काठमाडौं : कोरोना संक्रमण दर घटेको भन्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञा हटाउनेदेखि खुकुलो बनाउने क्रम जारी छ।
देशभर संक्रमण उच्च रहँदा ७५ वटा जिल्लामा निषेधाज्ञा लागू भएको थियो। सरकारले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्ने जिम्मेवारी दिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सम्बन्धि निर्णय गर्दै आएका छन्। अहिले देशभरका ५८ वटा जिल्लामा मात्र निषेधाज्ञा रहेको छ।
खोटाङ र मनाङ जिल्लामा भने दोस्रो लहरको कोरोना संक्रमणको समयमा निषेधाज्ञा भएन। बाँकी जिल्लामा लगाइएको निषेधाज्ञा क्रमश: हटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। काठमाडौं उपत्यकाभित्र भने वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ। पछिल्लो समयमा साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो।
काठमाडौं उपत्यकाभित्र लगायत जारी निषेधाज्ञा भएका जिल्लामा खुकुलो बनाइएको हो। काठमाडौं उपत्यकाभित्र सबै सवारीसाधनलाई चल्न दिइएको छ। बजार व्यवसायहरु खुल्ला छन्।
