PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओली - नेपालको जोड पार्टी मिलाउनभन्दा फुटाउनतिर, तैपनि भइरहेको छ बहस एक अर्काबिनाको एमालेको



प्रकाश भण्डारी

ओली - नेपालको जोड पार्टी मिलाउनभन्दा फुटाउनतिर, तैपनि भइरहेको छ बहस एक अर्काबिनाको एमालेको

काठमाडौं : नेकपा (एमाले)का नेताहरुले सहमतिका लागि गरेको दौडधुप व्यर्थ भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि वार्मअपमा लागेपछि १० बुँदे सहमति औचित्यहीन हुने भएको हो। ओली नेपाललाई मिलाउन गरिएको सहमतिमा उनीहरु नै अनइच्छुक भएपछि विवाद समाधानका लागि गठन गरेको कार्यदलले तयार पारेको १० बुँदे अलपत्र परेको हो। यद्यपि, ओलीले बोलाएको केन्द्रीय कमिटीको साउन ४ गतेको केन्द्रीय कमिटी बैठकले सहमतिलाई अनुमोदन गरेको थियो। जसप्रति नेपालले लगातार विमती जनाइरहेका छन्।

एमाले फुटाउन होमवर्क

ओली समूहको साउन ४ गते देखिको केन्द्रीय कमिटीको बैठकमा नेपाल समूह विभाजन भए के कति असर पर्छ भन्ने विषयमा छलफल भइरहेको छ। प्रदेश अध्यक्षहरुले मंगलवारको बैठकमा नेपाल विभाजन हुँदा पार्टीलाई पर्ने असरका बारेमा ब्रिफिङ गरेका थिए। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेको एक पक्ष विभाजित हुँदा पार्टी सँगठनमा पर्ने प्रभावबारे छलफल भएको बताए। 'कुनै एक पक्ष पार्टी छोडेर जाँदा त्यसको के-कस्तो असर हुन्छ भनेर प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गर्नुभएको छ,' उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै २२ सांसदलाई स्पष्टीकरण सोध्ने सोमवारै निर्णय भएको थियो। तर, मंगलवारको बैठकपछि पनि पत्र भने पठाइएको छैन। देउवालाई प्रधानमन्त्रीका लागि अदालतले दिएको परमादेशमा पार्टीको ह्वीप नलाग्ने उल्लेख भएपछि कारवाहीका लागि अन्यौल भएको छ। सोमवारकै बैठकमा ओली निकट नेताहरुले पार्टीको निर्देशन नमान्नेलाई तत्काल पार्टीबाट हटाउन माग गरे पनि ओली आफैँले प्रक्रियामा जानुपर्ने बताएका थिए।

यस्तै, नेपाल समूहले ओलीले बोलाएका पछिल्ला सबै कमिटीका बैठक बहिष्कार गरेको छ। ओली एकताका लागि इमान्दार नदेखिएको भन्दै नेपाल पक्षले १० बुँदे नै षडयन्त्रपूर्वक भएको बताइरहेको छ।

ओली - नेपाल बिनाको एमाले!

एमालेभित्र हाल एक अर्को बिनाको पार्टी निर्माणको लागि बहस हुन थालेको छ। १५ वर्षभन्दा लामो समयसम्म पार्टी चलाएका नेपाल र १० औं महाधिवेशनबाट अध्यक्ष बनेका नेपाल एक अर्का बिनाको एमालेको लागि जोड गरिरहेका छन्। नेपालले संसदीय दल र केन्द्रीय कमिटीमा आफ्नो ४० प्रतिशत पुग्ने दाबी गर्दै ओलीलाई संसदीय दलको नेता र अध्यक्षबाट हटाएमात्रै एमालेमा फर्कन सकिने मत अघि सारेका छन्। नेपाल निकट सांसद मेटमणि चौधरीले मंगलवारको सांसदहरुसँगको छलफलमा ओलीलाई दुबै पदबाट हटाउनेबारे छलफल भएको बताए।

'एमालेको पहिलेको केन्द्रीय कमिटीभित्र पनि हाम्रो बहुमत पुग्ने। त्यसो भएको हुनाले केपी ओलीलाई पार्टीको अध्यक्षबाट हटाउन सक्ने र संसदीय दलमा पनि सजिलै बहुमत पुग्ने भएको कारणले संसदीय दलको नेताबाट पनि हटाउने बारेमा पनि छलफल भएको छ,’ चौधरीले भने। उनले ओली बिनाको एमाले निर्माण गर्नेबारे सुझाव आएको बताए। सांसद रामकुमारी झाँक्रीले पनि ओलीले अध्यक्षबाट राजिनामा गरेमात्र एकता हुने बताइन। ‘आवेग कुण्ठा होइन। तपाइले पार्टी एकता गर्न चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोड्नुस्। हामी नयाँ ढंगले अगाडि पनि बढन सक्छौँ,’ उनले भनिन्।

नेपाल समूहले ओली बिनाको एमाले बनाउनेबारे बहस अघि सार्दा ओली पक्ष पनि नेपाल बिनाको एमालेको पक्षमा छ। ओलीले आफ्नो पक्षका नेताहरुलाई कार्यदलको सहमति अघि नै नेपाल बाहेकका नेतालाई मात्र पार्टीमा फर्काउन निर्देशन दिएका थिए। ओलीले असार ३१ गते बालुवाटार छाडेर बालकोट पुग्दा नेपाललाई 'गद्दार' घोषणा गर्दै उनलाई एमालेमा ठाँउ नभएको बताएका थिए। तर नेपाल समूहका अरु नेतालाई भने आत्मालोचनाका लागि अवसर दिने उनको भनाइ थियो। कार्यदलमा रहेका ओली समूहका नेताहरुले समेत अब नेपाल एमालेमा फर्कने सम्भावना नभएको बताइरहेका छन्। विगठित कार्यदलका सदस्य ज्ञवालीले नेपाल अब पार्टीमा नफर्कने निष्कर्षमा पुगेको बताएका छन्। 'उहाँ अब एउटा निष्कर्षमा पुगिसक्नु भएको छ। १० बुँदे सहमति मान्न सकिन्न भन्नुभयो,' देउवालाई नेपालले विश्वासको मत दिनु अघि ज्ञवालीले नेपालसँगको भेटबारे भनेका थिए।

नयाँ पार्टी गठनका लागि पहल

नेपाल समूहले सरकारमा सहभागिता र नयाँ पार्टी गठनबारेको छलफललाई तिब्रता दिएको छ। सांसदको पद नजाने स्थितिमा सरकारमा जान सकिने भन्दै कानुनी परामर्श लिने काम भइरहेको नेपाल समूहका सांसद चौधरीले बताए। सत्तारुढ गठबन्धनका नेताहरुसँग पनि नेता नेपालले सरकारमा जानु कानुनी जटिलता भएको बताइरहेका छन्। मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि नेपालले साझा कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्ने बताएका थिए। नेपालले तत्काल सरकारमा सहभागिताका लागि भने अप्ठेरो भएको जवाफ दिएका थिए।

यस्तै, एमाले विवाद समाधानका लागि वार्ता टोली गठनअघि नै नेपालले नयाँ पार्टीको तयारी भइरहेको बताएका थिए। यद्दयपि नेपाल समूहका नेताले आफूहरुको त्यो अन्तिम विकल्प भएको दाबी गरिरहेका छन्। नेपाल पक्षले अफ्नो समूह पछिल्लो राजनीतिक घटनाक्रमले झनै बलियो भएको र ओली समूह थप कमजोर हुने भएकाले नयाँ पार्टी बनाउनुपर्ने बताइरहेका छन्। नेपाल पक्षका नेता विरोध खतिडाले ओली समूहका थप सांसद पनि अफ्नो समूहमा आउने बताए। यसअघि ओली समूहका ८ जना सांसदले नेपालसमूह प्रवेश गरेका थिए। '८ जना त देखिहाल्नु भयो अब ६/७ जना पनि आउने पक्षमा हुनुहुन्छ,' उनले भने।

सहमतिका लागि लामो समयसम्म पहल भइरहेको भए पनि हाल भने एमालेका दुबै समूह अब मिल्न नसकिने निष्कर्षमा पुगेका छन्। यद्यपि पार्टी विभाजनको दोषबाट जोगिन भने दुबैतिरका नेतारुले अन्तिमसम्म पनि एकताको प्रयास गर्ने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell