के भएको हो कि त्यो पनि अनुसन्धानपछि थाह होला।'

गलकोट नगरपालिकाकी उपमेयर रेनुका काउचाले पनि प्रहरी अनुसन्धानपछि मात्र घटनाबारे थाह हुने बताइन्। 'अनुसन्धानमै छ। घटना के कसरी भएको हो खुल्न सकेको छैन,' पहिलोपोस्टसँग उपमेयर काउचाले भनिन्। प्रहरीले भने घरेलु मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको दाबी गरेको छ।

उपचाररत दुवैको मिर्गौलामा असर गरेको देखिएकाले डायलासिस चलिरहेको डा पोखरेलले जानकारी दिए। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell