PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?



पहिलोपोस्ट

देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा प्रधानमन्त्री बनेपछि महन्थ-राजेन्द्र महतो कमजोर बन्न पुगेका थिए। उनीहरुलाई साथ दिएका सांसदहरुले छाड्ने संकेतसँगै ‌ओलीको साथ छाडेर ठाकुर-महतो देउवातिर लागेको हो।

हिजोमात्रै जनता समाजवादी पार्टीको बैठकले केपी शर्मा ओलीको सरकारले आफ्ना माग केही हदसम्म सम्बोधन गरेको भन्दै धन्यवाद ज्ञापन गरेको थियो। साथै ती मागहरु पूरा गर्नका लागि शेरबहादुर देउवा नेतृत्वसँग आग्रह गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट आज महन्थ बालुवाटार पुगेका हुन्।

निर्वाचन आयोगमा विचाराधीन रहेका कारण उपेन्द्र यादव समूह सरकारमा सामेल भइसकेको छैन। देउवाको पक्षमा सुरुदेखि नै सक्रिय रहेको यो समूह सरकारमा नजाँदै महन्थको बालुवाटार दौडधुपलाई महत्वका साथ हेरिएको छ। महन्थलाई पनि आफ्ना सांसद जोगाउन देउवालाई गुहार्नुपर्ने अवस्था आएको छ। त्यसैले, संविधान संशोधन, नागरिकता विधेयक, जेलमा रहेका नेता कार्यकर्ताको रिहाईको मागसँगै सरकारमा सहभागिता जनाउनसक्ने सम्भावना समेत देखिएकाले महन्थ ठाकुरको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

यसअघि ओलीको सरकारमा ११ मन्त्री सहित ठाकुर-महतोको सहभागिता भए पनि त्यो दुई साता पनि टिक्न सकेन। सर्वोच्च अदालतले मन्त्रिपरिषद फेरबदललाई गैर संवैधानिक भन्दै उनीहरुको पद खारेज गरिदिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell