पोखरा : गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन्।
आज मंगलवार भएको निर्वाचनमा शाही समिति मार्फत् सर्वसम्मत रुपमा चयन भएका हुन्। शाहीलाई आजै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद इन्द्रधारा विष्टले उम्मेदवार दिएका थिए। १३ सदस्यीय समितिमा ६ जना एमालेका सदस्य छन्। एमालेले सार्वजनिक लेखा समितिमा सभापति पाउने भएपछि विष्टले उम्मेदवारी फिर्ता लिदै शाहीलाई समर्थन गरेका हुन्।
शाहीले आफ्नै पार्टीका पूर्व सांसद कृष्ण थापा निष्काशित भएपछि संसदीय समितिको सभापति बन्ने मौका पाएका हुन्। थापा पार्टीको निर्णय विपरीत रहेको बताउँदै उनलाई पार्टीले निष्काशन गरेको थियो।
प्रदेशमा चार वटा संसदीय समिति छन्। प्रदेश मामिला समितिको सभापतिमा शाही, विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का र अर्थ तथा विकास समितिमा माओवादीका दीपक कोइराला छन्।
