PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास



मुकुन्द घिमिरे

यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास

इन्टरनेशनल ओलम्पिक कमिटीको प्रचारलाई मान्ने हो भने यसपालिको टोकियो ओलम्पिक लैङ्गिक समानताको 'ल्याण्डमार्क' नै हो र इतिहासकै 'सबैभन्दा लौंगिक सन्तुलित' ओलम्पिक हो।

वास्तवमा ओलम्पिकको इतिहासलाई लैङ्गिक समानताका हिसाबले हेर्ने हो भने खास राम्रो ट्र्याक रेकर्ड भेटिँदैन। १९ औं शताब्दीको अन्त्यमा आधुनिक ओलम्पिक सुरु हुँदै गर्दा महिलाहरु सीमान्तकृत हुन पुगेको बहसहरु चलेका थिए। इन्टरनेशनल ओलम्पिक कमिटीका संस्थापक मध्येका चार्स पिअरे डे कौबर्टिनले ओलम्पिकमा महिलाको सहभागितालाई लिएर भनेका थिए - यो अव्यवाहारिक, अरुचीकर, नसुहाउने, गलत कुरा हो। र, अहिले टोकियो ओलम्पिकसम्म आइपुग्दा आधा सहभागी महिला छन्।

अर्को हप्ताबाट टोकियोमा ओलम्पिक सुरु हुँदैछ। जसमा ४८.८ प्रतिशत प्रतिस्पर्धीहरु महिला हुनेछन्। जुन ओलम्पिकको इतिहासमै सबैभन्दा धेरै हुनेछ। अघिल्लो साल अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा टोकियो ओलम्पिक पहिलो 'जेन्डर ब्यालेन्स्ड' ओलम्पिक हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दावी गरेको थियो।

यसअघि २०१६ को रियो ओलम्पिकमा ४५ प्रतिशत महिलाको सहभागिता रहँदा २०१२ को लण्डन ओलम्पिकमा ४२.२ प्रतिशत महिलाहरुको सहभागिता रहेको थियो।

इतिहासको कुरा गर्ने हो भने सन् १८९६ मा पहिलो आधुनिक ओलम्पिक हुँदा महिलाहरुलाई प्रतिबन्ध लगाइएको थियो। यद्यपि, केही रिपोर्टले भने म्याराथनमा महिलाको सहभागिता रहेको दाबी गरेका छन्।

सन् १९०० को ओलम्पिकमा महिलाहरुको सहभागिता त थियो यद्यपि त्यसमा ९९७ जना खेलाडी सहभागी भएकोमा महिलाको संख्या २२ मात्र थियो।

१२१ वर्षपछि भने यसमा धेरै परिवर्तन आएको छ। यस ओलम्पिकमा ३०० वटा इभेन्ट र एथ्लेटिक्स, स्वीमिङ, टेबलटेनिस, ट्रायथोलन लगायतको खेलमा 'मिक्स जेन्डर' अर्थात् सामुहिक रुपमा खेल्नेछन्।

सबै देशहरुबाट एकजना महिला र एक जना पुरुष खेलाडी अनिवार्य गरिएको छ भने ओपनिङ सेरेमोनीमा पनि एकजना महिला र एकजना पुरुष खेलाडीले झण्डा बोक्नुपर्ने बताइएको छ।

ओलम्पिकमा लैङ्गिक समानताको कुरा चलिरहँदा ओलम्पिकका शक्तिशाली पाँच राष्ट्रहरुले पुरुषभन्दा महिलाको संख्या बढी राखेर खेलाडी पठाएका छन्।

बेलायत, संयुक्त राज्य अमेरिका, चीन, अस्ट्रेलिया र क्यानडा यसमा अघि देखिएका छन्। त्यस्तै, ओलम्पिकको अर्को शक्ति राष्ट्र रसिया वर्ल्ड एन्टी डोपिङ एजेन्सीको प्रतिबन्धका कारण रसिया ओलम्पिक कमिटी (आरओसी) को नामबाट प्रतिस्पर्धा गर्नेछ।

चीनबाट ४३१ खेलाडीको सहभागिता रहनेमा २९८ महिला र १३३ पुरुष रहेका छन्। त्यस्तै, ब्रिटेनबाट ३७६ जना खेलाडीले सहभागिता जनाउनेमा २०१ जना महिला छन्।

क्यानडाबाट कुल ३७० जनाले सहभागिता जनाउनेमा २२५ महिला र १४५ पुरुष रहेका छन्। अस्ट्रेलियाबाट पनि त्यही अनुपातमा सहभागिता रहेको देखिन्छ। कूल ४७१ जनाको सहभागिता २५२ जना महिला र २१९ जना पुरुष रहेका छन्।

त्यस्तै, रसियन ओलम्पिक कमिटीको ब्यानरमा खेल्ने ३२९ जना खेलाडी १८३ जना महिला र १४६ जना पुरुष खेलाडी रहेका छन्।

नेपालबाट के छ अवस्था?

नेपालबाट ओलम्पिकमा सहभागी हुन जाने खेलाडीमा पनि महिलाको बोलवाला छ। नेपालबाट पाँच खेलाडी सहभागी हुनेमा चारजना महिला छन्।

ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघिको ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता

यसअघि ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा नेपालका तर्फबाट सात जना खेलाडीले सहभागिता जनाएका थिए। जसमा चार जना महिला र तीन जना पुरुष खेलाडीको सहभागिता थियो। पूरुषतर्फ पौडीका शिरिष गुरुङ, एथ्लेटिक्सका हरिकुमार रिमाल र आर्चरीका जितबहादुर मोक्तान थिए भने महिलातर्फबाट पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी सरस्वती भट्टराई, जुडोकी फुपुल्हामु खत्री र तेक्वान्दोकी निशा रावल थिए।

सन् २०१२ को लण्डन ओलम्पिकमा पनि महिलाहरुकै सहभागिता बढी थियो। पाँच खेलाडीले सहभागिता जनाउने भएकोमा पौडीका पुरुष खेलाडीबाट प्रसिद्ध जंग शाह र एथ्लेटिक्सका तिलकराम थारुको सहभागिता थियो। त्यस्तै महिलातर्फबाट पौडीकी श्रेया धिताल, एथ्लेटिक्सकी प्रमिला धिताल र शुटिङकी स्नेहा राज्यलक्ष्मी राणाको सहभागिता थियो।

त्यसअघिको ओलम्पिक अर्थात २००८ को ओलम्पिकमा भने ८ खेलाडीले सहभागिता जनाएकोमा ४ जना महिला खेलाडी र ४ जना पुरुष खेलाडी थिए। योभन्दा अझ इतिहासमा गएर हेर्ने हो भने नेपालले पहिलो औपचारिक सहभागिता सन् १९६४ को टोकियो ओलम्पिकमा जनाएको थियो। जसमा ६ जना खेलाडीले सहभागिता जनाएकोमा सबै पुरुष खलाडी थिए। त्यसपछिका १९८८ अघिका अन्य ओलम्पिकहरुमा पुरुष खेलाडीमात्र सहभागी हुँदै आए। सियोल ओलम्पिकबाट सुरु भएको नेपाली महिला खेलाडीको यात्रा अहिले आइपुग्दा सहभागिता बढी देखिन्छ पछिल्ला ओलम्पिकका संस्करणहरुमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell