PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु



निशा गुरुङ

बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ। 

बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका १ हजार ५४ घरधुरी प्रभावित भएका छन्। प्रदेशका विभिन्न जिल्लाहरुमा २०७७ सालको यही अवधिमा बाढी र पहिरोबाट ३ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। बाढी तथा पहिरोमा परि बेपत्ता हुनेको संख्या २० जना रहेको थियो। गत वर्ष सो अवधिमा प्रदेशका ४३ घरपरिवार बाढीका कारण प्रभावित भएका थिए

गत वर्ष र यस वर्ष एकै अवधिमा बाढी पहिरोका कारण भएको क्षतिलाई समग्र रुपमा तुलना गर्दा यो वर्ष क्षति ९३ प्रतिशतले बढी भएको देखिन्छ। सुरुवाती चरणमै मनसुनगत वर्षको भन्दा सक्रिय भएका कारण यो वर्ष क्षति बढि  भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वाग्मती प्रदेशमा यस वर्ष बाढी पहिरोका कारण ७ वटा जिल्ला बढी प्रभावित भएका छन्। प्रभावित जिल्लाको अग्रस्थानमा सिन्धुपाल्चोक रहेको छ। यो वर्ष सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ५ जनाको मृत्यु भईसकेको छ भने ५ जना घाइते भएका छन्। बाढी पहिरोमा परी २० जना बेपत्ता भएका छन्। यसैगरि असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकका ५५५ घरपरिवार प्रभावित भएका छन्।

बाढी पहिरोका कारण धादिङमा ५ जना तथा चितवन र सिन्धुलीमा ४-४ जनाको मृत्यु भइसकेको छ। यसैगरि काभ्रेमा ३ जना, रामेछाप र मकवानपुरमा २-२ जनाले बाढी पहिरोका कारण ज्यान गुमाइसकेका छन्।

बाढी पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरीहरु राहत तथा उद्धारमा सक्रिय रुपमा संलग्न भइरहेका छन्। बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका भौतिक सम्पत्ती निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

बाढी र पहिरोका कारण अवरुद्ध हुनसक्ने राजमार्गहरूलाई तत्काल संचालन गर्नतर्फ पनि प्रहरीले आफ्नो ध्यान केन्द्रीत गरेको छ। असार महिनाको अवधिमा मात्र वाग्मती प्रदेशका विभिन्न जिल्लाहरूको ८५ स्थानमा पहिरोका कारण अवरुद्ध ७ किलोमिटर भन्दा बढी सडक संचालन भइसकेको प्रहरीले जनाएको छ।

बाढी पहिरोबाट क्षति हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गरी प्रदेश सरकार र विभिन्न स्थानिय तहहरुसँग समन्वय गरी जोखिम न्यूनिकरण तथा पूर्वतयारीको कार्य भैइरहेको बताइएको छ।

वाग्मती प्रदेश प्रहरी कार्यालयको प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बाढी, पहिरोका कारण निम्तिने विपदको प्रतिकार्यका लागि आवश्यक पर्ने उद्दारका सामग्रीहरू खरिद गरि बिभिन्न प्रहरी युनिटहरुलाई वितरण गरिएको छ। वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विपद् व्यवस्थापन गुल्ममा भएको जनशक्तिलाई बाँडफाँड गरि प्रहरी नायव निरीक्षकको कमाण्डमा काभ्रे र नुवाकोटमा २५ हजार ९ सय २५ जनाको टोलि परिचालन गरिएको छ। प्रहरीलाई विपद् उद्धार सम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै आपतकालिन अवस्थामा तुरुन्त प्रहरी परिचालन हुने गरि स्याण्डबाई राखिएको बताइएको छ।

मनसुनको सक्रियतासँगै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बाढी तथा पहिरोका कारण बढी क्षति हुनसक्ने सिन्धुपाल्चोक, चितवन, धादिङ,सिन्धुली, काभ्रे, नुवाकोट, रामेछाप लगायतका जिल्लाहरूलाई केन्द्रविन्दुमा राखी प्रहरी परिचालन गरेको छ।

नेपालमा असार साउन र भदौ महीनालाई मनसुन बढी सक्रिय हुँदै आएको छ। मनसुनको यो अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्ने विज्ञहरुले बताएका छन्। तर यस वर्षको मनसुनमा त्योभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। त्यसैले वर्षायाम लागेसँगै हुने वर्षाका कारण होचा स्थानहरु डुबान हुनसक्ने र भिरालो स्थानमा पहिरोको जोखिम हुने भएकाले सचेत र सुरक्षित रहन सबै नागरिकहरुलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell