PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माधव नेपाल खेमाका २२ नेताको माग : केपी ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै एकता



प्रकाश भण्डारी

माधव नेपाल खेमाका २२ नेताको माग : केपी ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै एकता

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा रहेका २२ जना सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। अर्याल होटलमा बसेको सांसदहरुको भेलाले अध्यक्ष ओलीले पदबाट राजीनामा दिए मात्रै पार्टी एकता सम्भव हुने निचोड निकालेको हो।

बैठकले अझ आफ्नो समूहभित्रको छलफललाई तीव्रता दिने पनि निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ जना सांसदहरु मात्रै भेलामा सहभागी भएका थिए। ओली बिनाको एमाले बनाउने या नयाँ पार्टी नै बनाएर जाने भन्नेबारेमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए।

ओलीले अध्यक्षबाट राजीनामा दिए मात्रै एकता

सांसदहरुको भेलाले ओलीले आवेगका आधारमा बदला लिन बन्द गर्न पनि माग गरेको छ। भेलापछि सांसद तथा नेपाल पक्षमा रहेकी नेतृ रामकुमारी झाँक्रीले ओलीलाई राजीनामा दिन सुझाव दिएको बताइन्।

‘मार्ग प्रशस्त गर्नुस्। अब आवेग कुण्ठा होइन। तपाइले पार्टी एकता गर्न चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोडनुस्। हामी नयाँ ढंगले अगाडि पनि बढन सक्छौँ,’ उनले भनिन्।

भेलामा पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल भएको थियो। झाँक्रिका अनुसार भेलाले ओली समूहले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई ओलीले कारवाही गरे राजनीतिक र कानुनी लडाइँ लड्ने पनि चेतावनी दिएको छ।

झाँक्रिले कारवाही हुने/नहुनेबारे सर्वोच्चकै फैसलमा भएको बताइन्। उनले ओलीले फैसला अनुसार कारवाही गर्न नसक्ने दाबी गर्दै फैसलाका आधारमा कारवाहीका लागि ओली समूहमा अलमल भएकाले आफूहरुलाई पत्र नआएको बताइन्।

‘हामीलाई कारवाही हुने/नहुने सर्वोच्च अदालतकै फैसलामा छ। राजनीतिक रुपमा प्रतिवाद हुन्छ। कहि लिगलै स्पष्टीकरण दिनुपरे त्यो पनि दिन्छौँ,’ उनले भनिन्।

यस्तै, ओली अझै नसुध्रिएको भन्दै आजको बैठकमा छलफल भएको थियो। उक्त बैठकले नेपाल समूह अझ मजबुत भएको निष्कर्ष पनि निकालेको छ।

‘ओली पक्षका ७ सांसद हाम्रो पक्षमा आउँदै छन्’

सांसद विरोध खतिवडाले आफ्नो समूह अझ मजबुत भएको बताए। भने, ‘हामी अझ मजवुत भएर पार्टी संगठनमा हामी बलियो उपस्थिति जनाउने त्यही अनुसार देशब्यापी रुपमा संगठन बनाउने भन्ने विषयमा छलफल भयो।’

उनले ओली पक्षका ८ जनाले देउवालाई विश्वासको मत दिएर आफ्नो समूहमा आइसकेको बताए। खतिवडाले फेरी ७ जना सांसद पनि आफ्नो समूहमा आउनका लागि सम्पर्कमा रहेको दाबी गरेका छन्।

‘मतदान गरेको मान्छे देखिहाल्नु भयो। अब ६/७ जना हाम्रो सम्पर्कमा हुनुहुन्छ। अब त्यो १४ भनेको २० हुन्छ २५ हुन्छ यो बढ्दै जान्छ,’ उनले भने।

नेपाल समूहले प्रतिनिधि सभामा पार्टीको निर्देशन विपरित प्रतिनिधि सभा पूरा कार्यकाल सञ्चालनका लागि आफ्नो समूहले गरेको निर्णयले आफ्नो समूह थप मजवुत भएको पनि निचोड निकालेको छ। आफूले उठाएका मुद्दा अदालत र जनमानसमा स्थापित भएको नेपाल पक्षको बुझाइ छ।

अलग पार्टी र सरकारमा सहभागिताबारे कानुनी परामर्श

यस्तै, नेपाल पक्षका सांसद मेटमणी चौधरीले नयाँ पार्टी बनाउनेबारेमा पनि आजको भेलामा छलफल भएको जानकारी दिए। उनले नयाँ पार्टीका लागि कानुनी परामर्श भइरहेको बताएका छन्।

‘सकभर हामी एमालेमै छलफल गर्छौँ। धेरै साथीहरुको धारणा के आयो भने केपी ओली जस्ता शासकहरुका कारण सग्लो एमाले राख्न सकिदैन। अब यदि कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सम्मको छलफल भएको छ,’ उनले भने।

यस्तै, भेलामा ओलीलाई केन्द्रीय कमिटी र संसदीय दलको नेताबाट हटाउन सकिने विषयमा पनि छलफल भएको थियो। एमालेको २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी र संसदीय दलमा आफ्नो पक्षको बहुमत भएकाले हटाउने सकिने पनि सांसदहरुले धारणा राखेका थिए।

‘साथ साथमा के देखिन्छ भने एमालेको पहिलेको केन्द्रीय कमिटीभित्र पनि हाम्रो बहुमत पुग्ने। त्यसबेला केपी ओलीलाई पार्टीको अध्यक्षबाट हटाउन सक्ने र संसदीय दलमा पनि सजिलै बहुमत पुग्नसक्ने भएको कारणले संसदीय दलको नेताबाट पनि हटाउने,’ चौधरीले भने।

उनले ओली बिनाको एमाले निर्माण गरेर जानेविषयमा छलफल भएको बताए।

‘केपी ओली बाहेकको नेकपा एमाले निर्माण गरेर जाने पर्छ कि भन्ने सुझाव आएको छ,’ उनले भने।

सरकारमा सहभागिताका लागि पनि नेपाल समूहले कानुनी परामर्श गरिरहेको छ। नेपाल पक्षले सांसदहरुको पद नजानेस्थितिमा मात्रै सरकारमा जानुपर्ने निष्कर्श निकालेको चौधरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell