
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा तीन हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
पछिल्ला केही साता संक्रमण ग्राफ ओरालो लाग्दै गर्दा निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमण बढेको हो। पछिल्लो २४ घण्टामा एक १३ हजार १३५ नमुना परीक्षण गर्दा तीन हजार १०८ जना संक्रमित पहिचान भएका छन्। जुन प्रति ४.२२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ८ हजार ८३६ जनाको आरटी-पीसीआर परीक्षणका क्रममा २४.९४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई हजार २०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै चार हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ प्रतिशत अर्थात ९०६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या सात लाख २१ हजार ६१७ पुगेको छ।
यसैबिच पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या नौ हजार ६०७ पुगेको छ। जुन कुल संक्रमितको १.५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ।