
- सञ्चिता घिमिरे-
काठमाडौं : असारदेखि निरन्तर वर्षाका कारण हाल १३ संघीय सडक अवरुद्ध बनेका छन्। असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
दैलेखमा कर्णाली राजमार्गका जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा सडक आज अवरुद्ध बनेको छ। रसुवाको ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक असार २७ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन।
सो सडकको त्रिशूली खोला, सानो भार्खु खोला, गाँजाबारीमा अवरुद्ध छ। यस सडकखण्ड तत्काल मर्मत गर्नुभन्दा पनि वैकल्पिक सडक बनाइएको छ। यस खण्डमा वर्षातको समयमा धेरै ठाउँमा पहिरो खस्ने र निर्माण गरे पनि अवरुद्ध हुने भएकाले वैकल्पिक सडक खुलाइएको हो।
डुम्रे-बेँसीशहर-चामे सडकअन्तर्गत लमजुङको रामबजार, अर्गले, च्याम्चेलगायतका स्थानमा सडक अवरुद्ध छ। अरनिको राजमार्गको लिपिङ पुल अवरुद्ध छ। डुम्रे-बेँसीशहर-चामे सडकअन्तर्गत तनहुँ जिल्लाको भन्सारमा गत महिना १७ गतेबाट अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन। सोही सडकको तिमाङ छहरा सडक अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन।
संघीय सडकअन्तर्गतका विभिन्न सडक असारदेखि अवरुद्ध भएकामा दुवैतर्फ सञ्चालन हुन नसकेका स्थानमा विभागले एकातर्फ मात्रै खुलाएर सवारी सञ्चालन गरिएको छ।
तत्काल पूरै सडक खुलाउन नसकिने स्थानमा पनि एकातर्फको पहिरो पन्छाएर पैदलयात्रु र सवारी साधन चल्न सक्ने बनाइएको विभागले जनाएको छ। सडकमा पहिरो खसेपछि खुलाइएको भए पनि सडक वा पुल नै बगाएका स्थानमा बढी समय लागेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा, साँफेबगर-मार्तडी-कोल्टी सडक बल्दे-अमकोट खण्डमा सडक अहिले एकातर्फबाट मात्रै सञ्चालनमा छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाङ्गेसिमल, कालाखाला सैनसडकखण्ड, दरबाटे, बोटखाला सडकखण्ड पनि एकातर्फबाट मात्रै सञ्चालनमा छ।
खोड्पे-चैनपुर सडक बैतडीको ढोल्यामोड र बझाङको तमैल कचाली र हडडे खोला, रिला, वलेनामा आंशिक रुपमा मात्रै सञ्चालनमा आएको छ। कालीकोटमा बालीघाट, धनाडा र भिग्ममा सडक एकातर्फबाट मात्रै सञ्चालनमा ल्याउन सकिएको छ।
विभागअन्तर्गतका डिभिजन सडक कार्यालय र हेभि इक्युपमेन्ट कार्यालयले अवरुद्ध सडक खुलाइरहेका छन्। ती कार्यालयले आफूसँग भएका उपकरण र आवश्यक भएमा अरु कार्यालयबाट थप उपकरण माग गरेर अवरुद्ध खुलाइरहेका हुन्। चालु आवमा बढी वर्षा भइरहेकाले धेरै सडक अवरुद्ध छन्।
असारको पहिलो सातामा नै भारी वर्षा भएकाले अहिलेसम्म धेरै क्षति भएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए। उनका अनुसार चालु आवमा गत आवभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। त्यहाँ कति रकम बराबरको क्षति भएको छ भनी यकिन भने छैन।
उनले भने, ‘प्राविधिक गएर हेरेपछि मात्रै वास्तविक क्षति थाहा हुनेछ।’